वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने निर्णय गरेका छन् । बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले निक्षेपमा फागुनकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरिएको जानकारी दिए ।
बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिनायता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् ।
फागुन महिनामा सहज भए चैतका लागि ब्याजदर घटाउने बैंकर्सहरुको भनाइ थियो । तर तरलता समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले भद्र सहमति गरेका हुन् । ब्याजदर घटाउने वा बढाउने भन्ने विषयमा शुक्रबार साँझ २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठक बसेको थियो ।
बैठकमा ब्याजदर बढाउने वा घटाउने विषयमा सीईओहरु विभाजित देखिएका थिए । अधिकांश बैंकर्सहरुले ब्याजदर घटाउने होइन बढाउनु पर्ने धारणा राखेका थिए । तर ब्याजदर बढाएरमात्रै निक्षेप नआउने भन्दै आइतबार ब्याजदर स्थिर राख्ने निणर्य संघले गरेको हो ।
निक्षेपको ब्याजदर बढाउँदा कर्जाको ब्याजदरमा समेत असर गर्छ । हरेक तीन–तीन महिनामा बैंकहरुले आधार दर सार्वजनिक गर्नुपर्ने नियम छ । निक्षेपको ब्याजदर बढ्दा आधार दर बढ्ने हुन्छ, जसको प्रत्यक्ष असर ऋणको ब्याजदरमा समेत पर्छ ।
सत्यपाटी । काठमाडौं ।