सूचनाको शक्ति - The Power Of Information

        

‘बा’ को अघिल्तिर किन यसरी घोप्टिन्छन् कमरेडहरु ?

अरुलाई सामान्य ढंगले नमस्कार गर्ने एमाले नेता तथा कार्यकर्ताहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीको सामुन्ने पुगेपछि ‘बा’ भन्दै अघिल्तिर धनुष्टँकार बन्ने गरेका छन् ।

यस्तो प्रवृत्ति प्रदेश नम्बर १ लाई केपी ओली प्रदेश नामाकरण गर्नुपर्ने माग राखेका रामप्रसाद रिजालले हालै देखाएका हुन् ।

रिजालले हालै १ नम्बर प्रदेशको नाम केपी ओली प्रदेश राख्नुपर्ने बताएका थिए । उनले केपी ओलीलाई राजनेता भन्दै सम्मानमा गृह प्रदेशलाई केपी ओली प्रदेश राख्नुपर्ने बताएका हुन् ।

उनले भनेका थिए, ‘ओलीजस्तो दूरदर्शी नेता,राष्ट्र र राष्ट्रियताको निम्ति कुनै पनि मुलुकसँग नझुकी कडा रुपमा बोल्न सक्ने आँट, हिम्मत भएका विकासवादी जनप्रिय नेता नेपालमा आजसम्म जन्मेकै छैनन् ।’

तर स्वयम् ओलीले भने प्रदेश १ को नाम कोशी राख्नुपर्ने बताएका छन् । अघिल्लो महिना गृहजिल्ला झापामा प्रेस चौतारीको कार्यक्रममा उहाँले प्रदेशको नाम कोशी राख्नुपर्ने बताएका हुन् ।

उनै रिजाल अध्यक्ष ओलीसँग बालकोटमा भेट गर्दा कति झुकेका थिए भन्ने दृष्टान्त एउटा तस्बिरमा देखिन्छ । कम्युनिष्ट नेतासँग कम्युनिष्ट कार्यकर्ताले भेट गर्दाको उक्त क्षण राजा महाराजाको अगाडि लम्पसार परेझैँ देखिन्छ ।

अर्कोतर्फ उक्त दृश्य कुनै साधुसन्तले कसैको जीवनको भविष्यवाणी गरेपछि नतमस्तक भएर लिप्त भएको अवस्थाभन्दा फरक देखिँदैन । (जन आस्थाबाट)

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतवार ०९:५५