सूचनाको शक्ति - The Power Of Information

        

समाचार

अस्वस्थ चलखेलले पेचिलो बन्दै एआइजी बढुवा

काठमाडौं । अत्याधिक चलखेलले नेपाल प्रहरीको बढुवा फेरि पनि अवरुद्ध हुन पुगेको छ । निर्णय भएको तीन सातापछि एआइजीको तीन दरबन्दी प्रहरी किताबखानामा दर्ता त भयो । तर, अझै बढुवा हुने छाँटकाट देखिएको छैन । बढुवाका आकांक्षीहरु धेरै भएको र उनीहरुले अस्वस्थ चलखेल गर्दा यस्तो अवस्था आएको हो ।

तीन पदमा १८ डिआइजी प्रतिस्पर्धामा छन् । सबैले शक्ति केन्द्र धाएर बढुवा हुने प्रयास गरिरहेका छन् । उता, राजनीतिक प्रतिशोधका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा जेल हाल्ने व्यक्तिहरू नै पछिल्लो समय शक्तिकेन्द्रमा सक्रिय भएपछि पनि प्रधानमन्त्री निकटहरु झस्किएका छन् ।

भक्तबहादुर कोइरालाको नेतृत्वमा गठन भएको शाही आयोग राजनीतिक दलका नेताहरुलाई भ्रष्टाचारको आरोप लगाएर दबाउन गठन भएको थियो । जसले प्रतिशोधका आधारमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह लगायतलाई नियन्त्रणमा लिएर थुनामा राखेको थियो ।

पछि सो आयोग सर्वाेच्च अदालतले खारेज गरिदिएको थियो । सो आयोगका सदस्यहरुको चलखेल गणतन्त्रमा समेत जारी छ । आयोगमा विज्ञ सदस्यका रुपमा काम गरेका नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक हरिशचन्द्र शाह अहिले पनि सक्रिय छन् । पछिल्लो समय उनी नेपाल प्रहरीमा सरुवा–बढुवाको खेलमा लागेका छन् ।

नेपाल प्रहरीमा एआइजी बढुवामा शाह सक्रिय भएको सूचना पाएपछि प्रधानमन्त्री निवास बालुवाटारमा हंगामा मच्चिएको छ । शाह विभिन्न निकायमा पुगेर आफ्नो आफन्त धीरजप्रताप सिंहलाई एआइजी बढुवाका लागि लबिङ गरिरहेको सूचना बालुवाटार पुगेको छ । सोही कारण पनि एआइजी बढुवा रोकिएको हो ।

सिंह बढुवाका दाबेदार हुन् । अहिले एआइजी हुन सके वैशाखमा विश्व पोखरेल र सहकुल थापालाई टक्कर दिन सकिने उनको योजना छ । एआइजी बढुवाको प्रतिस्पर्धामा चार जना सिनियर डिआइजी छन् । जसमा घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र बसन्त पन्त छन् ।

उनीहरु सिनियर भएपनि जुनियर टोलीका धिरजप्रताप सिंह, बसन्त लामा, रवीन्द्र धानुक, उत्तमराम सुवेदी, अरुण बिसी लगायत छन् । यदि, सिनियर टोलीलाई अपमान गरे उनीहरुले बढुवा समितिविरुद्ध उजुरी दिनेदेखि अदालतमा मुद्दा हाल्नेसम्मको तयारी गरिसकेका छन् । जसकारण एआइजी बढुवा पेचिलो बनेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार १७:२१