सूचनाको शक्ति - The Power Of Information

        

स्थानीयले फालिदिए वडाध्यक्षको कुर्सी

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मकवानपुरको एक वडा अध्यक्षको कुर्सी सेवाग्राहीले सडकमा फालिदिएका छन् । हेटौंडा उपमहानगर–८ को वडा कार्यालयमा तोडफोड गर्दै अध्यक्ष गोपालबहादुर श्रेष्ठको कुर्सी फालिएको हो ।

स्थानीय सेवाग्राहीले वडाअध्यक्ष श्रेष्ठ कार्यालयमा नबसेको र सेवाग्राहीलाई पूर्णरुपमा वेवास्ता गरेको आरोप लगाउँदै तोडफोड गरेको प्रहरीले जनाएको छ । ‘स्थानीय युवाहरुले सेवामा पक्षपात भयो भन्ने गुनासो रहेछ, बाँकी विषय बुझ्दैछौं,’ इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रहरी निरीक्षक अनिश अधिकारीले भने ।

स्थानीय युवाले अध्यक्षविरुद्ध आन्दोलन गरेसँगै एमाले निकट करिब २० जना युवा प्रतिवादमा उत्रिएको बताइएको छ । वडाध्यक्ष श्रेष्ठ एमालेबाट निर्वाचित हुन् । लामो समयदेखि उनले सेवा प्रवाहमा पार्टीकरण गरेको आरोप लगाएका छन् । पछिल्लो समय स्थानीय निकायको निर्वाचन नजिकिएसँगै श्रेष्ठ अध्यक्षमा पुनः दोहोर्याउने मनसायले पार्टीको काममा बढि ध्यान दिन थालेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार १६:४९