सूचनाको शक्ति - The Power Of Information

        

ज्याला माग्दा वडाध्यक्षबाट कुटिए मजदुर

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीय मनबहादुर विष्टलाई सोही वडाका वडाध्यक्षले कटकबहादुर विष्टले यातना दिने गरी कुटपिट गरेको बुुझिएको छ । विद्युत् आयोजना निर्माणमा ज्यालादारीमा काम गरेको ज्याला माग्दा कुटपिट गरेको स्थानीयवासीले बताएका छन् । वडाध्यक्ष भुकाखोला लघु जलविद्युत् आयोजनाका अध्यक्षसमेत रहेका छन् ।
ज्याला माग्दा निर्घातरूपमा कुटिएको पीडित मनबहादुर विष्टले बताएका छन् । उनले भने, ‘गाउँमा रहेको भुकाखोला लघु जलविद्युत् निर्माण भएको लामो समय वितिसक्दा पनि चैतेदशैँ मनाउनका लागि ज्याला माग्दा सोही वडाका वडाध्यक्ष कटकबहादुर विष्टले निर्घात रूपमा हातखुट्टा बाँधेर गाई गोरुको गोठमा थुनेर कुटपिट गर्नुभयो ।’
वडाध्यक्षको कुटाइको खबरपछि पिलुचौर प्रहरी चौकीको टोलीले घाइते विष्टको उपचारका लागि जिल्ला सदरमुकाम मार्तडीमा मंगलबार ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिएका छन् । वलीले दिएको जानकारीअनुसार घाइते विष्टको घाउ केस फाराम भरिएको छ । थप उपचार र जानकारीका लागि विष्टलाई प्रहरी कार्यालयमा ल्याइएको उनले बताए ।
विष्टलाई कुटपिट गर्ने वडाध्यक्ष कटक विष्टलाई भने पक्राउ नगरेको बताइएको छ । वडाध्यक्ष विष्टले मनबहादुर विष्टले मदिरा सेवन गरी गाली गलौज गरेकाले हातखुट्टा बाँधेर प्रहरीलाई खबर गरेको बताएका छन् । उनले आफूले मन विष्टलाई कुटपिट नगरेको बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०५:५४