सूचनाको शक्ति - The Power Of Information

        

दार्चुलामा भारतीय पक्षको ज्यादती कायमै

दार्चुला । सदरमुकाम खलंगास्थित महाकाली नदीमा भारतीय पक्षले पक्की तटबन्ध निर्माणको कार्यलाई अगाडि बढाइरहेको छ । नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतीय पक्षले एकतर्फी तवरले महाकालीमा पक्की तटबन्ध निर्माणको कार्य गरिरहेको हो ।

एकपक्षीय ढंगले महाकाली नदी क्षेत्रमा भारतको ज्यादती बढेको भन्दै सिरबगडका स्थानीयले विरोध जनाउन थालेका छन् । भारतीय पक्षले नेपालतर्फ नदीको धार फर्काएपछि स्थानीयबीच विवाद सुरु भएको हो ।

महाकाली नदीको धार सदरमुकाम खलंगातिर धकेलिने गरी भारतले महाकाली नगरपालिका–४ स्थित नदीमा स्काभेटर चलाएपछि ढुंगा हानाहान भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनले भने, ‘नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले तटबन्ध निर्माण गरिहेको छ ।’

भारतीय पक्षले पुरानो तटबन्धसँगै महाकाली नदीमा ८ देखि १० मिटर चौडाइ र १० मिटर उचाइको तटबन्ध निर्माण गरिरहेको स्थानीयले बताएका छन्। अन्तर्राष्ट्रिय सन्धि–सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाइँदैन ।

तर दार्चुलामा भने नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुने किसिमले आफूखुसी पक्की तटबन्ध निर्माण गरिरहेको छ । जसको स्थानीयहरुले विरोध जनाउँदै आएका छन् । अहिले उक्त क्षेत्रमा जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक माधव विश्वकर्माको नेतृत्वमा प्रहरी परिचालन गरेको छ ।

भारतले पनि एक्स्काभेटर आफ्नोतिर लगेर काम रोकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सीमा रक्षामा तैनाथ प्रहरीलाई भने कुनै पनि जानकारी छैन । सुरक्षा निकयका घुमवाहरुलाइ पनि जानकारी नभएको स्थानीयले बताएका छन् । भारतीय पक्षले कोही नभएको मौका छोपी महाकाली नदीमाथि स्काभेटर चलाइ रहेको छ ।

तर दार्चुलामा सुरक्षा निकायका जनपद प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र अनुसन्धानका घुमवाहरुलाई पनि कुनै जानकारी नभएको स्थानीय जमन सिंह मन्यालले बताए । उनले भने, ‘हाम्रो सुरक्षा निकायका प्रमुखहरु के हेरेर बसेका छन् थाह छैन जब भारतले काम सक्छ त्यतिबेला क्यामेरा लिएर फोटो खिच्ने काम मात्रै हुने गरेको छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार ०७:३३