खानेपानीको समस्याका कारण बुहारी भित्र्याउन नपाउने गाउँमा एक करोड ५० लाख रुपैयाँको लिफ्ट खानेपानी योजना बनेपछि खुसियाली छाएको छ ।
बैतडीको सिगास गाउँपालिका–३ का करिब २०० घरधुरीका बासिन्दा पानी लिन दुई घण्टा पैदल हिँडेर डडेल्धुराको नवदुर्गा गाउँपालिका पुग्नुपर्ने बाध्यताले गाउँमा बुहारी भित्र्याउन समस्या हुने गरेको थियो । सो समस्याका विषयमा गोरखापत्रमा समाचार प्रकाशित भएको थियो ।
गाउँको समस्या उजागरपछि सुदूरपश्चिम प्रदेश सरकारको भौतिक विकास मन्त्रालयबाट एक करोड ५२ लाख रुपैयाँ बजेटसहित योजनाको स्टिमेट आएपछि दुई वर्ष लगाएर लिफ्ट खानेपानी योजना पूरा गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको छ ।
‘खानेपानीको समस्या थाहा पाएकाले उक्त गाउँका युवालाई छोरीसमेत दिन मान्दैनथे,’ स्थानीय युवा पठानसिंह बोहराले भने, ‘गाउँका युवाको विवाह गर्न पानीको समस्या थाहा नपाएका निकै टाढाका गाउँबाट विवाह हुने गरेकोमा अब बुहारी भित्र्याउन पनि सहज हुने भएको छ ।’
पुस्तौँदेखि खानेपानीको समस्या झेल्दै आइरहेका सिगास गाउँपालिका–३ को लगन–ठूलसैनी गाउँमा पानी आएपछि खुसियाली छाएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुन्दरसिंह धामीले बताए । धामीले भने, ‘तीन किलोमिटर तल सिन्याखेत खोलाबाट लिफ्ट खानेपानी गाउँमा आइपुगेको छ ।’
उनका अनुसार योजनाको भर्टिकल उचाइ भने एक हजार ५२ मिटर रहेको छ । चार ठाउँमा पानी झार्ने ट्याङ्की बनेका छन् । ५२ किलोवाटको सोलार प्रविधिबाट पानी तानेर गाउँमा आइपुगेको छ । पानी वितरणका लागि अहिले घर–घरमा धारा निर्माण भइरहेका छन् ।
गाउँमा खानेपानी योजना निर्माण भएकोमा खुसी हुँदै स्थानीय नन्दा धामी भन्छन्, ‘प्रदेश सरकार दाहिना भयो । दुई घण्टा पैदल हिँडेर डडेल्धुराको नवदुर्गा गाउँपालिका–५, बानबाट ४० लिटरको ग्यालेनमा पानी बोकेर खानुपरेको थियो । गाउँमै खानेपानीको धारा आएपछि बहुतै निको भएको छ । बुहारी पनि खोजन्या हो अब ।’
बैतडी जिल्ला खुला दिसामुक्त जिल्ला भए पनि सिगास गाउँपालिका–३, का गाउँमा पानीको समस्याका कारण शौचालयसमेत प्रयोगविहीन अवस्थामा थिए । पानीको समस्याले गाउँमा खुला दिसापिसाब हुने गरेको स्थानीय सङ्गीता धामीले बताए । अब दिन फिर्न लागेको उनले बताए ।
खानेपानी योजनाका लागि ठूलै सङ्घर्ष गर्नुपरेको बताउँदै स्थानीय युवा पठानसिंह बोहरा भन्छन्, ‘खानेपानीका लागि धेरै ठाउँमा धायौँ, कसैले सुनुवाइ नगरेपछि गोरखापत्रमा समाचार आयो । त्यसपछि प्रदेश सरकारले गाउँको समस्या बुझेर योजना दिएको हो ।’
लिफ्ट खानेपानी योजना निर्माणका लागि गत वर्ष ७० लाख रुपैयाँ र यो वर्ष २० लाख रुपियाँ आएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताए ।
खानेपानी कार्यालयका प्रमुख बोगटीले भने, ‘गाउँमा खानेपानीको ठूलो समस्या थियो । योजना निर्माणका लागि एक करोड ५२ लाख रुपैयाँको प्रतिवेदन तयार गरेका छौँ । खानेपानीका धारा निर्माणको काम चलिरहेकोले थप बजेट माग गरेका छौँ ।’
सत्यपाटी । बैतडी ।