सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

जाडो सकिएर गर्मीतर्फ ढल्किँदै मौसम

अब देशभर तापक्रम बढेसँगै हावाहुरी, चट्याङ र असिनाको सम्भावना

काठमाडौं । नेपालमा ‘विन्टर’ अर्थात् हिउँद याम सकिएर ‘प्रि–मनसुन’ सुरु भइसकेको मौसमविद्ले बताएका छन् । योसँगै अब देशभर तापक्रम बढ्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

उनका अनुसार फेब्रुअरीसम्म विन्टर थियो, यही मार्च १ देखि प्रि–मनसुन लागेको हो । प्रि–मनसुन भनेको हिउँद सकिएको र मनसुन अर्थात् वर्षायाम सुरु हुनुभन्दा अघिको समय हो । यो सिजन ३ महिना अर्थात् अंग्रेजी महिना मेसम्म रहने मौसमविद् बासीले बताइन् ।

‘अब बिस्तारै अधिकतम÷न्यूनतम तापक्रम बढ्दै जाने हुन्छ,’ मौसमविद् बासीले भनिन् । अब मौसम गर्मीतर्फ ढल्किएको उनले बताइन् । यसैले मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान गर्मीबाट बच्न सूचना जारी गरेको छ ।

बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ, देशभर तापक्रम बढ्ने क्रममा रहेकाले विशेषगरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

मौसमविद् बासीका अनुसार आज बिहान पौने ६ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस देखिएको छ । देशका अन्य स्थानको न्यूनतम तापक्रम भने अहिले पौने ९ बजे प्रकाशन हुनेछ ।

मौसमविद् बासीका अनुसार प्रि–मनसुन हावाहुरी, चट्याङ र असिनाको सम्भावना भएको सिजन हो । ‘वायुमण्डलमा पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा प्रवेश गर्यो भने हावाहुरी, चट्याङ अनि असिनाको सम्भावना हुन्छ,’ उनले भनिन् । महाशाखाको बुलेटिनअनुसार अहिले भने नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

यतिबेला (बिहान) पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । महाशाखाका अनुसार दिउँसो पहाडी तथा हिमाली भेगमा आंशिक बदली तथा अन्य भेगमा मौसम सामान्यता सफा रहनेछ । राति पहाडी तथा हिमाली भेगमा आंशिक बदली तथा देशका अन्य स्थानमा मौसम सामान्यता सफा रहनेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार ०९:०५