सूचनाको शक्ति - The Power Of Information

        

शिक्षाको उज्यालो छर्दै चमार युवती

धनुषा । पार्वतीकुमारी रामलाई समाजले राम, मोची, हरिजन, रविदास, रैदास, महरा, दलित अनेक नामले पुकार्छन् । ति नाममा अलिकति हेपाई मिसिएको हुन्छ । तर पार्वती स्वाभिमानले आफ्नो शिर ठाडो बनाएर हिँड्न सक्छिन् समाजका अगाडि ।

त्यसो गर्न सक्नुको एक मात्र कारण हो पार्वतीले पाएको शिक्षा र सिकाई । शिक्षाका मामिलामा मधेशी दलितहरू समग्र नेपालीमा सबैभन्दा पछाडि छन् । उनीहरूको साक्षरता दर ४२.८ प्रतिशत छ । पढ्नका लागि स्कुल छिर्ने कै हिसाब गर्ने हो भने सबैभन्दा पछाडि छन् मधेशी दलितहरू ।

१०० जना मधेशी दलितमा ४८ जनाभन्दा थोरै बढी मात्र स्कुल भर्ना हुन्छन् जबकी यो दर पहाडी बाहुन र नेवारमा ९६ प्रतिशत छ । त्रिभुवन विश्वविद्यालयको मानवशास्त्रको केन्द्रिय विभागले सन् २०१८ मा गरेको नेपाल सामाजिक समावेशी सर्वेक्षणकै तथ्याङ्क अनुसार कक्षा आठसम्मको आधारभूत शिक्षा पूरा गर्नेमा पनि सबैभन्दा पछाडि अर्थात १७.६ प्रतिशत मात्र छन् मधेशी दलित ।

यस्ता तथ्याङ्क केलाउन थाल्ने हो भने सबैभन्दा पुछारमा हुन्छन् मधेशी दलित । तिनै मधेशी दलित मध्येकी हुन् धनुषाको नगराइन नगरपालिका बिर्ता टोलकी पार्वतीकुमारी राम । गरिबीले श्रीमानलाई काम गर्न मलेसिया पुर्याएको छ । विदेशिदा श्रीमानको एउटा शर्त थियो, पार्वतीले पढ्ने ।

पार्वतीकुमारी भन्छिन्, ‘१२ पढेपछि मेरो विवाह भयो । श्रीमान् पनि एकदमै राम्रो हुनुहुन्छ । पढ्न प्रोत्साहित गर्नुहुन्छ । म त ब्याचलरमा एडमिसन नलिने पक्षमा थिए तर श्रीमानले नै तिमी अगाडि पढ । पढेर अगाडी बढन सकिन्छ भन्नुभयो । केही काम गर्न सकिन्छ भन्नुभयो । त्यसैले पढ्दैछु ।’

हो पावर्तीकुमारी राम पढ्दै छिन् अनि आफ्नो गाउँमा बसेर आफूजस्तै पाखा पारिएका बालबालिकालाई शिक्षाको उज्ज्यालो दिएर अगाडी बढाउँदै छिन् । आसमान नेपालको निक शिक्षा दिअ परियोजना अन्तरगत नगराइनमा ठूली दिदीको पदमा कार्यरत पार्वतीकुमारी राम हिँड्न नसक्ने अमृताकुमारी रामजस्ता बालिकालाई घरमा नै पुगेर पढाउँछिन् ।

आसमान नेपालको निक शिक्षा दिअ परियोजनाले आफ्नो कार्य क्षेत्रभित्र स्कुल बाहिर रहेका यस्ता अपाङ्कता भएकी बालबालिकालाई पार्वतीजस्ता आफ्ना सहकर्मीहरूमार्फत क्षमता बढाउँदै स्कुलसम्म पुर्याउँछ । र, स्कुलमै पढने वातावरण बनाउँछ ।

तर अहिले कोभिड १९ को महामारीका कारण स्कुल बन्द भएका बेलामा भने उनीहरू सिकाइबाट टाढा नहुन भनेर घरमा नै दैनिक पढने व्यवस्था गरेको हो । हाम्रो चेतनाको स्तर र सामाजिक परिवेशका कारण पार्वतीलाई पढन त्यति सजिलो थिएन । बालिकाहरूलाई अझै पनि पढनका लागि अनेकन अवरोध छन् ।

पार्वतीकुमारी भन्छिन्, ‘अरुको घरको वातावारण हेर्छु अर्काको घरको नासो छोरीलाई पढाएर के गर्ने भनेको पनि सुन्छु । तर मेरो घरका मेरा दाईहरू सबै शिक्षित हुनुहुन्छ । हाम्रो ठूलो दाईको अडानले नै हामी सबैले पढेको हो । बुबाआमाले त गाउँलेका कुरा सुन्नु भएको थियो तर ठूलो दाईले एउटा बहिनी छ यसलाई पढाउनुपर्छ अनि केही गर्न सक्छे भनेर पढाउनु भयो ।’

दलित त्यसमाथि महिला । घरबाहिर मजदुर गर्दा कसैले केही भन्दैन तर पढ्ने पढाउने लगायतका जागिर खाने कुरा भयो भने प्रलय नै हुन्छ । सबै विरोधमा उत्रिन्छन् । ठूला जातका मात्र होइन आफ्नैहरू पनि विरोध गर्न थाल्छन् । तर पार्वतीकुमारी रामले त्यस्ता कुरा पचाइसक्नु भएको छ ।

पार्वतीकुमारी भन्छिन्, ‘कुरा काटनेहरूले त काटिराख्छन् नि । मेरै दिदीकी सासुले पनि सर्भिसिङ गर्न जान्छे भनेर खुब कुरा काटिन । तर आफूले काम राम्रो गर्न पर्यो, चरित्र राम्रो हुन पर्यो, अनि न अरूले पनि आफ्ना छोरीबुहारीहरूलाई बाहिर आउन दिन्छन, काम गर्न दिन्छन् ।’ यही सकारात्मक सोंचले त पार्वतीकुमारी अझ अगाडी बढेकी छन् र आफूसँगै धेरै अमृताहरूको जीवनमा उज्यालो छर्दैछिन् । (श्रोत : INS NEWS-स्वतन्त्र समाचार)

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार ०९:०६