सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा किन आयो अमेरिकी एयर फोर्सको जहाज ?

अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर करिब तीन घण्टापछि फर्किएको छ । एमसीसी संसदबाट अनुमोदन भएर पनि अझै विवादित रहेकै बेला अमेरिकी एयर फोर्सको जहाज आएपछि सामाजिक सञ्जालमा तरङ्ग फैलिएको छ ।

उक्त जहाज काठमाडौं विमानस्थलमा अवतरण भएपछि सामाजिक सञ्जालमा विभिन्न चर्चाहरु भइरहेका छन् । विभिन्न फोटो तथा भिडियो राखेर अमेरिकी जहाज किन आएको ? भन्दै सर्वसाधारणबाट समेत चासो व्यक्त गरिएको छ ।

नेपालमा एमसीसी अनुमोदन भए अमेरिकी सेना प्रवेश गर्ने भन्दै प्रचार गर्नेहरुले ‘देख्यौं ?’ भन्ने आशयमा प्रचार गरिरहेका छन् । तर, अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उक्त कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री लिएर आएको हो ।

अमेरिकी सेनाको जहाज पहिलो पटक आएको भने होइन, यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर अमेरिकी सेनाको जहाज आउने गरेको थियो । पछिल्लो एक वर्षभित्रमा मात्र उक्त जहाज चौथोपटक काठमाडौंमा अवतरण गरेको हो ।

शुक्रबार बिहान सवा ९ बजे काठमाडौं अवतरण भएको उक्त अमेरिकी सेनाको जहाज पौने १२ बजे फर्किएको थियो । ‘स्याल कराउनु र कुखुरा हराउनु’ भनेजस्तै संसदले एमसीसी सम्झौता अनुमोदन गरेपछि अब अमेरिकी सेना आउँछ भन्ने एकथरीमा आशंका भएरहेको बेला उक्त जहाज आएको हो ।

त्यसैले पनि उक्त जहाजबारे समाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । सन् २०१९ मा नेपाल भ्रमणमा आएका तत्कालीन अमेरिकी उपविदेशमन्त्री डेभिड जे रान्जले एमसीसीलाई इन्डोप्यासिफिक रणनीतिकै हिस्सा भनेका थिए । त्यसप्रति नेपालका दलहरूले प्रश्न गरेपछि अमेरिकाले एमसीसी इन्डोप्यासिफिक रणनीतिको हिस्सा नभएको बताउँदै आएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार १७:४१