सूचनाको शक्ति - The Power Of Information

        

‘सुटुक्क’ बझाङ पुगेर फर्किएको हेलिकप्टर पश्चिम सेती परियोजनाको बारेमा अवलोकन गर्न आएको प्रशासनको भनाई

बझाङ । बझाङको थलारा गाउँपालिका–९ छालागडामा भारतीय नागरिक सवार हेलिकप्टर अवतरण भएको छ । कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा अवतरण भएको थियो ।

स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केका छन् । आफुहरुलाई हेलिकप्टर आउने जानकारी नै नभएको थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहनराज जोशीले बताउनुभएको थियो । उनका अनुसार हेलिकप्टर अवतरण भएपछि स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको बताएका थिए ।

त्यसपछि आफूहरुले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्नुअघि नै उनीहरु उडेको र हेलिकप्टरमा चालकसहित पाँच जना भारतीय मूलका नागरिक रहेको वडा अध्यक्ष जोशीको भनाई छ । उनिहरुले हिन्दी बोलिरहेका र साथमा नक्सा पनि बोकेका थिए भने उनीहरु करिब आधा घण्टा बसेपछिको स्थानियहरुले बताएका छन् ।

हेलिकप्टरमा को को थिए र किन आए भन्नेबारे अहिले बुझ्दा पश्चिम सेती परियोजनाको बारेमा स्थलगत अवलोकन गर्न सुर्खेतबाट आएको बुझिएको सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले बताए । माथिबाट नै खटाएको र केहि प्राविधिक समस्याले आफुहरुलाई जानकारी गर्न समस्या भएको र हेलिकप्टरमा नेपाली नागरिक नै आएको सुर्खेत टावरबाट जानकारी आएको समेत बताए  ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार २०:०४