सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँके–बर्दिया निकुञ्जमा बाघ गणना अन्तिम चरणमा

फाइल तस्वीर

बाँके–बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ गणनाको काम अन्तिम चरणमा पुगेको छ । गत मङ्सिर २९ गते बर्दिया राष्ट्रिय निकुञ्जबाट शुरु गरिएको बाघ गणना बाँके निकुञ्जमा पुगेर सम्पन्न हुने चरणमा पुगेको हो ।

‘ए बी सी र डी’ गरेर चार वटा क्षेत्र बनाई सुरु गरिएको बाघ गणना हाल आएर ‘डी’ क्षेत्रमा भइरहेकाले सो क्षेत्रको सकिएपछि गणना सम्पन्न हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए ।

उनले ‘डी’ क्षेत्रमा पर्ने बाँके राष्ट्रिय निकुञ्ज र राप्तीपारिको दाङसँग सीमा जोडिएको क्षेत्रमा अहिले बाघ गणनाका लागि प्राविधिक खटिएको जनाउँदै केही दिनमै सकिने बताए । ‘अहिले बाँकेको पूर्वी क्षेत्रमा गणनाको काम भइरहेको छ,’ उनले भने, ‘बढीमा दुई÷तीन दिनमै काम सम्पन्न हुन्छ । देशका अन्य क्षेत्रमा गणनाको काम सम्पन्न भइसक्यो ।’

बाघ गणनाका लागि बाँके–बर्दिया निकुञ्ज क्षेत्रलाई चार वटा क्षेत्रमा छुट्याइएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जलाई ‘ए’ र ‘बी’ क्षेत्र तथा ‘सी’ क्षेत्रमा बर्दिया र बाँके निकुञ्जको केही भागलाई समेटिएको थियो । ‘डी’ क्षेत्रमा भने पूरै बाँके राष्ट्रिय निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्रअन्तर्गतको भू–भाग समेटिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले गणनाका लागि विभिन्न ठाउँमा जडान गरिएको क्यामराले पाटेबाघका थुप्रै तस्वीर खिचेको देखिएको बताए । ‘हामीले नियाल्दा बाघका तस्वीर क्याप्चर भएका थुप्रै फोटो देखिएका छन्,’ उनले भने, ‘गणनाको अवधि सकिएपछि ती फोटोबारे विश्लेषण गरी बाघको सङ्ख्या यकिन गर्नेछौँ ।’

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा.रविन कडरियाले यस क्षेत्रको बाघ गणनाको काम अन्तिम चरणमा रहेको जानकारी दिए । उनले विगतको तुलनामा बाघको सङ्ख्या वृद्धि भएको पाइएको पनि बताए । पछिल्लो समयमा बाघ र मानवबीच द्वन्द्व बढेको छ ।

त्यसलाई रोक्न बाघको यकिन सङ्ख्या थाहा भएपछि निकुञ्ज विस्तार गर्ने विषयमा पनि विचार गरिने बताए । यसअघि गरिएको गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ र बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ रहेका थिए । तर, अहिले यो सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको सङ्केत प्राप्त भएको गणनामा सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १०:४२