सूचनाको शक्ति - The Power Of Information

        

सभापति देउवाको विवादास्पद कार्य नै कांग्रेसको पराजय : प्रकाशमान सिंह

बाँके । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाँके पुगेर पनि पार्टी सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिंहले १३ औं महाधिवेशनपछि देउवा पार्टी विधानविपरीत संलग्न भएको आरोप लगाए । देउवाले एकपछि अर्को विवादास्पद कार्य गरेकै कारण कांग्रेसले निर्वाचनमा पराजय भोग्नुपरेको उनले बताए ।
सर्वोच्चका प्रधानन्यायाधीश र प्रहरी संगठन चलाउने तथा चितवनमा माओवादीलाई मेयरमा जिताउने जस्ता कार्यमा पार्टीभित्र छलफल नै नभएको सिंहले बताए । पार्टी सभापतिले आफू नजिकका नेताहरुलाई मात्रै बोकेर हिँडेका कारण गौरवशाली इतिहास बोकेको पार्टी निर्वाचनमा पछाडि सिंहले टिप्पणी गरे । ‘महाधिवेशन भएकै छ, नेता चुनिएका छन् भन्ने तपाईंहरुलाई लागेको होला,’ सिंहले भने, ‘त्यो भएको छ । तर पार्टी विचार, सिद्धान्त र विधानविपरीत हिँडेको कुरा पनि उत्तिकै साँचो हो ।’
पार्टी सभापतिले १३औं महाधिवेशनपछि विभिन्न विभागमा किन नियुक्ति नगरेको भन्दै उनले प्रश्न गरे। हालसम्म पनि पार्टीका ४३ वटा विभाग तथा पार्टी पदाधिकारी किन प्राप्त भएन भन्ने प्रश्नको उत्तरमात्र आफूले खोजेको सिंहको भनाइ छ । सुर्खेत, जुम्ला र नेपालगन्ज सबैतिरबाट पार्टी सुधारको आवाज उठेको भन्दै उनले अब नेतृत्वमा रहेको व्यवहार परिवर्तन हुनुपर्नेमा जोड दिए ।
पार्टी सभापतिलाई दबाब दिएर काम गराउनुपर्नेमा कार्यकर्ताले सक्रियता नलिएकोमा पनि उनले चिन्ता व्यक्त गरेका छन् । ‘पार्टी विधान अनुसार चल्नुपर्दछ,’ सिंहले भने, ‘विगतमा गठन भएका संसदीय समिति, कार्यसम्पादन र निर्वाचनमा उम्मेदवार छान्ने समिति समेत विधान अनुसार थिए त ?’ महाधिवेशनपछि पार्टीमा कुनै पनि काम सभापतिबाट नभएको उनले आलोचना गरे ।
‘जनतासँग पुग्ने र प्रक्षिण गराउने समेत काम भएका छैनन्,’ उनले भने, ‘नेपाली कांग्रेसको चुनौती भनेको हाल जारी लथालिंग अवस्थाको अन्त्य गर्नु हो ।’ जनताले पत्याएको पार्टीमा किन यसरी दुर्दशा किन भयो भनेर गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । तीन तहको निर्वाचन सम्पन्न हुनुमा मुख्य भूमिका पार्टीकै रहेकै उनले दाबी गरे । पार्टी नेताहरुलाई जोगाउने भन्दा पार्टीलाई जोगाउनुपर्ने अवस्था सिर्जना भएको सिंहले टिप्पणी गरे ।
‘पार्टीलाई जोगाउनु भनेको सिद्धान्त र विगतको इतिहास जोगाउनु हो,’ उनले भने, ‘नेता जोगाउन खोज्दा पार्टी रहँदैन त्यसको ख्याल गर्ने समय आएको छ ।’ यसैबीच नेता सिंहले इयूको प्रतिवेदन संविधानको भावना र मर्म विपरीत भएको टिप्पणी गरेका छन् । निर्वाचनका लागि पर्यवेक्षणका लागि आएको युरोपेली युनियनले संविधानको व्यवस्थामा गरेको टिप्पणीमा कांग्रेको आपत्ति रहेको उनले बताए । केन्द्रीय समिति बैठकले यसबारे ठोस धारणा सार्वजनिक गर्ने भन्दै उनले आन्तरिक हस्तक्षेप गर्ने कुरा नेपाली कांग्रेसले सहन नसक्ने बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०७:४०