सूचनाको शक्ति - The Power Of Information

        

महाकालीमा भारतको बलमिच्याइँ, नदी मिचेर पक्की तटबन्ध

भारतले दार्चुलाको महाकाली नगरपालिका–४ स्थित महाकालीपारि एकलौटी रूपमा नदीको धार परिवर्तन गर्ने गरेर धमाधम तटबन्ध निर्माणको काम गरिरहेको छ । नेपालतर्फ बाढी पस्ने गरेर निर्माण भइरहेको तटबन्ध रोक्न यहाँका स्थानीयले माग गरेका छन् ।

भारतीय पक्षले सीमामा बलमिच्याइँ गर्न थालेपछि शनिबार दार्चुलामा स्थानीयले सदरमुकाम खलङ्गास्थित आफ्नो भूमिबाट ढुङ्गा प्रहार गर्दै विरोध जनाएका हुन् । यसअघि स्थानीयले तटबन्ध रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराइएको थियो ।

तटबन्ध निर्माणका विषयमा भारतीय पक्षले समन्वय नै नगरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । नेपालतर्फ महाकालीको धार फर्किने गरेर तटबन्ध निर्माण कार्य नरोकिएकाले आफूहरू आन्दोलनमा उत्रिएको स्थानीयले बताएका छन् ।

भारतले नेपाली क्षेत्रबाट निर्माण सामग्री लगेर तटबन्ध निर्माण गरिरहँदासमेत राजनीतिक दल, स्थानीय प्रशासन र सरकार मौन बस्नु राष्ट्रघाती काम भएको स्थानीय कृष्ण धामीले बताए । अन्तर्राष्ट्रिय सीमा नदी मिचेर पक्की तटबन्ध बनाइरहेको भारतीय पक्षले करिब सय मिटर क्षेत्रमा साँघुरिएर महाकाली बग्ने गरी पानीकै धार फर्काएको हो ।

भारतीय तटबन्ध र नदीको बदलिएको धारका कारण वर्षामा बाढीले नेपालपट्टि क्षति गराउने जोखिम उच्च बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरिरहेका छन् । निर्माण कार्य तीव्र नेपाली पक्षको विरोधका बाबजुत पनि भारतले दार्चुलास्थित सीमा नदी महाकालीमा एकतर्फी ढङ्गले तटबन्ध निर्माणलाई तीव्रता दिएको छ ।

नेपाली पक्षले काम रोक्न अनुरोध गर्नुका साथै बलमिच्याइँ गरेपछि ढुङ्गा हानिरहेका छन् तर भारतीय पक्षले काम रोकेको छैन । गत साता तटबन्धको निरीक्षणमा आएका पिथौरागढका प्रमुख जिल्ला अधिकारी डा.आशिष चौहानले काममा ढिलाइ भएको र कर्मचारीले लापरबाही गरेको भन्दै एक जना प्राविधिकको तलब रोक्का र प्रमुखलाई चेतावनी दिएको बताइएको छ ।

पिथौरागढ जिल्लाधिकारी चौहानले निर्माण कार्य सुस्त भएको र मनसुन सुरु हुनुभन्दा अगावै काम सक्न निर्देशन दिएको प्रत्यक्षदर्शीले बताएका छन् । महाकालीको बहाव नेपालतर्फ फर्काउँदै भारतले तटबन्ध निर्माण गरिरहेको छ । सीमा नदीमा कुनै पनि संरचना निर्माण गर्नुभन्दा अघि दुवै देशका बीचमा सहमति हुनुपर्ने अन्तर्राष्ट्रिय प्रावधान छ ।

तर भारतले बल मिच्याइँका साथ नेपाललाई प्रभाव पर्ने ढङ्गले काम गरिरहेको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भारतीय समकक्षीसँग पटक पटक तटबन्ध निर्माणका बारेमा कुरा उठाउँदा पनि भारतले अटेरी गरेर समन्वयसमेत नगरेको प्रशासन स्रोतले जनाएको छ । भारतले ‘रेनफोर्स सिमेन्ट कङ्क्रिट तटबन्ध’ नाम दिएर कामलाई तीव्रता दिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतवार ०९:१६