फागु रङ र अबिरको महान् चाड । मायाप्रेमको तथा वासन्ती परिवेशमा मनाइने सर्वोत्कृष्ट चाड । गीत सङ्गीतको सुमधुर चाड । सुस्वादु एवं स्वादिष्ट खानपानको पनि समय सुहाउँदो चाड । यो चाड सौन्दर्यमयी सृष्टिको अनुपम उपहार पनि हो । जब प्रकृति पहेँलो परिधानमा परिवेष्टित हुन्छ, तब यस चाडको प्रारम्भ हुन्छ ।
प्रकृतिको फूलबारीमा आँपको डालीमा बसेर कोइली आफ्नो पञ्चम तानमा एवं पञ्चम स्वरमा सुसेल्न थाल्छ अनि फागुको पदचाप सुनिन थाल्छ । यो बेला गाउँ–गाउँका गोठाला यसको मधुर लोकगीत गायनमा मस्त देखिन्छन् । भमराहरू फूलको पराग चुस्दा चुस्दा त्यसकै कोपिलाको कपाटमा कैद भएको थाहा पाउँदैनन् ।
प्रकृतिरानी धानी साडीमा सुसज्जित भएर सम्पूर्ण सृष्टिमा सुरिलो स्वरमा गुनगुनाउन थाल्छे । अनि प्रकृतिको प्राङ्गणमा रङ्गी विरङ्गी फूलहरू पल्लवित एवं पुष्पित भएर संसारलाई नै सुगन्धित एवं सुरभित गर्न थाल्दछन् । हो, त्यस्तै प्रकृतिको वासनादार बार्दलीबाट वसन्त ऋतुको पदार्पणको पदचाप सुनिन सुरु हुन्छ ।
चराचुरुङ्गीमा पनि यस्तो मादक, मनमोहक र मनोरम लोकचाडको प्रत्यक्ष प्रकटीकरण अनुभूति हुन्छ । सम्पूर्ण तराई मधेसदेखि हिमालयसम्म एउटै सांस्कृतिक सुरभि प्रवाहित भएको हामी पाउँछौँ । हो यही सांस्कृतिक सुरभिबाट सुवासित, सुगन्धित र सम्बोधित हुँदै यस चाड प्रवाहित भएको पाइन्छ ।
फागुको सांस्कृतिक सौन्दर्य, गरिमा र महिमालाई शब्दमा चित्रण गर्न सम्भव हुँदैन । मैथिली साहित्यका महाकवि विद्यापतिले वसन्त ऋतु (जसलाई मधुमास पनि भनिन्छ) को अपरिचित सौन्दर्य र सुरभिको शब्दचित्र कोर्दा फागु महोत्सवको वासन्ती र सांस्कृतिक गरिमा एवं महिमालाई उतारेका छन् ।
वसन्त ऋतुमा मनाइने सबैभन्दा ठूलो सामाजिक एवं सांस्कृतिक चाडमा यो सूचीकृत भइसकेको छ । वसन्त ऋतुमा मनाइने यो सबैभन्दा ठूलो लोकोत्सव हो जसको प्रतीक्षामा प्राणीजगत् पिपासु भएको हुन्छ । वसन्त ऋतुको पदार्पण जब प्रकृतिको प्राङ्गणमा हुन्छ तब भमरा समूह सबैभन्दा पहिले मातेको हुन्छ ।
रसिक भमरा फूलको सुवास एवं सुरभित सुगन्धले भरिएको बाटोतिर अर्थात् आफ्नो गन्तव्यतिर लम्किन थाल्छ । यस्तै मादक, मनोहर र मस्त परिवेशलाई सिर्जित गर्नमा वसन्त ऋतु सफल मानिन्छ । चारैतिर सरस र सुन्दर वातावरण सिर्जित हुन्छ । अनि सबैजना मदमस्त भएर फागुको लोकोत्सव मनाउँछन् ।
मस्ती नै यस लोकोत्सवको मूलमन्त्र हो । जीवनमा आनन्द प्राप्ति नै मानिसको ठूलो अभिलाषा हुन्छ । अमेरिकाको त संविधानमा नै लेखिएका विभिन्न प्रावधानमध्ये ‘ह्याप्पीनेस’ एउटा सबैभन्दा प्रधान प्रावधान हो । जीवनमा आनन्द प्राप्ति नै मानिसको ठूलो अभिलाषा हुन्छ । कुनै पनि लोकोत्सव मनाउनुको पछाडि आनन्दको अन्वेषण पनि एउटा मुख्य कारक तत्त्व हुन्छ ।
यस लोकोत्सवको पनि मोजमज्जा र मस्ती नै सार तत्त्व हो, मौलिक तत्त्व हो । वास्तवमा भन्ने हो भने यसको प्रारम्भ वसन्त पञ्चमीदेखि नै हुन्छ । जब देशवासीहरू जो अधिकांश कृषक छन्, आफ्नो मुख्य धानबाली घरभित्र सुरक्षित रूपमा राखिसक्छन्, तदुपरान्त मोजमस्तीले भरिएको लोकोत्सव फागु मनाउन चिन्ताविहीन भएर र तनावविहीन भएर दत्तचित्त हुन्छन् ।
नेपाल कृषिप्रधान देश भएकाले किसानको सम्पूर्ण पूँजी धानखेत र खलियानमा थुप्रिएको हुन्छ । घरभित्र धनधान्य सञ्चित भएपछि कृषकहरू चिन्ताबाट मुक्त हुन्छन् र मुक्तकण्ठबाट गाउँका गल्ली र गोरेटोमा फागुको कर्णप्रिय एवं लोकप्रिय लोकगीत गुनगुनाउन थाल्दछन् । यो सर्वथा मनोवैज्ञानिक पनि हो ।
यो मनोवैज्ञानिक सत्यतथ्य यसरी प्रमाणित हुन्छ जब मानिस चिन्ताविहीन हुन्छ, खेतको कामकाजको बोझिलो भारबाट मुक्त हुन्छ अनि ऊ आमोदप्रमोदमा लाग्न खोज्छ । यसै मनोवैज्ञानिक मनस्थितिको उपज हो फागुको महान् सांस्कृतिक समारोह । महाकवि कालिदासको शब्दमा ‘उत्सव प्रियाः खलु मनुष्यां’ अर्थात् मानिस उत्सवप्रिय प्राणी हुन् प्रारम्भकालदेखि नै ।
आजको मनोवैज्ञानिक शास्त्रले पनि यस तथ्यलाई पुष्टि गर्छ । मानिस प्रथमतः एवं स्वभावतः उत्सव प्रिय हुन्छ । अतः यसअनुरूप सुरम्य एवं सुरुचिपूर्ण परिवेशको सिर्जना गर्नु पनि सामाजिक दायित्वको साथै राजनीतिक दायित्व पनि हुन्छ । संसारका विभिन्न जातिले आ–आफ्नोे सांस्कृतिक संस्कारित परम्पराअनुसार आफ्नो मौलिक लोकोत्सव मनाउनुका पछाडि पनि यही सत्यतथ्य लुकेको पाइन्छ जुन सर्वथा स्वाभाविक हो ।
संयुक्तराज्य अमेरिका र युरोपमा क्रिसमस, मुस्लिम देशहरूमा इद (रमजान), हिन्दु देशहरूमा दशैँ, दीपावली र फागु यसै तथ्यको ज्वलन्त उदाहरणहरू हुन् । यस किसिमका लोकोत्सव मनाउँदा संस्कृतिको संरक्षणको साथसाथै आमोदप्रमोदको भावना पनि गुम्फित हुन्छ । यसर्थ फागुको सांस्कृतिक पक्ष झन् प्रष्टिन्छ । यो रङ र अनङ्ग (कामदेव) को अति प्रिय पर्व मानिन्छ ।
कामसूत्रको ‘जय मंगला टीका’ मा सुवसन्तलाई ‘मदनमहोत्सव’ भनिएको छ । प्रकृतिको प्रस्फुटित पूर्ण यौवनको वासन्ती परिवेशमा प्रकृतिरूपी रानी आफ्नो पीत परिधानमा परिवेष्टित हुन्छिन् । मधुमासको मन्द मन्द सङ्गीतमय गीत गाउँदै प्रवाहित हुन्छिन् । अनि फागु चाड मनाइन्छ । सांस्कृतिक र सङ्गीतात्मक चाडमा फागु सर्वोत्कृष्ट, सर्वोत्तम, सुमधुर र समय सुहाउँदो छ ।
यसको पृष्ठभूमिमा आँपको बगैँचाहरूमा कोइलीको कर्णप्रिय सरस एवं सुमधुर सुसेली सहजै सुन्न सकिन्छ । प्राकृतिक सौन्दर्यका अमर गायक महाकवि कालिदासले अभिज्ञान शाकुन्तलम्, रघुवंश र मालिकाग्नि आदि ग्रन्थहरूमा फागुलाई ऋतु उत्सवको उपाधिबाट अलङ्कृत गरेका छन् । संस्कृत साहित्यमा यसलाई वसन्तोत्सव अथवा मदनोत्सव पनि भनिन्छ । एकपल्ट कामदेव आफ्नो अप्रतिम रूपको घमण्ड तथा आफ्नो अजेय पञ्चवाणको अहङ्कारमा अन्धो भएर दोधारे मनस्थितिमा पुगेका थिए ।
वर्षाको देवता इन्द्रले उनलाई भगवान् शिवको समीप लगे । इन्द्रको सुझावमा पनि एउटा रहस्य लुकेको थियो । तारकासुर राक्षस आतङ्क मच्चाइ रहन्थे । तसर्थ यसको अन्त्यको उपाय आवश्यक थियो । उता पार्वती भगवान शङ्करकी अर्धाङ्गिनी बन्नका लागि आतुर थिइन् तर भगवान् शिव स्वयं तपस्यामा लीन हुनुहुन्थ्यो । भगवान् शङ्कर ध्यानमुद्रामा तपस्यालीन हुने स्थितिमा शिवपार्वतीको संयोग सम्भव थिएन । इन्द्रको आदेशमा कामदेवले भगवान् शिवमाथि आफ्नो पञ्चवाणले प्रहार गरिदिए ।
यस अजेय वाणको प्रहारबाट शिव आकुलव्याकुल भएपछि उनको आँखा खुल्न गयो । शिवको त्रिनेत्रको ज्वालामा कामदेवको शरीर जल्यो । तत्पपश्चात् कामदेवकी पत्नी रति भगवान् शिवसँग धेरै अनुनय विनय गर्न थालिन । शिव प्रसन्न भएपछि उनले कामदेवलाई अनङ्ग बनाइदिए । यसपश्चात् कामदेव सबै प्राणीको हृदयमा अवस्थित भए । सबै प्राणीलाई कामवासनाको दास बनाए । शिव स्वयं भने यसको अपवाद भए ।
तदुपरान्त बूढाबूढीमा पनि फागुमा कामवासनाको उद्रेक हुन थाल्यो भने युवायुवतीको के कुरा गर्ने ? वसन्त ऋतुमा यसै पनि यौनोद्रेकको आवेग अत्यधिक हुन्छ । यस प्रसङ्गबाट के प्रष्ट हुन जान्छ भने फागुको अवसरमा सबै प्राणी आमोदप्रमोद र हासपरिहासमा मग्नमस्त हुनु सर्वथा स्वाभाविक भइसक्यो । त्यस दिनदेखि फागुको रङ्गारङ लोकोत्सवमा के बच्चा के युवक र के बूढा सबै समान रूपमा सहभागी भएर आनन्दोत्सव मनाउन सहभागी हुन्छन् ।
यस्तै के बच्ची, के तरुणी र के बूढी सबै समान भएर परम्परामा रङ र अबिर ले सराबोर भएर उन्मुक्त भएर यस लोकोत्सवलाई सार्थकता र जीवन्तता प्रदान गर्छन् । वर्षभरिको दमित एवं कुण्ठित मनोग्रन्थीलाई फुकाउने अवसर पनि यो बेला पाउँछन् । अश्लील लोकगीत गाइन्छ । गालीगलौज गरिन्छ तर कसैले पनि यसलाई नराम्रो रूपमा लिँदैन ।
कुनै जमानामा हिरण्यकश्यपु नामको राजा राज्य गर्दथे । उनी आफूलाई सर्वश्रेष्ठ ठान्दथे । उनको एउटा भाइ र एउटी बहिनी थिइन् । भाइको नाम हिरण्याक्ष र बहिनीको नाम होलिका थियो । हिरण्यकश्यपुले शिवको कठोर आराधना गरेर खुसी तुल्याइ वरदान मागे । शिव आषुतोष भएकाले तुरुन्त वरदान दिइहाल्थे ।
त्यो वरदान के थियो भने म न जमिनमा मरुँ न आकाशमा, न म साँझमा मरुँ, न दिनमा, न घरको बाहिर न भित्र, न मानिसबाट मरुँ न जनावरबाट । यस्तो किसिमको वरदान प्राप्त गरेपछि उसले पृथ्वीमा उपद्रव एवं उत्पात मच्चाउन थाल्यो । मानिसहरू त्राहिमाम त्राहिमाम गर्न थाले । उसले आफ्नो राज्यमा घोषणा गर्न लाग्यो कि म नै भगवान् हुँ । हिरण्यकश्यपुको एउटा पुत्र थिए प्रल्हाद । उनी रामभक्त थिए । रामलाई नै सर्वशक्तिमान भगवान् मान्दथे ।
यसबाट हिरण्यकश्यपु असाध्यै अप्रसन्न भएर प्रह्लादलाई मार्ने अनेक योजना बनाए तर प्रल्हादलाई केही भएन । अन्त्यमा प्रह्लादलाई मार्नका लागि लौह स्तम्भमा कसेर बाँध्न लगाए । साँझको समय थियो हिरण्यकश्यपु तरवार झिकी प्रहार गर्नका लागि तयार थिए तर तत्क्षण लौहस्तम्भ भीषण गर्जनको साथ फाट्यो र त्यसबाट नृसिंहको विशाल मूर्ति निक्लियो । यसैलाई नृसिंहअवतारको संज्ञा दिइएको छ ।
नृसिंह भगवान्ले हिरण्यकश्यपुलाई आफ्नो काखमा राखेर हत्या गरिदिए । फलतः हिरण्यकश्यपुको अत्याचारबाट सबैलाई मुक्ति मिल्यो । सत्यको विजय भयो । त्यस समयदेखि मानिसहरू यस अवसरमा आनन्दोत्सवको रूपमा फागु चाड मनाउन प्रारम्भ गरे । फागु लोकोत्सव हिरण्यकश्यपुकी बहिनी होलिकासँग पनि सम्बन्धित भएकाले यसलाई होलिका दहन पनि भनिन्छ । हिरण्यकश्यपुको आतङ्क एवं अत्याचारबाट सबै प्राणी प्रताडित एवं पीडित थिए ।
उनको छोरा प्रह्लाद भगवान्को सच्चा भक्त थिए । उनले प्रह्लादलाई मार्नका लागि एउटा षड्यन्त्र रचे । होलिकाको काखमा राखेर प्रह्लादलाई मार्ने योजना बनाइयो तर प्रह्लाद भगवान्को आशीर्वाद र कृपाबाट बचे । होलिका चाहिँ आगोमा जलेर मरिन जबकि उसलाई वरदान प्राप्त थियो कि आगोबाट नमर्ने । भगवानको लीला अपरम्पार रहेछ भन्ने कुरो प्रष्ट हुन आउँछ । सत्यका पक्षधर र भगवान्का सच्चा भक्त प्रह्लादलाई केही हुँदैन र असत्यको प्रतिमूर्ति होलिका त्यसै आगोमा भष्म हुन्छे ।
त्यसैको सम्झनामा गरिने होलिका दहनमा सबै ग्रामीण ईष्र्या, द्वेष, मनोमालिन्य आदि दुर्भावना त्यागेर ढोल, डम्फू, झाल तथा मृदङ्ग र ताशा (एक किसिमको लोकबाजा) को स्वरमा लामो जुलुसमा गाँसिएर गीत गाउँदै सम्पूर्ण गाउँको प्रदक्षिणा गर्छन् । उपर्युक्त अवसरमा मैथिली लोकगीतहरू मिथिलाका महिलाहरूको मुखबाट मुखरित हुन थाल्दछ । यी लोकगीतहरूमा कोमलता, लयात्मकता र सङ्गीतात्मकता सहजै पाइन्छ । यसमा विभिन्न रागरागिनीको पनि समावेश भएकाले एकदम मीठो हुन्छ ।
माधुर्यले परिपूर्ण भाषामा गाइने सुरिलो र रसिलो गीतलाई मिथिलाञ्चलको लोकगीत भनिन्छ । नेपालको सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, रौतहट जिल्लामा फागुको लोकगीत आफ्नो स्वाभाविकता, सरलता, सर्वग्राह्यता एवं प्रेमपरकताका लागि प्रसिद्ध छ । धेरैजसो लोकगीतमा नायक कृष्ण र नायिका राधाको परस्पर फागु खेल्ने प्रसङ्गको उल्लेख पाइन्छ भने केही लोकगीतमा नायक शिव र नायिका गौरीको फागुसँग मुखरित भएको पाइन्छ ।
यमुनाको तटमा कदम्ब रूखमुनि कृष्ण र राधाले खेलेको फागुको मधुर सम्झना हाम्रो मनमस्तिष्कमा चिरनूतन एवं चिरशाश्वत रहनेछ । सम्पूर्ण मिथिलाञ्चलको केन्द्रस्थल जनकपुरमा फागुको लोकगीतबाट एउटा मधुर वातावरण एक महिनासम्म परिव्याप्त भएको पाइन्छ । जनकपुर मात्र होइन हरेक गल्ली र गोरेटोमा पनि लोकगीत प्रतिध्वनित भएको सुनिन्छ ।
अर्को फागुगीत पनि जनकपुरसित नै सम्बन्धित छ किनभने जनकपुर भगवान् रामको ससुराली र जगदजननी जानकीको माइती भएकाले यहाँ उनीहरूद्वारा खेलिएको फागुको मधुरतम लोकगीतको स्वर लहरी आज पनि प्रतिध्वनित हुन्छ । जगज्जननी जानकीको आँगनमा राम, भरत, लक्ष्मण शत्रुध्नले सीताको साथमा खेलेका रङ्गारङ होरीको भव्य परिदृश्य प्रष्ट छ ।
मिथिलाञ्चलमा मधुर फागु लोकगीतबाट मधुमासको आगमन प्रष्टै सुन्न सकिन्छ । वसन्त पञ्चमीदेखि फागु लोकगीतको गायन सुरु हुन्छ र फागुसम्म अनवरत, अविरल र अविछिन्न ढङ्गबाट गाउँका गोरेटोमा गुञ्जन थाल्छ । वसन्त ऋतु नै फागु लोकगीतबाट तरङ्गित एवं उमङ्गित भएको हुन्छ । सम्पूर्ण वातावरण गीत नाद, र रोमाञ्चले रमाइलो भएको हुन्छ । फागु लोकगीत लयात्मक र गीतात्मक भएकाले महिला र पुरुष दुवैले समान रुचिका साथ गाउने प्रचलन अद्यापि जीवन्त छ ।
मिथिलाञ्चलमा फागुका समानार्थी शब्दहरू होली, होरी, फाग र फगुआ प्रचलित छन् । फागुको आवसरमा खाने परिकार पनि विशेष किसिमको हुन्छ । यो बेला मासु, माछा, अण्डा र मदिरा प्रशस्त खाने परम्परा छ तर यी प्रकार मांशाहारीका लागि हुन् । शाकाहारीका लागि हलुवा, खीर, मिठाई, फलफूल र मालपुवा परिकार बनाइन्छ । नशालु पदार्थ भाङ, धतुरोलाई पिनेर दूध, किसमिस, अलैँची, काजु, नरिवल मिसाइएको पेय पदार्थ बनाउने चलन पनि छ ।
यस्ता पौष्टिक खाना खानुको पछाडि कामोत्तेजना बढोस् भन्ने मानिसहरूको अदम्य चाहना हुन्छ । प्रेमको देवता कामदेव आफ्नो सम्पूर्ण शौर्य र पराक्रमको साथ प्रत्येक मानिसमा कामवासनाको सञ्चारमा साथ दिन्छन्, अशरीर र अनङ्ग भए पनि । तसर्थ यस लोकोत्सवको एउटा पक्ष कामुक भावनालाई उत्तेजित पार्नु पनि हो भन्न सकिन्छ ।
फागु लोकोत्सव साम्प्रदायिक सद्भावको प्रतीक हो । यसमा सबै जाति, वर्ग र समुदाय तथा वर्णका मानिस समभावले सरिक हुन्छन् । जातजातिको कुनै बन्धन हुँदैन । धनी र गरिबको बीचमा कुनै भेदभाव हुँदैन । सबैसँग मिलेर हर्षोल्लासपूर्वक यो चाडलाई मनाउँछन् । प्रजातान्त्रिक मूल्य मान्यताको आधारमा यो लोकोत्सव सम्पूर्ण मिथिलाञ्चलमा प्रत्येक वर्ष बडो हर्ष र उल्लासको साथ मनाइने परम्परा आज पनि जीवित छ ।
यसको मूलमन्त्र पारस्पारिक मैत्री भावना हो । यसको सुखद उपलक्ष्यमा वर्षभरिको रिस, मतभिन्नता र मनोमालिन्य बिर्सेर एकआपसमा अँगालो मारेर यो चाड मनाइने प्रचलन अद्यापि जीवन्त छ । एकअर्काको टाउको र गलामा अबिर दलेर र जीउमा रङ छ्यापेर नमस्कार गरिन्छ, अँगालो मारिन्छ, दुई हृदय एकआपसमा गाँसिन्छ । यो नै सबैभन्दा महत्त्वपूर्ण र मौलिक पक्ष हो यस पर्वको ।
ठूलाबडाको खुट्टामा अबिर हालेर आशीर्वाद लिने आदर्श परम्परा पनि छ । यो सामाजिक र सांस्कृतिक लोकोत्सव साँघुरो भएर पारिवारिक पर्वको रूपमा सीमित हुँदै गएकाले संस्कृतिविद्हरू चिन्तित छन् । पारिवारिक परिधिमा सीमित एवं सङ्कुचित हुँदै गएको यस सामूहिक उत्सवलाई फेरि उन्मुक्त वातावरणमा ल्याउन निरन्तर प्रयास हुनुपर्दछ ।
समयक्रममा यस लोकोत्सवमा केही विकृति र विसङ्गति देखापर्न गएको छ जसलाई निराकरण गर्नु आवश्यक देखिन्छ । विकृति एवं विसङ्गतिलाई क्रमशः हटाउँदै लोकपरम्परा अनुसार यो चाड मनाउनु मनासिव देखिन्छ । प्राचीनकालमा यस चाडमा नैसर्गिक रङ र अबिरको प्रयोग हुन्थ्यो तर अचेल मिश्रित रङ र अबिरको खुलमखुला प्रयोग हुने हुनाले पनि खल्लो लाग्न थालेको छ ।
आजकाल रङमा स्प्रिट तथा अन्य रासायनिक तत्वहरूको मिश्रण हुन थालेको छ जुन शरीरका लागि हानिकारक छ । मानिसले माटो, गोबर, हिलो र कालोमोसोको प्रयोग पनि गर्न थालेका छन् जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यस्ता क्रियाकलाप र गतिविधि माथि प्रतिबन्ध लगाउनु अनिवार्य हुन्छ ।
Design : Aarush Creation
डा.रामदयाल राकेश ।