सूचनाको शक्ति - The Power Of Information

        

गर्मी लागेसँगै वनमा डढेलोको जोखिम बढ्याे

गर्मी लागेसँगै वनमा डढेलोको जोखिम बढेको छ । हरेक वर्ष हिउँदमा वन जङ्गलमा डढेलोका घटना धेरै हुने गरेका छन् ।

प्राकृतिक र आकस्मिक रुपमा समेत वन जङ्गलमा आगलागी हुने भए पनि नेपालमा ८० प्रतिशत डढेलो मानव सिर्जित हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

मुख्य गरी मानवीय लापर्बाहीका कारण वनमा डढेलो लाग्ने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

वनमा डढेलो लगाउँदा पालुवा पलाउने मानवीय धारणाका कारण वन क्षति हुने गरेको छ । डढेलोले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा नोक्सानी गर्ने गरेको छ ।

वायु प्रदूषण समेत बढ्ने गरेको छ । बेलैमा डढेलो निभाउन नसक्दा बस्तीमा पसेर पनि जनधनको क्षति हुने जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

नेपालमा पछिल्लो पाँच वर्षमा गएको वर्ष सबैभन्दा धेरै डढेलोका घटना भएका थिए । गएको वर्ष चैत १३ गतेका दिन देशका ५४ जिल्लामा चार सय ३७ ठाउँमा एकैपटक डढेलो लागेको थियो ।

यसवर्ष वैशाखयता देशका ७३ ठाउँमा जङ्गलमा आगलागीका घटना भएका र आगो निभाउने क्रममा तीन जनाले ज्यान गुमाएका प्राधिकरणको तथ्याङ्क छ । वनमा लागेको डढेलो बस्तीमा पस्दा ३३ परिवार प्रभावित भएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार ०८:५२