सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन

गोपाल हमालको स्वतन्त्र उमेदवारीले धनगढीमा के फरक पर्छ ?

गोपाल हमालको उम्मेदवारीले यस्ता मतदातालाई सरक्क तान्ने हो की भन्ने डर यहाँका सबैजसो पार्टीमा छ ।

विवेकशील साझा पार्टीका प्रदेश संयोजकको पदसहित पार्टी परित्याग गरेर व्यवसायी गोपाल हमालले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेपछि धनगढीको राजनीतिमा एक किसिमको तरङ्ग आएको छ । त्यसमाथि भारतको पाँच प्रदेशको निर्वाचनमा पञ्जाबमा वैकल्पिक राजनीतिक दल आपले राम्रैसँग जितेकाले पनि यहाँका वैकल्पिक राजनीतिक धारका मानिशहरू निकै उत्साहित देखिन्छन् ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा वर्तमान मेयर नृप वडसँग पराजित हमाल भन्छन्, ‘गत निर्वाचनमा दोस्रो स्थान हासिल गरे पनि मैले आफूलाई विजेताकै रूपमा लिएको थिएँ । हारपछि मैले चार वर्ष धनगढीको विकासको लागि योजना बनाउनमै बिताए । म प्रण गर्छु, मेयरले लिने सेवा सुविधाको म एक पैसा पनि लिने छैन । गाडी सुविधा पनि लिने छैन । यसको मतलब म भ्रष्टाचार गर्दिन । गर्न पनि दिन्न । धनगढीले मलाई यहाँसम्म पुर्याएको छ । त्यसैले धनगढीलाई नमूना सहर बनाउने मेरो एउटै लक्ष्य हो । मेरो जित सबैको जित हुनेछ ।’

हमालले आफूले अन्तिम पटकका लागि उम्मेदवारी दिन लागेको पनि बताएका छन् । गत स्थानिय तहको निर्वाचनमा करिब २ हजार ७०० मतले पराजित गोपाल हमालले यस बर्ष पनि अरु उमेदवारलाई चुनाव जित्न निकै हम्मे हम्मे पार्ने अनुमान गरिएको छ । हमालको समर्थनमा यहाँका स्वतन्त्र व्यक्तिहरू खुलेरै लागेका छन् भने सबैजसो पार्टीमा हमाल समर्थकको राम्रै संख्या छ र उनीहरू गोप्य रूपमा हमाललाई सहयोग गर्ने मनस्थितिमा देखिएका छन् ।

हमालको उम्मेदवारीबारे दलका उम्मेदवार भने अहिले खुलेरै बोल्न चाहदैनन्, कांग्रेसबाट बलियो उम्मेदवारका रुपमा देखिएका वर्तमान मेयर नृपबहादुर वड हमालको उम्मेदवारीले त्यस्तो गाह्रो नपार्ने बताउँछन् । मेयर नृपबहादुर वड भन्छन्, ‘निर्वाचन लड्ने सबैलाई अधिकार छ । तर दल र स्वतन्त्र उमेदवारमा धेरै फरक हुन्छ । राजनीति गरेकैले हो देश बनाउने । केही कमजोरी होलान ति सच्याएर हामी अघि बढ्छौँ ।’ तर वर्तमान मेयर वडले निर्वाचन पुनः लड्ने मनशाय बनाइरहँदा यहाँका स्थानिय वडको पाँच बर्षे कार्यकालमा देखिन लायक काम नभएको बताइरहेका छन् ।

‘पाँच बर्षमा न सबै नाली बने ल सडक न फुटपाथ नै,’ धनगढीका प्रमोद पाठकले भन्छन्, ‘संघीय सरकारले बनाएको ६ लेन सडक छेउमा फुटपाथ बनाउन सकेको छैन, संघीय आयोजना अन्तर्गतका फोहोरमैला प्रशोधन केन्द्र बनाउन सकेन, सडकको चौडाई घटाएर निर्माण हुन थालेको छ । उपमहानगरले आफ्नो काम देखाउनुको सट्टा संघका योजनालाई समेत की अधुरै राखेको छ की क्षेत्र नै घटाएको छ, यसकारण धनगढीको नेतृत्व परिवर्तन आवश्यक छ ।’

धनगढीकै श्याम जोशी पनि उपमहानगरमा जनप्रतिनिधिले पाँच बर्षसम्म कुनै काम गर्न नसकेको बताउँछन् । श्याम जोशी भन्छन्, ‘पाँच बर्षमा यहाँका छाडा चौपायालाइ त व्यवस्थापन गर्न सकेनन् । बाहिर गफ जति हाने पनि काम केही देखिएको छैन ।’ धनगढीकै मदन भट्ट भन्छन्, ‘पाँच बर्षमा धनगढी जस्ताको त्यस्तै छ । त्यसकारण विकास गर्ने नेता नजिताउँदासम्म धनगढी बन्दैन । धनगढी नबने सुदूरपश्चिम पनि बन्दैन ।’ गोपाल हमालको उम्मेदवारीले यस्ता मतदातालाई सरक्क तान्ने हो की भन्ने डर यहाँका सबैजसो पार्टीमा छ ।

मेयर नृपबहादुर वडमा केही आत्मविश्वास चाहिँ छ । मेयर नृपबहादुर वड भन्छन्, ‘मेरो कार्यकाल संघर्षमय रह्यो । १९ वर्षपछि स्थानीय सरकार आएको अवधि हो । कानून निर्माणसँगै सबै वडाहरूमा भौतिक संरचनादेखि अन्य विकास निर्माणको जिम्मेवारी रहेको कार्यकाल हो । महामारीका बीच कार्यकाल बित्दैछ । विकास निर्माण धमाधम भइरहेका छन् । केही सम्पन्न भएका छन्, केही भर्खर शुरू भई सञ्चालनका अवस्थामा छन् । त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न पनि मेरो उम्मेद्वारी हुनेछ ।’

नृपबहादुर वडले कांग्रेसभित्रै पनि प्रतिस्पर्धा गर्नपर्ने स्थिति छ । उपमहानगरपालिकाको नेतृत्वको लागि काँग्रेसबाट तीन जनाको नाम चर्चामा छ । मेयर नृपबहादुर वडसँगै उपमेयर सुशिला मिश्र भट्ट र नेता कृष्णबहादुर महरा आकांक्षी देखिएका छन् । तीनै जना संस्थापन पक्षका हुन् । अन्य केही नेताहरूले पनि आकांक्षा देखाएको बुझिए पनि उनीहरू खुल्न भने चाहेका छैनन् । २०७४ को निर्वाचनमा नै टिकट पाउने निकै चर्चामा रहेका व्यवसायी तथा काँग्रेस नेता कृष्णबहादुर महरासँग नै वडको ठूलै प्रतिस्पर्धा हुनेछ ।

धनगढीकी उपमेयर सुशीला मिश्र भट्ट अब उपमेयर नहुने मनस्थितिमा छिन् । सुशीलाले मेयर र प्रदेशसभाको टिकटमध्ये एउटा पाउनुपर्ने मागका साथ लविङ सुरु गरेकी छन् । यस्तै एमालेबाट वर्तमान कैलाली जिल्ला उपाध्यक्ष दुर्गा जोशी, निवर्तमान उपाध्यक्ष तथा अध्यक्षमा पराजित रणबहादुर चन्द पनि धनगढीको मेयरमा उठने चाहनामा देखिएका छन् । उपाध्यक्ष जोशी २०७४ सालको स्थानिय निर्वाचनमा पराजित भएका हुन् ।

त्यसपछि सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितिको अध्यक्षसमेत भएका जोशी एक पटक धनगढीको मेयर बन्ने जोडबलमा छन् । एमाले कैलाली जिल्ला सचिवमा रहेर लामो समय काम गरेका रणबहादुर चन्द यहाँका कार्यकर्ता तथा आम जनतामा लोकप्रिय र ईमान्दार नेताका रुपमा चिनिन्छन् । सधै अवसरबाट बञ्चित बनाइने चन्दलाई यसपटक टिकट मिल्न सक्ने अनुमान गरिएको छ । माओवादीबाट शान्ति अधिकारी र बलबहादूर ऐरले मेयर लड्ने आकांक्षा देखाएका छन् ।

अधिकारी गत २०७४ सालको स्थानीय निर्वाचनमा उपमेयर पदमा पराजित हुन् भने ऐर धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का निर्वाचित वडाध्यक्ष हुन् । टिकटका लागि दुवै पार्टीमा लविङ गरिरहेका छन् । शान्ति अधिकारी भन्छिन्, ‘पार्टीले आवश्यक ठानेको अवस्थामा मेरो तयारी स्वाभाविक रूपमै रहन्छ । हामी विगतको अनुभवबाट पाठ सिक्दै नयाँ रणनीतिका साथ उपमहानगरको विकासका लागि मेरो तयारी रहन्छ । हामी पनि केही गर्न सक्छौं भन्ने लाग्छ । तर अझै टुंगो लाग्न बाँकी नै छ ।’

नेकपा एकिकृत समाजवादी पार्टीबाट राजेश भण्डारी मेयरको उम्मेदवार बन्ने चर्चा छ । राजेश भण्डारी मेयरको टिकट पाउनकै लागि एकिकृत समाजवादीमा गएको बुझिएको छ । राजेश भण्डारी भन्छन्, ‘अहिलेसम्म राजनीतिक दलको सत्ता गठबन्धन कायमै रहेको छ । यसले निरन्तरता पनि पाउँछ । राजनीतिक दलबाट आकांक्षी देखिनु राम्रो कुरा हो । तर गठबन्धनले निर्णय गरेपछि आधिकारिक होला, एकीकृत समाजवादीबाट मलाई सार्ने कुरा हुँदैछ ।’

 

श्रोत : आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार १८:२१