सूचनाको शक्ति - The Power Of Information

        

प्रजिअको निर्देशन कार्यान्वयनपछि सेवाग्राही खुशी

हुम्ला । जिल्लामा सरुवा भएर आएलगत्तै प्रमुख जिल्ला अधिकारी सीता परियारले कार्यालय प्रमुखलाई दिएको निर्देशन कार्यान्वयन हुने क्रम शुरु भएको छ । निर्देशन कार्यान्वयमा आएको बताउँदै प्रजिअ परियारले काम भएपछि जनतामा सकरात्मक सन्देश गएको बताइन् ।

कार्यालय प्रमुखले आफूखुसी जिल्ला छोड्ने, सूचना तथा जानकारी दिने कार्यमा समस्या आएको आफैँले अनुभव बटुलेपछि कार्यालय प्रमुखसँग बैठक गरेर त्यसो नगर्न उनले यसअघि निर्देशन दिएकी थिइन् । यसअघि जथाभावी रुपमा कार्यालय प्रमुख जिल्ला छोड्ने गरेकोमा अब छोड्नै पर्ने भएमा समन्वय गरेर जान थालेको उनको भनाइ छ ।

निर्वाचन पनि नजिक आइसकेको कारण सानातिना कार्यक्रममा कार्यालय प्रमुखलाई जिल्ला छोड्न नदिएको उनले बताइन् । कार्यक्रमको प्रकृति हेरेर जिल्ला छाड्ने अनुमति दिने गरेको प्रजिअ परियारले बताइन् । जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख र सूचना अधिकारीले अनिवार्य सरकारी नम्बर प्रयोग गर्न सुरु गरेको उनले जानकारी दिइन् ।

यसअघि कार्यालय प्रमुखले मोवाइल नम्बर प्रयोग नगर्ने र स्वीच अफ गरेर बस्ने गरेको स्थानीयको गुनासो थियो । त्यस्तै धेरै कार्यालयले आफ्नो बार्षिक कार्यक्रमअनुसारका प्रगति विवरण पनि प्रशासन कार्यालयमा बुझाउन सुरु गरेको सो कार्यालयले जनाएको छ । त्यसैगरी फिल्डका कर्मचारीहरु पनि खटिन थालेको र कर्मचारी बिदा लिएर पनि कार्यालयको काममा संलग्न हुन थालेको प्रजिअ परियारले बताइन् ।

सेवाग्राहीका काम छिटो र छरितोरुपमा गर्न कार्यालयका प्रतिनिधिहरुलाई उनले निर्देशन दिएकी थिइन् । प्रजिअले नियमितरुपमा कार्यालयको अनुगमन पनि गर्ने गरेकी छन् । विकास निर्माण कामको अनुगमन गर्नुलाई नियमित कार्य भएको बताउँदै प्रजिअ परियार जिल्ला आएको छोटै समयमा परिवर्तन भएको अनुभूति हुन थालेको सेवाग्राहीले बताउने गरेकी छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार १७:३१