सूचनाको शक्ति - The Power Of Information

        

कांगेस अधिवेशन

बाँकेमा देउवा पक्ष बलियो हुँदाहुँदै किन भयो पराजित ?

जिल्ला अधिवेशनमा देखिएको मनमुटावले स्थानीय तहको निर्वाचनमा असर पर्ने र अन्तरघात हुने त होइन भन्ने चिन्ता कांग्रेस कार्यकर्तामा देखिएको छ ।

बाँके । बाँके नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको गृह जिल्ला हो । तर उनको निधनसँगै बाँकेमा वर्तमान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षको प्रभाव बढिरहेको थियो ।

नेपाली कांग्रेसको हालै सम्पन्न १४ औं महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनसम्म देउवा अर्थात् संस्थापन पक्ष बलियो देखिएको थियो, बाँकेमा । संस्थापन पक्षबाट धेरै जना महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।

१४ औं महाधिवेशनअघि बाँकेमा जिल्ला अधिवेशन हुन सकेको थिएन । महाधिवेशन सकिएको झण्डै ३ महिनापछि जिल्ला अधिवेशन भयो । तर जिल्ला अधिवेशनबाट संस्थापन इतर अर्थात् डा. शेखर कोइराला पक्ष नेतृत्वमा आयो ।

आन्तरिक चुनाव जित्दै नारायण गौडेल कांग्रेसको जिल्ला सभापति बन्न सफल भए । जिल्ला सभापति पदमा संस्थापन पक्षबाटै दुई जना उमे्दवार बनेका थिए, बादशाह कुर्मी र सुरेन्द्र हमाल । हमाल लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री समेत हुन् ।

उनले आफू संस्थापन पक्षको आधिकारीक उमेद्वार भएको दाबी गरिरहेका थिए । तर सहमहामन्त्री किशोरसिंह राठौरले बादशाह कुर्मीलाई अघि सारे । अन्तिम समयसम्म पनि दुवैले आफ्नो दाबी छाडेनन् ।

पहिलो चरणको चुनावबाट सभापति चुनिएन भने जो दोस्रो चरणमा जान्छ उसैलाई सहयोग गर्ने भनिएको थियो । बिहीबार भएको पहिलो चरणको निर्वाचनमा इतर पक्षका नारायण गौडेलले सबैभन्दा बढी मत ल्याए ।

उनका पक्षमा ५६९ मत आएको थियो । कुर्मीले ५३८ मत ल्याए भने ३१४ मत मात्र प्राप्त गरेका हमाल जिल्ला सभापतिको प्रतिस्पर्धाबाट बाहिरिए । दोस्रो चरणको चुनावमा संस्थापन पक्षका हमालले इतर पक्षका गौडेललाई खुलेरै समर्थन गरे ।

जसका कारण शुक्रबार सम्पन्न दोस्रो चरणको चुनावमा ७६० मत प्राप्त गर्दै नारायण गौडेल जिल्ला सभापति पदमा विजयी भए । प्रतिस्पर्धी बादशाह कुर्मीले ६६३ मत ल्याउँदै हारे । कांग्रेसको सहमहामन्त्री बनेका किशोरसिंह राठौरले आफ्नो जिल्लामा आफूअनुकुलको नेतृत्व ल्याएर प्रभाव बढाउन खोजेका थिए, तर प्रयास सफल भएन ।

नवनिर्वाचित जिल्ला सभापति गौडेल तरुण दलको साविक कोहलपुर गाविसका संस्थापक सभापति हुन् । उनी २०५५ सालमा तरुण दलको गाउँ सभापति भएका थिए । पछि क्षेत्रीय सभापति, जिल्ला सहसचिव, महासमिति सदस्य हुँदै १३ औं महाधिवेशनताका उनी सभापति पदका प्रतिस्पर्धी बने ।

त्यसबेला कोइराला पक्षका उमेद्वारबीचमै प्रतिस्पर्धा भएको थियो । जसमा किरण कोइराला सभापति चुनिएकी थिइन् । तेस्रो स्थानमा आएर गौडेल बाहिरिएका थिए । अहिले गौडेल जिल्ला सभापति बन्दा जिल्ला कार्यसमितिमा दुवै पक्षको मिश्रित नतिजा आएको छ ।

स्थानीय चुनावको मुखमै बाँकेमा कांग्रेसको जिल्ला अधिवेशन भएको हो । यसमा देखिएको मनमुटावले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा असर पर्ने र अन्तरघात हुने त होइन भन्ने चिन्ता कांग्रेस कार्यकर्तामा देखिएको छ । तर नवनिर्वाचित सभापति गौडेल स्थानीय तहको चुनावमा यसको कत्ति पनि प्रभाव पर्न नदिने दाबी गर्छन् ।

‘पार्टीको आन्तरिक चुनाव हो । कसैको हारजित केही हैन,’ उनले भने, ‘हामी लोकतान्त्रिक विचारमा लागेकालाई भोलिका दिनमा केही अप्ठ्यारो पार्दैन । अब एक भएर चुनावमा जान्छौं ।’ अब हुने तीनै तहका निर्वाचनमा बाँकेमा कांग्रेसलाई बलियो बनाएर देखाउने दाबी गौडेलले गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार १०:३०