काठमाडौं । कागजमा, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको व्यक्तिगत सम्पत्ति फ्रिज गर्ने अमेरिकी निर्णय बेकारको देखिन्छ । तर विश्वमा पुटिनलाई धनाढ्यमध्ये एक मानिन्छ । एक आधिकारिक रुसी कागजातले भन्छ, पूर्व केजीबी एजेन्ट रहेका ६९ वर्षीय पुटिनसँग केही पुराना कारहरु, एउटा सानो फ्ल्याट र एक लाख ४० हजार अमेरिकी डलर हाराहारीको तलबको गोप्य बचत छ ।
आधिकारिक कागजातले उनको सम्पत्तिको वास्तविक चित्र देखाएकोमा कोही पनि विश्वास गर्दैनन् । अधिकांश पश्चिमा विज्ञहरु तथाकथित रसियन ओलिगार्क (कुलीन व्यक्ति), उनीहरुको परिवार र आफन्तजस्ता नजिकका व्यक्तिहरुले गोप्य रुपमा पुटिनको अथाह सम्पत्ति लुकाएर राखेको बताउँछन् ।
कति धेरै हुनसक्ला पुटिनको सम्पत्ति ?
विश्वका अर्बपतिहरुको वरीयता खुट्याउने चर्चित म्यागजिन फोर्ब्सले समेत २० वर्षयता पुटिनको सम्पत्तिबारे एकीन विवरण पस्किन सकेको छैन । रुसका सुरुवाती कुलीन धनाढ्यबारे खोजी गर्ने क्रममा मस्कोमा फोर्ब्सको सम्पादकमण्डलका एक सदस्यको गोली हानी हत्या गरिएको थियो ।

एलेक्सी नभाल्नीले सार्वजनिक गरेको भिडियो फुटेजबाट लिइएको ‘पुटिन्स प्यालेस’को दृश्य (एलेक्सी नभाल्नी/युट्युब)
अत्यन्त उत्सकुताका साथ संरक्षित गोपनीयताका बाबजुद रुसी राष्ट्रपतिको सम्पत्ति अर्बौँ डलरको छ । मानवअधिकारको दुरुपयोग गर्ने विदेशी व्यक्तिहरुलाई प्रतिबन्धित गर्ने ‘म्याग्नित्स्की एक्ट’ पारित गर्न भूमिका खेलेका तथा कुनै बेला रुसमा उच्च लगानीकर्ता रहेका विलियम ब्राउडरको अनुमानमा पुटिनको सम्पत्ति दुई खर्ब अमेरिकी डलरभन्दा बढी छ ।
यो भनेको विश्वका धनाढ्य टेस्लाका प्रमुख इलोन मस्ककै बराबरी हो । ब्राउडरले गरेको यो अनुमान पुटिनले सन् २००४ मा अन्य धनाढ्यहरुसँग गरेको एक सम्झौतामा आधारित छ । जुन सम्झौता नकार्न उनीहरु सक्दैनथे । जसमा उनीहरुले कमाएको आधा त पुटिनले नै पाउनुपथ्र्यो । ‘उनीसँग आफ्नै नाममा कुनै पनि सम्पत्ति छैन,’ ब्राउडरले लण्डनबाट भने ।
कहाँ छ पैसा ?
धेरैजसो पैसा देशबाहिर रहेका बचत खाता, लगानी र सम्पत्तिमा रहेको छ । सन् २०१७ को नेशनल ब्युरो अफ इकोनोमिक रिसर्चबाट प्रकाशित अध्ययनअनुसार अनुमानित आठ खर्ब अमेरिकी डलर धनी रुसीले अफसोर (कम कर तिर्नुपर्ने र नियमन पनि कम हुने) ठाउँमा लगेर पैसा राखेका छन् ।
त्यसमा अधिकांशतः युरोपेली घरजग्गामा छ । रुसी धनाढ्यको स्वामित्व रहेका विलासी सम्पत्ति देखाउन रुसमा आधारित रहेर काम गरेका एक पूर्वबेलायती सम्पत्ति शुद्धीकरणवेत्ता ओलिभर बुलो एकपटक फेरि लण्डनको ‘क्लेप्टोक्रेसी भ्रमण’मा निस्किने तयारीमा छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलले गरेको अनुमानमा झण्डै २ अर्ब डलरको बेलायती घरजग्गा (रियलस्टेट) क्रेमलिनसँग प्रत्यक्ष जोडिएका रुसीहरुले खरिद गरेको भेटिएको छ ।
जो भ्रष्टाचारमा जोडिन्छ । यसमध्ये धेरै घरजग्गा लण्डनमै रहेको उसको अनुमान छ । ‘उनीहरु प्रायः सम्पत्ति लुकाउन आफ्ना सन्तान वा नजिककालाई विभक्त गर्छन्,’ उनले भने । त्यसपछि त्यहाँ बंगलाहरु, सुपरयाट (विलासी पानीजहाज)हरु र निजी विमानहरु छन् । युक्रेनमाथि पुटिनको आक्रमणको केही हप्ताअघि ८० मिटरको विलासी याट ग्रेसफुल रुसका लागि जर्मनीबाट हतारहतार छुट्दै थियो ।
विश्लेषकहरुका अनुसार त्यो जहाज पुटिनको हो, जो सुुरक्षाका लागि हतारिएको थियो । र, जसले क्रेमलिनोलोजिस्ट (क्रेमलिनबारे जानकार)लाई हाँसो दबाउन बाध्य गर्यो । रुसतिरै हेरौँ, पुटिनले जेल पठाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको समूहले एउटा लामो प्रतिवेदन (रुसी भाषामा) तयार गरेको थियो ।
त्यसमा रकम ट्रान्सफरको जटिल जालो र मानिसबारे विस्तृतमा थियो, जुन ‘पुटिनको दरबार’मा गएको थियो । पुटिन्स प्यालेस (पुटिनको दरबार) भनिने ब्ल्याक सीलाई हेर्ने अनुमानित एक अर्ब ३० करोड अमेरिकी डलर मूल्यबराबरको एउटा भव्य बंगला दक्षिण रुसमा रहेको छ । पुटिनका निकटस्थ मानिने रुसी अर्बपति आर्केडी रोटेनबर्गका अनुसार त्यो पुटिनकै हो ।

सन् २००५ मा आफ्नै १९५६ भोल्गा कारभित्र रुसी राष्ट्रपति पुटिन र तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुस । (तस्वीर : ईपीए)
कहिलेदेखि उनीहरु सम्भावित प्रतिबन्धको तयारी गरिरहेका छन् ?
सन् २०१४ मा अवैध रुपमा पुटिनले क्राइमिया हडपेपछि अमेरिका र युरोपेली संघले शृंखलाबद्ध रुपमा रुसी व्यक्ति र सम्पत्तिमाथि प्रतिबन्ध लगाए । तर पुटिन र उनका धनी साथीहरुले वर्षौँदेखि सम्पत्ति लुकाउँदै आएका छन् । यसका लागि कानुनकर्मी, एकाउन्टेन्ट र बैंकहरुले उनीहरुलाई सहयोग गरे । आफ्नो स्वामित्व लुकाउन कानुनी छिद्र र स्किमहरुको प्रयोग गरे ।
‘हामीसँग इच्छाशक्तिभन्दा दुःखको गठबन्धन छ, पुटिनका मान्छेहरु अनैतिक कानुनकर्मीसँग साँठगाँठ गरिरहेका छन्,’ बेलायतको हाउस अफ कमन्सलाई सांसद बब सिलीले धेरै बेलायती कानुनकर्मीको नाम लिँदै यो हप्ता भनेका थिए । बर्लिनमा ट्रान्सपरेन्सी इन्टरनेशनलको सम्पत्ति शुद्धीकरणविरोधी विज्ञ रहेकी माइरा मार्टिनी अवैध रुसी पैसाबारेको अनुसन्धान गर्न देशहरुबीच असाधारण सहकार्य हुनुपर्ने बताउँछिन् ।
किनकि फन्डहरु प्रायः कुनै एक देशमा निष्क्रिय कम्पनीमा लुकाइएका हुन्छन्, अर्कै बैंकमा हुन्छन् र त्यसपछि तेस्रो देशमा विलासी सम्पत्तिमा खर्च गरिन्छन् । ‘पुटिनको सम्पत्ति साँच्चै राम्ररी लुकाइएको छ,’ मार्टिनीले भनिन्, ‘त्यहाँ तहहरु छन् र सम्पत्तिकै बीचमा पनि तहहरु छन् । यसका लागि प्रोक्सीको रुपमा शासनको नजिक रहेका मानिसबारे पूर्ण जानकारी हुनु आवश्यक छ ।’
कसरी अमेरिकी र यसका सहयोगीहरु रुसी धनाढ्यलाई पछ्याउँदै छन् ?
संयुक्त राज्य अमेरिका, युरोपेली संघ र संयुक्त अधिराज्य बेलायतले पुटिनसँग नजिक मानिने रुसी कुलीन वर्गको सूची बनाएर प्रतिबन्ध लगाउन काम गरिरहेका छन् । ती सूचीले गोपनीयताको प्याजलाई चिराचिरा पार्न सरकारी अनुसन्धाताले सुरु गरेका छन् । सोमबार मात्रै पुटिन, रुसी प्रधानमन्त्री र विदेशमन्त्रीसँगै ईयूले लक्षित गरेका व्यक्तिहरुको सम्पत्ति फ्रिज गर्न स्विट्जरल्यान्डले परम्परागत रुपमा अवलम्बन गर्दै आएको तटस्थताको नीति त्यागेको थियो ।
सूचीमा रहेका उनीहरुलाई प्रतिबन्धले अमेरिका, युरोप र बेलायतमा आफ्नो सम्पत्ति र वित्तीय कारोबारको पहुँचमा रोक लगाउँछ । अन्ततः ती सम्पत्ति, बैंक खाता र सेयर फ्रिज हुन्छ । अमेरिकाले त अन्य धेरै रुसी धनाढ्यलाई यो सूचीमा राख्ने तयारी गरिरहेको छ । बुधबार महान्यायाधिवक्ता मरिक गारल्यान्डले टास्कफोर्स क्लेप्टोक्याप्चर घोषणा नै गरेका छन् ।
यो वित्तीय प्रतिबन्ध र रुसी व्यक्ति र सम्पत्तिलक्षित अन्य आर्थिक प्रतिबन्धलाई लागू गर्न गठित अन्तर्संस्था प्रयत्न हो । ‘अन्यायपूर्ण युद्धलाई निरन्तरता दिन रुसी सरकारलाई मलजल गर्ने आपराधिक कार्यमा संलग्न जो कोहीमाथि अनुसन्धान, पक्राउ र अभियोजनका लागि हामी कुनै पनि ढुंगा पल्टाउँछौँ’, गारल्यान्डले भने ।
उनीहरुको सम्पत्ति जफत हुने अवस्था के छ ?
यो यति छिटै र सजिलै सम्भव हुनेछैन । अझ पुटिन शक्तिबाट टाढिएपछिसम्मका लागि पुटिनको सम्पत्तिको प्रमाण भेटाउनै मुस्किल हुनसक्नेछ । ‘यो सबै व्यवस्थित रुपले अघि बढ्न त्यहाँ एउटा राजनीतिक इच्छाशक्ति छ तर यसले समय लिन्छ । भन्न खोजेको बुझ्नुभयो होला र यो रातारात हुने पनि होइन,’ हाल वासिङटनस्थित एटलान्टिक काउन्सिलमा रहेका पोल्यान्डका लागि पूर्वअमेरिकी राजदूत ड्यानियल फ्राइड भन्छन् ।
रुसमा एकपटक कानुनी अभ्यास गरिसकेका र रुसी विपक्षी नेता नभाल्नीको समूहका लागि काम गरिरहेका एक अमेरिकी कानुनकर्मी ज्यामिसन फायरस्टोन पश्चिमा राष्ट्रबाट आइरहेका प्रतिक्रिया विगतभन्दा कार्यक्षेत्र र तीव्रताका दृष्टिले निकै फरक रहेको बताउँछन् ।
‘यसअघि हामी पारिवारिक सदस्यलाई प्रतिबन्धित गर्दैनथ्यौँ, उनीहरुको भिसा तान्दैनथ्यौँ’, उनले भने, ‘अहिलेसम्म जे देख्यौँ यो त सुरुवात मात्र हो, म कल्पना गर्न सक्दिनँ । किभमा बमबारी जारी छ, स्थिति बिग्रँदो छ र हामी त्यो टिभीमा हेरिरहेका छौँ । कल्पना पनि गर्न सक्दिनँ, हामी यसलाई रोक्न सकिरहेका छैनौँ । हामी आइसबर्गको टुप्पोमा छौँ जस्तो लागिरहेको छ ।’

आफ्नो रेलवेकारभित्र पुटिन (तस्बिरः एएफपी)
प्रतिबन्धले के पूरा गर्ला ?
यसको उद्देश्य पुटिनलाई गरिब बनाउने होइन । पुटिनको भित्री घेरामा रहेकालाई दबाब दिएर उनलाई यस किसिमका उक्साहटमा पुग्न नदिनु यसको उद्देश्य हो । रुसी धनाढ्यहरुले वित्तीय दबाबमा रहेर पुटिनलाई युक्रेनबाट फिर्ता हुन आग्रह गर्ने वा सत्ता छोड भन्ने साहस गर्लान् भन्नेचाहिँ अझै अस्पष्ट नै छ । पुटिनले आफूलाई अत्यन्तै मान्ने र आफूमा निर्भर रहेका मानिसलाई प्रयोग गरिरहेका छन् ।
उनले व्यक्तिगत रुचिमा आधारित धेरै नेटवर्क खडा गरेका छन् जोसँग खतरनाक सूचना छ । त्यसले पुटिनलाई मानिसमाथि नियन्त्रण गर्ने क्षमता मिलेको बताउँछन् न्युयोर्कस्थित इन्स्टिच्युट अफ मोडर्न रसियाका निर्देशक ओल्गा ख्वाभोस्तुनोभा । यद्यपि अझै केही भने ओलिगार्कहरु पुटिनसँग सम्झौता गरेर विलासी जीवनशैली बाँचिरहेकाहरु यसलाई त्याग्न नचाहने पनि बताउँछन् ।
‘यो केवल पैसाका लागि मात्रै होइन । यो जीवनको एउटा तरिका हो । पश्चिमाहरुले केही त्यस्तो आश्चर्यजनक काम गरेका छन् जुन यसअघि भएको थिएन । ‘हामी तपाईंहरुले केही गलत गरेको भनेर खोजिरहेका छैनौँ । सामान्य छ, हामी त तानाशाहलाई समर्थन गरेकोबारे मात्रै खोजिरहेका छौँ । तपाईंहरु रोजाइ बनाउनसक्नुहुन्छ’, फायरस्टोन भन्छन्, ‘उनको शासनलाई समर्थन गर्न हाम्रो प्रणालीबाट तपाईं आनन्द लिन सक्नुहुन्न ।’
पूर्वराजदूत भन्छन्, ‘यदि पुटिनले देशलाई आर्थिक अराजकता र एक्लिनतिर लाग्छन्, जुन अहिले गरिरहेका छन् भने झन् धेरै युद्धको आलोचना हुनेछ र अचानक पुटिनको पद असुरक्षित नभएसम्म मात्र अगम्य हुनेछ । म यो भोलि नै हुन्छ भनिरहेको छैन तर म पूर्व रोमानियन राष्ट्रपति निकोलाई कियासेकुलाई सम्झिन्छु । उनी एकै हप्तामा तानाशाहबाट मृत व्यक्ति बन्नुपर्यो ।’
प्रतिबन्धबारे पुटिन के गरिरहेका होलान् ?
फेब्रुअरी २४, जुन दिन पुटिनले युक्रेनमाथि आक्रमण थाले, रुसी समाचार संस्था तासले पुटिनले क्रेमलिनस्थित सेन्ट क्याथरिन हलमा ३७ व्यावसायिक प्रतिनिधिलाई बोलाए । तिनमा अर्बपतिको गन्यमान्य संख्या थियो । जो पश्चिमा प्रतिबन्धसँग जोडिएका थिए । पुटिनले उनीहरुलाई आफूले किन आक्रमणको निर्णय गरेको भन्ने खुलाइरहेका थिए । सो क्रममा व्यावसायिक व्यक्तित्वलाई पुटिनले बोल्ने मौकै दिएनन् ।
त्यसो त पुटिन आफैँमाथि लक्षित प्रतिबन्ध हानिका दृष्टिले उनीहरुका भन्दा धेरै सांकेतिक छन् । यद्यपि त्यो संकेत भने शक्तिशाली नै छ । ‘पुटिनको सम्पत्ति हामी के बुझौँ भने यो एउटा श्रद्धाञ्जलिको रुपमा हो । खासमा उनी एक अर्को अर्बपति हुन् जो आफ्नो सम्पत्ति लुकाउँछन्,’ येल इतिहासकार टिमोथी स्नाइडरले बुधबार एक भाषणमा भने, ‘होइन, यो एउटा श्रद्धाञ्जलि हो, उनको शक्तिको एउटा पक्ष हो ।’
यता यूसीएलएका प्राध्यापक जो रुसी राजनीति र अर्थतन्त्रबारे विज्ञता राख्छन्, ड्यानियल ट्रेइसम्यान भन्छन्, ‘यो होइन कि उनीसँग देशबाहिर सम्पत्ति छ, जफत होला र गुम्ने डरले उनी चिन्तित छन्, मलाई के शंका छ भने उनी अर्बौँ डलर पहिले कहिल्यै प्रयोग गरिरहेका थिए । यसले उनलाई आफ्नो विलासी जीवनशैली त्याग्न प्रेरित गर्नेछैन ।’
फेरि यही बेला ट्रेइसम्यान भन्छन्, ‘यसलाई व्यक्तिगत आक्रमणको रुपमा लिइनेछ र उनी यसबारे निकै गम्भीर छन् ।’ पश्चिमले निरन्तर प्रतिबन्धले दबाब बढाउँदा उनका निकटस्थहरु चिन्तित हुनसक्छन्, खासगरी उनको आणविक त्रासमा । ‘मलाई लाग्छ हामी उनको उत्तेजित र मानसिक अवस्थाबारे चिन्तित हुनुपर्छ,’ ट्रेइसम्यानले भने, ‘उनी स्पष्ट रुपले यी मुद्दामा अति नै उत्तेजित प्रकृतिका छन् । र उनको नजिकका कुनै पनि नेताले यसलाई बुझेर उनीअनुकूल निर्णय लिन सक्छन् ।’
(ट्रिब्युन न्युज सर्भिस/एससीएमपी)
।