सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य शपथ खाँदै । सबै तस्वीर : रासस

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरुले शपथ खाएका हुन् ।

नवनिर्वाचित सदस्य जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त, भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले शपथ खाएका छन् ।

नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि सङ्घीय कानुन अनुरुप शपथ खानुपर्ने संवैधानिक व्यवस्था छ । शपथ लिन केही सदस्य आफ्नो जातीय वेषभूषासहित सहभागी भएका थिए । राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । उनीरुको कार्यकाल ६ वर्षको हुनेछ ।

समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई सङ्घीय ससद्को प्रतिक चिह्न लोगो प्रदान गरे । सचिवालयका महासचिव डा भरतराज गौतमले उनीहरुलाई सचिवालयका तर्फबाट सफल कार्यकालका लागि शुभकामना दिए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रियसभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सो अवसरमा सहभागी थिए ।

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरु सामुहिक तस्वीरमा ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार १४:५७