सूचनाको शक्ति - The Power Of Information

        

आफ्नै साथीलाई गोली प्रहार गर्ने युवक पक्राउ

जनकपुरधाम । आफ्नै साथीमाथि गोली प्रहार गर्ने जनकपुरधामका एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बेंगा शिवपुरका रुपेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

शनिबार राति कमला नगरपालिका ८ घर भई जनकपुरधाम १९ मा आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियामाथि गोली प्रहार गरी हत्या गरिएको थियो । आफ्नो ५/६ जना साथीसँग बसेर कुरा गरिरहेको बेला ती साथीहरु मध्येका रुपेशले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

रुपेशलाई प्रहरीले आइतबार साँझ घटना पश्चात भारततर्फ भाग्दै गरेको अवस्थामा धनौजी गाँउपालिका–४ स्थित नेपाल भारतको सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए । गोली लागेका मुकेश र गोली हान्ने रुपेश दुवै साथी–साथी हुन् ।

मुकेश आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेशले ल्याएको पेस्तोल चलाउँदा सो गोली लागेर मुकेश सख्त घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

उनीहरुबीच कुनै विवाद पनि नरहेको गोली कसरी चल्छ देखाउने क्रममा गोली लाग्न गएको प्रवक्ता बस्नेतको भनाइ छ । गोली लागि गम्भीर घाइते भएका मुकेशको हाल काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १८:४८