सूचनाको शक्ति - The Power Of Information

        

रुसले फेसबुकलाई आतंकवादी संगठन घोषित गर्ने

युक्रेनमाथि आक्रमण गरिरहेको रुसी अधिकारीहरुले सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटालाई आतंकवादी संगठन घोषित गर्न आह्वान गरेका छन् । रुसको अभियोजकको कार्यालयले मेटालाई ‘आतंकवादी संगठन’ घोषणा गर्न आह्वान गरेको हो ।

मेटाले राष्ट्रपति पुटिनविरुद्ध हिंसात्मक कमेन्ट गर्न छुट दिने नीति ल्याएको समाचार सार्वजनिक भएसँगै रुसमा मेटालाई आतंकवादी संगठनको रुपमा घोषणा गर्न आह्वान गरिएको हो । मेटाले रुसी नागरिकको हत्या गरिनुपर्ने किसिमका ‘गैरकानूनी’ पोष्टलाई छुट दिने भएकाले यसलाई आतंकवादी संगठनको दर्जा दिइनुपर्ने अभियोजकको कार्यालयको भनाइ छ ।

रुसले यसअघि नै फेसबुकमाथि प्रतिबन्ध लगाइसकेको छ भने मेटाविरुद्ध आपराधिक अनुसन्धान शुरु गरेको रुसी अभियोजकको कार्यालयले जनाएको छ । यसबाहेक आगामी सोमबारदेखि मुलुकमा इन्स्टाग्राममा पनि प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १६:३४