सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ट्राफिक व्यवस्थापन शुन्य

ट्राफिक प्रहरी असुलीतिर, सडक दुर्घटना उच्च, बढ्दै मानवीय क्षति

बाँकेमा ८ महिनामा ११५ वटा दुर्घटना भएका छन् भने ५१ जनाको मृत्यु भएको छ । अस्तव्यस्त ट्राफिक व्यवस्थापन र ट्राफिक प्रहरी असुलीतिर केन्द्रीत हुन थालेपछि सवारी दुर्घटना बढेको छ ।

२०७८ फागुन ८ गते प्रहरी जवान कविता बुढाथोकी कोहलपुरस्थित चौराहमा ड्यूटीमा थिइन् । उनी इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत थिइन् । ड्यूटीमै रहेको अवस्थामा पूर्व–पश्चिम राजमार्ग अन्तरगत बाँकेको सम्शेरगन्जबाट तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भई उनीमाथि पल्टियो र उनको घटनास्थलमै मृत्यु भयो ।

तीव्र गतिमा आएको ट्रकलाई नियन्त्रणमा लिन खोज्दा पल्टिदा च्यापिएर उनको मृत्य भएको थियो । ट्रक अनियन्त्रित भई पल्टिदा साथमै रहेकी प्रहरी हवल्दार बासमती चौधरीले भागेर ज्यान जोगाइन् । २०७८ फागुन २३ गते प्रहरी हवल्दार भुपेन्द्रबहादुर शाही नेपालगन्ज–कोहलपुर सडकखण्ड अन्तरगत राँझा चोकमा ड्यूटीमा थिए ।

नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ड्यूटीमै रहेको अवस्थामा ठक्कर दिँदा उनको पनि घटनास्थलमै मृत्यु भयो । उनीसँगै ड्यूटीमा रहेका प्रहरी जवान नरेश चौधरी घाइते भए । उनको नेपालगन्जस्थित मेडिकल कलेज, शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

ती दुई घटना सेलाउन नपाउँदै फागुन २४ गते राप्तीसोनारी गाउँपालिका–२ जिरो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा प्रहरी जवान हिरालाल थारुको ज्यान गयो । घर विदामा आउँदै गर्दा उनी सवार मोटरसाइकललाई स्कारपियोले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो । उनी दाङस्थित इलाका प्रहरी कार्यालय बनगईमा कार्यरत थिए ।

यी तीन घटना प्रतिनिधिमूलक मात्रै हुन् । पछिल्लो समय बाँकेमा सवारी दुर्घटना भई मानवीय क्षति हुने क्रम बढ्दो छ । बाँकेमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त र शुन्य जस्तै छ । बाँकेका मुख्य सडकमा विहान र दिउँसोको समयमा ट्राफिक प्रहरी देख्नै मुस्किल हुन्छ । उनीहरु दिनभर आ–आफ्नै सेटिङ्गमा ब्यस्त हुने गरेको ट्राफिक प्रहरी स्रोत बताउँछ ।

बाँकेमा सामान्य ट्राफिक नियमसमेत पालना नहुँदा बाँकेमा सवारी दुर्घटना बढिरहेको छ । ट्राफिक प्रहरी भने ट्राफिक नियम विपरित चल्ने सवारी साधनलाई नियमित आम्दानीको स्रोत बनाइरहेको छ । ट्राफिक नियम पालना गराउनेतर्फ बेवास्ता गर्दै ट्राफिक प्रहरी असुलीमा मात्रै केन्द्रीत भएपछि बाँकेमा सवारी दुर्घटना तीब्ररुपमा बढिरहेका छन् ।

सेटिङमै राजस्व असुल्दै आएको बाँके ट्राफिक प्रहरीले ट्राफिक नियम कार्यान्वयनतर्फ ध्यान नदिँदा सडक दुर्घटना बढिरहेको ट्राफिक प्रहरी स्रोतको भनाई छ । सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्दा त्यसको न्यूनीकरणमा भन्दा रकम असुल्नेतिर मात्र ट्राफिकको ध्यान गएको आम बाकेबासीको आरोप छ ।

‘सवारी चालक लाइसेन्स नहुँदा, हेलमेट नलाउँदा, ब्लुबुक नहुँदा, क्षमताभन्दा बढी सामान तथा मानिस बोक्दा ट्राफिक प्रहरीलाई १००–२०० रकम दिएपछि पुग्छ,’ एक जना मोटरसाइकल चालकले भने । ट्राफिक प्रहरी कार्यालयका चेकपोष्ट भन्दा जङ्गल र एकान्तमा गएर चेकिङ्ग गरेर ट्राफिक प्रहरी रकम असुलीमा केन्द्रीत हुने गरेको आरोप छ ।

ट्राफिक नियम पालना गराउनुको साटो बाँकेका मुख्य तथा सहायक राजमार्गका विभिन्न जङ्गल र एकान्तमा बसेर चेकिङ्गका नाममा ट्राफिक प्रहरीले रकम असुल गर्ने गरेको आम जनगुनासो पनि बढिरहेको छ । जसका कारण दिनप्रतिदिन बाँकेमा सवारी दुर्घटना बढ्नुका साथै धनजनको क्षति भइरहेको छ ।

पूर्वपश्चिम राजमार्गका सम्झना, चप्परगौडी, ढकेरी, सम्शेरगन्ज, अगैया र कुसुम, रत्न राजमार्गको नेपालगन्ज, गनापुर, चिसापानी, बसपार्क, फुलटेक्रा लगायतका दर्जनौ स्थानमा ट्राफिक प्रहरी सवारी साधन कुरेर बस्ने गरेका छन् । ‘कति बेला मुर्गा भेटिन्छ’ भनेर ‘पासो’ थापेर बस्ने गरेको एक जना सवारी चालकले सत्यपाटीलाई बताए ।

दुर्घटना न्यूनीकरण गर्नुभन्दा रकम असुली ट्राफिक प्रहरीको प्राथमिकतामा परेपछि सवारी दुर्घटनासँगै पछिल्लो समयमा बाँकेका मुख्य शहर क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बनिरहेको छ । ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनभन्दा रकम असुलीका केन्द्रीत रहेको प्रष्ट हुन्छ ।

बाँकेमा ट्राफिक प्रहरीले सवारी धनीहरुलाई अनावश्यक दुःख दिएर विभिन्न बाहना बनाएर पैसा उठाउने गरेको आरोप लाग्ने गरेको छ । दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना फैलाउनुको साटो सानातिना कमजोरी खोज्दै जरिवानाको बाहाना बनाएर रकम उठाउनेतर्फ केन्द्रीत भएको सम्वद्धहरु बताउँछन् ।

ट्राफिक प्रहरीको पहिलो काम ट्राफिक नियम पालना गराउनु हो । योसँगै चालकले मापसे गरे÷नगरेको, सीट बेल्ट बाँधे÷नबाँधेको, हेल्मेट प्रयोग गरे÷नगरेको, सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोके÷नबोकेको लगायतका विषयमा ट्राफिक सम्बन्धी भएका ऐन, नियम कार्यान्वयन गरी सवारी दुर्घटना न्यूनीकरण न्यूनीकरण गर्नु हो ।

सवारी साधनको चेकजाँच र नियमन गरी सवारी दुर्घटना न्यूनीकरण गर्न राज्यले लाखौं रुपैयाँ खर्च गरेर तयार गरेको जनशक्ति राज्यकै खिलाफमा अवैध धन्दातर्फ उन्मूख हुँदै ट्राफिक नियम पालना गराउने ट्राफिक प्रहरी नै गलत धन्दामा लागेपछि सवारी दुर्घटनालाई ट्राफिक प्रहरीले नै ‘प्रश्रय’ दिइरहेको प्रमाणीत हुन्छ ।

‘ट्राफिक नियम कार्यन्वयन गराउनुको सट्टा ओभरलोड गाडी, हेल्मेट नलगाएका मोटरसाइकल चालक लगायतका ट्राफिक नियम कसले उल्लंघन गरेको छ भन्दै हेर्दै यहाँका ट्राफिकको दिन बित्ने गरेको छ,’ एक जना सवारी चालकले नाम नछाप्ने सर्तमा भने, ‘उहाँहरु पैसा असुल्नमा मात्रै व्यस्त हुनुहुन्छ ।’

ट्राफिक प्रहरीले असुल्ने धन्दा मात्र चलाएकोले बाँकेमा ट्राफिक व्यवस्थापनको दिगो समस्याको सामधान हुन नसकेको उनले आरोप छ । छतमा धेरै लोड हाल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, भाडा धेरै लिने लगायतका विषयमा ट्राफिक प्रहरीलाई कुनै वास्ता नभएको सवारी चालकहरु बताउँछन् ।

‘बिभिन्न बहानामा असुली गरिरहेकै हुन्छन्, धेरै पटक त म आफैले दुख पाएको छु, अनावश्यकरुपमा जरिवाना तिरेको छु,’ कोहलपुर–८ का पुर्णबहादुर शाहीले भने, ‘ट्राफिक व्यवस्थापनमा भन्दा जरिवाना काट्ने र पैसा असुल्ने नियतले मात्र सडकमा ट्राफिक चेकिङ हुन्छ । ट्राफिक प्रहरी सर्वसाधारणलाई दुख दिएर पैसा असुल्ने काममा मात्रै ब्यस्त छ ।’

आठ महिनामा ५१ को मृत्यु, ११५ दुर्घटना

बाँकेमा चालू आर्थिक बर्षको आठ महिनामा ११५ सडक दुर्घटनामा ५१ जनाको मृत्यू भएको बताए । दुर्घटनामा ६९ जना घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार रत्न राजमार्ग अन्तरगत नेपालगन्ज–कोहलपुर–देउराली सडक खण्डमा ३५ सवारी दुर्घटना भई २४ जनाको ज्यान गुमाए, ३५ जना घाइते भएका छन् ।

ती दुर्घटनामा परि ३५ जना घाइते भए । कार्यालयका अनुसार मंसिरमा सबैभन्दा धेरै २१ वटा दुर्घटना भएका छन् । उक्त दुर्घटनामा ९ जनाको मृत्यु र १३ घाइते भए । साउन महिनामा ८ वटा सवारी दुर्घटनामा चारले ज्यान गुमाउँदा ६ जना घाइते भए भने भदौंमा १३ सवारी दुर्घटनामा ५ जनाको मृत्यु र ६ जनाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार असोज र कात्तिकमा १९–१९ वटा सडक दुर्घटना भएका छन् । असोजमा १२ जनाले ज्यान गुमाउँदा ६ यात्रु घाइते भएका छन् । कात्तिकमा तीन जनाको मृत्यु र १२ जना घाइते भएका छन् भने पुष्सा १५ वटा सडक दुर्घटनामा ८ जनाको मृत्यु र ९ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

कार्यालयले माघमा ८ र फागुनमा १२ वटा सडक दुर्घटना भएको जनाएको छ । कार्याल्यका अनुसार माघमा ५ को मृत्यु र २ जना घाइते भएका छन् भने फागुनमा ५ जनाको मृत्यु र १५ जना घाइते भएका छन् । अस्तव्यस्त ट्राफिक व्यवस्थापन र ट्राफिक प्रहरी असुलीतिर केन्द्रीत हुन थालेपछि सवारी दुर्घटना बढेको निष्कर्ष छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार ०९:५१