सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसको बोलीप्रति प्रचण्ड रुष्ट

काठमाडौं । आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली कांग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाउनुभएको छ ।

माओवादीकै बलमा कांग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उहाँले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको हो ।

एमसीसी सम्झौता संसद्बाट पारित गर्ने क्रममा कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले माओवादीलाई नीतिलाई लक्षित गर्दै अभिव्यक्ति दिनुभएको थियो ।

रिजालको अभिव्यक्तिले माओवादीका नेताहरु असन्तुष्ट बन्दै आएका छन् । अन्तिम अवस्थामा माओवादीले एमसीसी पारित गर्ने निर्णय गरेको भन्दै रिजालले संसदमा माओवादीको धज्जी उडाउने गरी अभिव्यक्ति दिनुभएको थियो ।

माओवादीले आगामी स्थानीय प्रदेशसँगै संघीय निर्वाचनमा पनि गठबन्धन बनाएरै अघि जानु पर्ने नीति लिएको छ । तर कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन गर्ने विषयलाई हात्तीको कानमा चमेराको बास भन्ने व्याग्य गर्नुभएको थियो ।

कांग्रेसका महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला लगायतका शीर्ष नेताहरु गठबन्धन नगरी एक्लै चुनाव लडनु पर्ने पक्षमा उभिदै आउनुभएको छ ।

मंगलवार कांग्रेसको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको चित्त दुख्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिनुभएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार ०८:००