सूचनाको शक्ति - The Power Of Information

        

पोर्चुगलमा नेपाली नयाँ वर्ष २०७५ को अवसर नेपाली महोत्सव हुने

लिस्बन । पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ । गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पोर्चुगलमा नेपाली महोत्सव पहिलोपटक हुने भएको हो । नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा संघले १५ अप्रिलमा नेपाली महोत्सव गर्न लागेको हो । प्रवासमा नेपाली कला र लोक संस्कृतिको संरक्षण, संवद्र्धन, प्रवद्र्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली महोत्सव गर्न लागिएको संघका अध्यक्ष कुवेर कार्कीले जानकारी दिए ।

नेपाली वाणिज्य दूतावासको संरक्षकत्व एवं नेपाली पर्यटन दूत, नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि तथा पोर्चुगलमा क्रियाशील नेपाली संघ संस्थाको सहआयोजनामा नेपाली महोत्सव हुने भएको हो ।

महोत्सव गर्नका लागि यहाँको सरकारी निकायसँग स्वीकृति लिएर तयारीमा लागिएको कार्कीले बताए । महोत्सवले नेपाली पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पू¥याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा नेपाली उत्पादन, हस्तकला, नेपाली खाना, नेपाली पोशाक, नेपाल झल्काउने तस्वीर लगायतका १२ स्टल रहने छ । यस्तै, बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथालगायत नेपालको पर्यटकीयस्थलका विषयमा जानकारी दिन र प्रचारप्रसार गर्नका लागि छुट्टै स्टल राखिने अध्यक्ष कार्कीले बताए ।

एक दिने मेलामा नेपालको बारेमा जानकारी दिने, नेपाली कला, लोक संस्कृति र नेपाली पर्यटनको प्रचारप्रसार र प्रवद्र्धन गर्ने तथा नेपाली वेषभूषासहितको सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ । महोत्सवमा पोर्चुगलमा रहेका नेपाली राष्ट्रिय कलाकारको विशेष सांस्कृतिक प्रस्तुति रहनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०२:३२