सूचनाको शक्ति - The Power Of Information

        

निसासिएर दैलेखमा आमा छोराको मृत्यु

सुर्खेत । दैलेखमा निसासिएर आमा छोराको मृत्यु भएको छ । घरभित्र निसासिएर ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश बादीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहका अनुसार बिहीबार राति भान्सा कोठामा सुतिरहेका आमा छोरा शुक्रबार बिहान ११ बजे मृत अवस्थामा फेला परेका हुन् ।

भान्छा कोठामा चुल्होको करिब डेढ फिट नजिक सुतेका उनीहरू ओछ्याएको गुन्द्री र सिरक चुल्होतिर पुगेर आगो सल्केको र उनीहरूको शरीरको केही भाग पोलिएको डीएसपी शाहले बताए ।

‘धुवाले निसासिएर मृत्यु भएको हाम्रो अनुमान छ’ डीएसपी शाहले भने । ४० वर्षीया हरिकलाको शरीरको पछाडिको भाग जलेको र १८ वर्षीय रमेशको हात जलेको प्रहरीले जनाएको छ ।

घरमा आमा छोरा मात्रै बस्दै आएका थिए । मृतकलाई पोष्टमार्टमका लागि दुल्लु अस्पताल पुर्‍याइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १९:२८