सूचनाको शक्ति - The Power Of Information

        

युक्रेन युद्धको प्रभाव

इतिहासकै ठूलो दक्ष जनशक्ति पलायनको सामना गर्दै रुस

२३ वर्षीय राजनीतिका ग्राजुएट उनी भन्छन्, ‘युक्रेनीहरुलाई साथ दिन म आफूले सक्ने सबै प्रयास गर्नेछु । म यसलाई मेरो जिम्मेवारी ठान्दछु ।’

रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि २ लाख बढी सर्वसाधारणले देश छाडेर गएको रुसी अर्थविद्हरुको रिपोर्ट छ । यसमा अधिकांश दक्ष प्राविधिक उद्योगका प्रोफेसनलहरु भएको बताइएको छ । जसकारण रुसले आगामी दिनहरुमा ठूलोस्तरको ‘ब्रेन ड्रेन’ अर्थात् अधिकतम दक्ष जनशक्ति पलायन हुने समस्याको सामना गर्नुपर्नेछ ।

उनीहरु सबै रुसी नीतिसँग असहमत रहेको तर त्यसको विरोध गरे हिंसात्मक रुपम दबाइने प्रयास हुने डरकै कारण आफूहरु देश छाडेर जान लागेको भिडियो गेम निर्माता इगोर बताउँछन् । उनले भने, ‘यहाँ हामीले विरोध जनाउने एउटै तरिका भनेको देश छाड्नु हो र आफूसँगै आफ्नो सबै क्षमता र पैसा पनि लैजानु हो ।’

युरोपियन युनियन, अमेरिका, बेलायत, क्यानडालगायत दर्जनौँ देशहरुले रुसी उडानमाथि प्रतिबन्ध लगाएका छन् । त्यसैले यतिबेला रुसी नागरिकहरु टर्की, मध्य एसिया, दक्षिण कोकेसस, अर्मेनिया लगायत भिसाको आवश्यकता नपर्ने अनुमति प्राप्त देशहरुमा भागिरहेका छन् । हाल २५ हजार बढी रुसी नागरिक जर्जिया विमानस्थलमा अवतरण गरिसकेका छन् ।

तिनै मध्येका एक हुन् येभगेनी ल्यामिन जसले पुटिनको शाषणविरुद्ध रहन आफूले देश छाड्ने निर्णय गरेको बताए । २३ वर्षीय राजनीतिका ग्राजुएट उनी भन्छन्, ‘युक्रेनीहरुलाई साथ दिन म आफूले सक्ने सबै प्रयास गर्नेछु । म यसलाई मेरो जिम्मेवारी ठान्दछु ।’

यसरी उनीजस्ता हजारौँ यतिबेला जर्जियाको राजधानीमा सुटकेस लिएर र कतिले आफ्नो घरपालुवा जीवसमेत लिएर सडकमा यताउती भौतारिरहेको बताइएको छ । त्यहाँ सबै प्रमुख शहरहरुमा बस्ने ठाउँ पाउनै कठिन भइसकेको बताइएको छ । यता बेलारुसका नागरिकहरु पनि देश छाड्न थालिसकेका छन् ।

जसकारण इस्तानबुल र अर्मेनियाको राजधानी येरेभानमा अहिले अन्तिम मिनेटको फ्लाइटको शुल्क आकाशिएको अवस्था छ । आफ्नो देशले धोका दिएको महसुस गरेपछि देश छाड्ने निर्णय गरेकी अन्या भन्छिन्, ‘इस्तानबुलको ‘वान–वे’ फ्लाइटका लागि म र मेरा पतिको एक महिनाको पूरै आम्दानी जोड्दा पनि पुगेन ।’

हाल रुसमा युक्रेनको समर्थन गर्ने जोकोहीलाई पनि २० वर्षसम्मको जेल सजायँ तोकिएको छ । त्यसैले आफू पनि यसको टार्गेट हुने डरले देश छाड्न लागेको उनले बताइन् । अर्कोतर्फ धेरै ठाउँमा रुसी या बेलारुसका मानिसहरुलाई सेवा दिन अस्वीकार गर्ने गरिएको पनि पाइएको छ ।

रुसमा एप्पल पेको प्रयोग गर्न नपाएकाले उनीहरु विदेश आएको र हालको संकटजन्य अवस्था बिदा मनाउने कुनै समय नभएको भन्दै आफ्ना दुष्ट सरकारको विरोध गर भनेर होटल मालिकहरुले फर्काउने गरेको रिपोर्ट गरिएको छ ।

बेलारुसको राजधानीमा आइटी विशेषज्ञका रुपमा काम गर्दै आएका क्रिस्टिना र निकिताले आफूहरुलाई अन्टरप्रेन्योरका रुपमा दर्ता गराएका छन् जसले उनीहरुलाई जर्जियन बैंक अकाउन्ट खोल्न अनुमति दिलाउनेछ ।

उनीहरु भन्छन्, ‘हामी हाम्रो सरकारको विपक्षमा छौँ त्यसैकारण देश छाडेर भागेका हौँ । हामी केबल सुरक्षित रहन चाहन्छौँ । तर यहाँ आएर पनि राष्ट्रियताका कारण हामीसँग दुव्र्यवहार भइराखेको छ । त्यसैले हामीले आफ्नो पहिचान लुकाउनुपर्ने अवस्था छ । मानिसहरुले म कहाँबाट आएको भनेर सोध्दा मलाई एकदमै असहज महसुस हुन्छ ।’

युद्ध सुरु भएदेखि जर्जियालाई युक्रेनको सबैभन्दा ठूलो समर्थक मानिएको छ । हालैको एक सर्वेक्षणमा त्यहाँका ८७ प्रतिशत जनताले युक्रेन युद्धलाई आफ्नै युद्ध समान मानिरहेको पाइएको छ । रुसले जर्जियामाथि आक्रमण गरेको १४ वर्ष पनि पूरा नभएको हुँदा धेरैले यो विषयमा एकदम असहज महसुस गर्ने गरेको पनि बताउँछन् ।

किनकी यसमा पुटिनलाई विदेशिने रुसी नागरिकहरुलाई सुरक्षाको आवश्यकता पर्ने भन्दै आफ्नो फौज पठाउने बाहाना मिल्न सक्नेबारे धेरैलाई चिन्ता छ । २००८ मा जर्जियाको असेटिया क्षेत्रमा पुटिनले यसैगरी कब्जाको प्रयास गरेका थिए । अहिलेसम्म पनि जर्जियन भूभागको २० प्रतिशत रुसी सेनाकै अधिनमा छ ।

तर प्राविधिक अन्टरप्रेन्योर लेभ कालाशिनिकोभका अनुसार यसले अन्तत जर्जियालाई धेरै फाइदा हुनेछ किनकी यो आधुनिक रुसी इतिहासकै सबैभन्दा ठूलो ‘ब्रेनड्रेन’ हुनेछ । उनले टेलिग्राम मेसेजिङ एपमा आफूजस्तै प्राविधिक विज्ञहरुको एउटा समुह बनाएका छन् । पहिले त्यसमा सय जना मात्र रहेको तर अहिले चार हजार बढी सदस्य पुगिसकेको उनी बताउँछन् ।

यसमा उनीहरुले बस्ने ठाउँ कहाँ खोज्ने, बैंक अकाउन्ट कसरी खोल्ने अनि सार्वजानिक स्थलमा रुसी भाषा बोल्नु कत्तिको सुरक्षित हुनेछ भन्नेबारे छलफल गर्ने गरेको बताए । जस्तै यभेजेनी लायमिनले जर्जियन भाषा पढ्न सुरु गरिसकेका छन् । उनी भन्छन्, ‘म पुटिनको विरुद्धमा छु म युद्धको विरुद्धमा छु । मैले अझैसम्म पनि रुसी बैंक अकाउन्टबाट आफ्नो पैसा निकाल्न सकेको छैन तर यो युक्रेनीहरुले भोग्नु परिरहेको संकटका अगाडि केही पनि होइन ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १०:४३