सूचनाको शक्ति - The Power Of Information

        

अपराध

बर्दियामा तीन जनाको साथबाट ठूलो मात्रामा ब्राउनसुगर बरामद

बर्दिया प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तीन जना ब्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.८ कण्ठपुरस्थित नेपाल–भारत सिमा नाकाबाट ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मैनापोखरका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा प्रहरी चौकी कालिकाको संयुक्त टोलीले नेपाल–भारत सिमा नाकाको बाटोमा बुधबार करिब ६९ ग्राम प्रतिबन्धित लागुऔसध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

बढैयाताल गाउँपालिका ८ कण्ठपुरस्थित नेपाल–भारत सिमानाकाको बाटोमा लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले भारतको बहराइच जिल्ला बस्ने बर्ष २५ कि सबिना साई र सोही ठेगानाका बर्ष २६ को सद्दाम साईलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

सबिना साईको साथबाट प्रहरीले ३७ पुरिया प्लास्टिकसहित नापतौल गर्दा ३९ ग्राम २१० मिलीग्राम र प्लास्टिक हटाई शुद्द खैरो धुलो पदार्थ नापतौल गर्दा ३३ ग्राम ०९० मिलीग्राम तौल रहेको लागुऔषध ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले सद्दाम साईको साथबाट ३९ पुरिया प्लास्टिकसहित नापतौल गर्दा ४१ ग्राम ३२० मिलीग्राम र प्लास्टिक हटाई शुद्ध खैरो धुलो पदार्थ नापतौल गर्दा ३५ ग्राम ०४० मिलीग्राम तौल भएको लागुऔषध ब्राउनसुगरजस्तो पदार्थ फेलापारी बरामद गरेको प्रहरी निरीक्षक जोशीले बताएका छन् ।

ब्राउनसुगरसहित पक्राउ परेका दुबैलाई सोधपुछ पछि उक्त लागूऔसध काठमाडौंबाट आएको एक कारोबारीलाई दिन जाँदै गरेको भन्ने थाहा पाएपछि प्रहरीको टोलीले काठमाडौं महानगरपालिका ४ बालुवाटार स्थाई घर भई धापासी बस्ने सुमन केसीलाई समेत पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार ११:०८