सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय निर्वाचनलाई लक्षित गर्दै गाउँगाउँ छिर्दै जसपा

वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) हरेक गाउँ पस्ने भएको छ । स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन जसपाले यस्तो अभियान सञ्चालन गर्न लागेको हो । सोमबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन पार्टीले यस्तो अभियान सुरु गर्ने जनाएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्न निर्देशन दिएका छन् । अध्यक्ष यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

पार्टीका प्रत्येक केन्द्रीय सदस्य आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान शुरु लागिएको अध्यक्ष यादवले जानकारी दिए । उनले गाउँ, नगर, वडा लगायतका पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

‘प्रत्येक केन्द्रीय सदस्यहरु एउटा पालिकामा, नगर, महानगरमा निर्वाचन अभियन्ताको रुपमा निर्वाचन अभियानलाई सञ्चालन गर्न संघीय परिषद्का साथीहरु, प्रदेशका साथीहरु, जिल्लाका साथीहरु, गाउँ, नगर, वडा लगायतका पार्टीका विभिन्न तहमा काम गर्ने साथीहरुसँग समन्वय गरेर अभियान चलाउनेछौं,’ उनले भने, ‘यसरी गयौँ भने प्रत्येक पालिकामा प्रभावकारी हुन्छौँ ।’

यो दुई महिना वैशाख ३० गतेसम्मका लागि यो अभियान गर्ने उनले बताए । त्यस्तै पार्टीका केन्द्रीय सदस्य अर्जुन थापाले पार्टीको कार्यसमितिको बैठकले पारित गरेको निर्वाचन निर्देशिकाअनुसार आगामी स्थानीय निर्वाचनमा सहभागी हुने बताए ।

उनले आजको बैठकमा नेताहरुले पार्टीको संगठनात्मक कुराहरुमा आफ्नो धारणा राखिरहेको बताए । केन्द्रीय सदस्य थापाले आगामी स्थानीय निर्वाचनमा केन्द्रिय प्रतिनिधिहरुले जिम्मेवारी बोधका साथ निर्वाचनमा आफ्नो कार्यक्षेत्रमा जित दिलाउने अठोटका साथ जाने कुरामा छलफल भइरहेको बताए ।

जसपाको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीले बनाएको निर्वाचन निर्देशिका र निर्वाचनमा जाँदा केन्द्रीय सदस्यले इलेक्शन फाइट गर्दा के के गर्नुपर्छ भन्ने आचारसंहितादेखि लिएर निर्वाचन प्रक्रियामा होमिँदा अपनाउनुपर्ने सावधानीका साथै निर्वाचन आयोगको निर्देशिकालाई कसरी पालन गर्ने भन्नेबारे छलफल गरेको थियो ।

‘आगामी स्थानीय निर्वाचनमा अन्य राजनीतिक दलसँग कसरी तालमेल गर्ने भन्ने हकमा हामीले छलफल गरेका थियौँ र प्रश्ताव पारित गर्यौं,’ उनले भने, ‘पार्टीको संगठनात्मक बहस गर्दै सबै ५०५ जना केन्द्रीय सदस्यहरुलाई स्थानीय निर्वाचनमा जिम्मेवारी दिने कार्य भइरहेको छ ।’

बैठकमा केन्द्रीय प्रतिनिधिहरुले कसरी आफ्नो जिम्मेवारीलाई पूरा गर्ने भन्ने बारेमा छलफल भएको थियो । पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर हरेक गाउँपालिकामा कम्तीमा एक जना केन्द्रीय सदस्यलाई खटाउने योजना रहेको पनि बताए ।

‘स्थानीय चुनावको लागि हामी सबै केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्दछौँ,’ उनले भने, ‘७५३ वटा नै गाउँपालिका र नगरपालिकाहरुलाई लक्षित गरेर कम्तिमा एकजना केन्द्रीय सदस्यलाई त्यहाँ खटाउने योजना बनाइरहेका छौँ ।’ जसपालाई देशको बलियो लोकतान्त्रिक प्रगतिशील विकल्पको रुपमा हिमाल, पहाड, तराई, मधेस जोड्न सक्ने राजनीतिक शक्तिको रुपमा विकास गर्नका लागि अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १९:४४