सूचनाको शक्ति - The Power Of Information

        

सुब्बा र खरिदारको भरमा बैतडी जिल्ला अस्पताल

तीन जना डाक्टरसहित ३२ जना स्वास्थ्यकर्मीको दरबन्दी भएको बैतडी अस्पताल सुब्बा र खरिदारको भरमा सञ्चालन हुन थालेको छ । २०३४ सालमा स्थापना भएको १५ शैय्याको बैतडी अस्पतालमा दरबन्दी अनुसारका डाक्टर र स्वास्थ्यकर्मी नबस्दा बैतडीवासीले उपचार गर्न भारततर्फ जानुपरेको गुनासो गरेका छन् ।

नागरिक समाज बैतडीका अगुवा प्रकाश चन्द भन्छन्, ‘बैतडीका नागरिकले नेता चुने, सभासद र बनाए तर अस्पतालमा दरबन्दीअनुसारका डाक्टर कहिल्यै पाएनौँ । उपचार गर्न भारत नै जानुपर्ने बाध्यता छ । गुनासो कसलाई भन्ने ? कहाँ गएर भन्ने ? अस्पतालमा सिटामोल दिने डाक्टर छैन । नेताहरू सबै चुनावी दौडमा छन् ।’

जिल्ला अस्पताल बैतडीमा नवौँ तहका एक जना सुपरिन्टेन्डेन्ट डाक्टर र दुई जना मेडिकल अधिकृतसहित तीन जना डाक्टर, चार जना स्टाफनर्स, एक जना एचए, दुई जना अहेब, एनएम दुई जना, ल्याबमा एक जना, एक्स–रेमा एक जना र मेडिकल रेकर्डर र लेखा अधिकृतसहितका सबै दरबन्दी खाली रहेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।

सूचना अधिकारी पन्तले भने, ‘अस्पतालमा अहिले हामी सुब्बा र खरिदार दुई जना मात्रै दरबन्दीमा छौँ । डाक्टर, स्टाफनर्स, एचए र अहेव सबै खाली छन् । ल्याबमा एक जना र एक जना एक्स–रेमा मात्रै हुनुहुन्छ । बिरामीको स्वास्थ्य परीक्षण गरेर सिटामोल दिने दरबन्दीका स्वास्थ्यकर्मी छैनन् ।’

जिल्ला अस्पतालमा यसअघि छात्रवृत्ति करारमा कार्यरत डाक्टर वसन्तराज जोशी पनि अध्ययनमा गएकाले प्रसूति सेवासमेत बन्द भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ । नेपाल सरकारले १५ शय्याको बैतडी अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याका लागि भवन निर्माण गरे पनि दरबन्दीका डाक्टर नपठाएको बैतडी अस्पतालले जनाएको छ ।

‘मङ्सिरदेखि अस्पताल व्यवस्थापन समितिसमेत खाली छ,’ सूचना अधिकारी हरिश पन्तले भने, ‘दरबन्दीका डाक्टर नहुँदा बिरामीले उपचार पाउन सकेका छैनन् । करारमा डाक्टर भर्ना गर्न पनि स्थानीय तहको सरकारले चासो देखाएको छैन । अस्पताल व्यवस्थापन समिति गठन हुन नसक्दा समस्याले निकास पाएको छैन ।’

यता, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले केही दिनमै अस्पतालका अध्यक्ष र सदस्यको नियुक्ति गर्ने तयारी गरेको छ । सरकारले दरबन्दीका डाक्टर पठाउँदैन, करारमा डाक्टर भर्ना गर्न मासिक दुई लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने भएकाले तत्काल करारमा डाक्टर भर्ना गर्न समस्या भएको अस्पतालका सूचना अधिकारी पन्तले बताए ।

त्यसैगरी, स्थानीय तहमा शिलान्यास गरिएका बैतडीका सात वटा स्थानीय तहका अस्पताल पनि बजेट अभावमा अलपत्र परेका छन् । गत वर्ष बैतडीको पुरचौडी नगरपालिका, पाटन नगरपालिका, डिलासैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिका गरेर सात स्थानीय तहमा १० शय्या र १५ शय्याका अस्पताल एकै दिन शिलान्यास गरिएका थिए ।

गत वर्षको मङ्सिरमा एकै दिन शिलान्यास गरिएका करोडौँ लागतमा बन्ने अस्पतालका लागि घोषणाअनुसार बजेट नआउँदा अस्पताल अलपत्र रहेको पुर्चौडी नगरपालिकाका इन्जिनियर लालबहादुर साउदले बताए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पालिकास्तरमा बन्ने १० शैय्याको अस्पतालका लागि १० करोड ८३ लाख र १५ शैय्याको अस्पतालका लागि १८ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजित गरिएको घोषणा गरेका थिए ।

घोषणा अनुसार बजेट नआउँदा अस्पताल निर्माणको काम अघि नबढेको बैतडीका स्थानीय तहले जानकारी दिएका छन् । ‘१० शय्याको अस्पतालका लागि १० करोड ८३ लाख रुपियाँ आउँछ भनिएको थियो । त्यहीअनुसार पालिकास्तरीय अस्पताल शिलान्यास गरियो,’ शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले भने, ‘पछि ८५ लाख रुपैयाँ मात्रै बजेट आयो । पालिकाले ८५ लाखको ठेक्का आह्वान गरेर ठेकेदारले गत वर्ष नै ६३ लाख रुपैयाँ पेस्की लगिसकेको छ । अस्पताल निर्माणको काम अघि बढेको छैन ।’

गाउँपालिकाले बनाएको डीपीआरअनुसारको बजेट नआएकै कारण पालिकास्तरीय अस्पतालको काम अघि नबढेको शिवनाग गाउँपालिकाका अध्यक्ष साउदले बताए । दुई वर्षभित्र अस्पताल बनाउने लक्ष्य राखिएकोमा डेढ वर्ष बितिसक्दा पनि अस्पताल बनाउने काम अघि बढ्न सकेको छैन । ‘स्थानीय तहमा पहिले बजेट आउनुपर्नेमा त्यसो नभई पहिले शिलान्यास गर्न हतार गरियो,’ पुर्चौडी नगरपालिकाका इन्जिनियर साउदले भने ।

उनका अनुसार गत वर्ष मङ्सिरमा १८ करोड रुपियाँको अस्पताल शिलान्यास भयो, तर वैशाखमा एक करोड मात्रै बजेट आयो । इन्जिनियर साउदले भने, ‘हामीले एक करोडकै टेन्डर आह्वान गर्यौँ । ठेकेदारले ८० लाख रुपैयाँ पेस्की लगेको छ । डीपीआरअनुसार थप बजेट नआउँदा अस्पताल निर्माणको काम अघि बढेको छैन ।’ दुई वर्षभित्रै स्थानीय तहमा अस्पताल बन्ने आशामा बसेका स्थानीय शिलान्यास गरिएका अस्पताल एक वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा निराश बनेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार ०८:३८