सूचनाको शक्ति - The Power Of Information

        

जंगली जनावरलाई थापेको पासोमा परेर मान्छेको मृत्यु

जंगली जनावरलाई थापेको बन्दुकको पासोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–४ का ४५ वर्षीय दलबहादुर पान रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

मंगलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्नका लागि थापेको पासोमा परेर पानको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए ।

उनले दलबहादुरको डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको बताए । ‘भरुवा बन्दुकको पासोमा परेर उहाँको मृत्यु भएको देखिन्छ । पासो कसले थापेको हो भन्ने खुलेको छैन,’ डीएसपी पालले भने,‘यसबारेमा हामी अनुसन्धान गर्दैछौँ ।’

उनको शव अस्पतालमा राखिएको छ । घटनामा संलग्न रहेको हुनसक्ने भन्दै चार जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको डीएसपी पालले बताए । नियन्त्रणमा लिइएकाहरूको परिचय भने खुलाइएको छैन ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार ११:५२