सूचनाको शक्ति - The Power Of Information

        

होलीलाई मर्यादित बनाउन स्थानीय प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय बझाङले होली (फागु पूर्णिमा)लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङ नदल्न आग्रह गरेका छन् ।

होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छा विपरीत रङ दल्ने, लोला तथा फोहोर पदार्थले हान्ने, मादकपदार्थ सेवन गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ ।

यसमा राजनीतिक दल, नागरिक समाज, पेशागत सङ्घ संस्था, सञ्चारकर्मी, महिला सञ्जाल लगायत सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको सूचनामा भनिएको छ । कसैले अवाञ्छित एवं उच्छृङ्खल क्रियाकलाप गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय बझाङले पनि सभ्य तरिकाले फागु पूर्णिमा मनाउन आग्रह गरेको छ । प्रहरीले होली खेल्दा अण्डा, मोबिल, लोला तथा फोहोर पानी प्रयोग नगर्न आग्रह गरेको हो । यस्तै मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन तथा सवारीसाधन तीव्रगतिमा नचलाउन पनि प्रहरीले आग्रह गरेको छ ।

मोटरसाइकलमा दुई जनाभन्दा बढी नचढ्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, लागुऔषध सेवन नगर्न तथा चर्को आवाज आउने गरी डिजे गीत र बाजा नबजाउन पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार १२:४०