सूचनाको शक्ति - The Power Of Information

        

अनुशासित बन्न थाल्यो होली

केही वर्षअघिसम्म फागु पूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । अबिर लगायत रङ दलिन्थ्यो ।

सामान्यतया यो वर्ष अरुको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाए ।

घरपरिवार एवं छरछिमेकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानी लगायत पहाडी र हिमाली जिल्लामा अपेक्षाकृत शान्त रुपमा मनाइएको छ ।

केही वर्षअघिसम्म होलीमा मानिसको इच्छाविपरीत रङ दल्ने, पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ ।

कोरोनाको जोखिम कायमै रहेकाले प्रशासनले शान्त रुपमा पर्व मनाउन आह्वान गरेको थियो । सडकमा फागु खेल्ने प्रायः बालबालिका, युवायुवती थिए ।

बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ ।

गौशाला चोकमा फागु पर्व मनाइरहेका युवा सन्दीप सिंह चिनजानका साथीभाइबीच मात्र पर्व मनाउने तर सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन् ।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो ।

यस वर्ष फागु पर्वकै दिन पनि सहजरुपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रुपमा जबरजस्ती रङ लगाए पनि फोहर पानीले दुर्व्यवहार गरेको देखिएन ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ ।

बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ ।

यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ ।

प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराइका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार ०८:३७