सूचनाको शक्ति - The Power Of Information

        

अचाक्ली बढ्यो खानेतेलको मूल्य

रुस–युक्रेन युद्धले महङ्गियो नेपाली भान्सा

सातामै ६० रुपैयाँसम्म बढ्यो खानेतेलको मूल्य, कसले रोक्ने कालोबजारी ?

काठमाडौं । पछिल्लो एक सातामा खानेतेलको मूल्य ह्वात्तै बढेको छ । विशेष गरेर सन्फ्लावर र सोयाबिन तेलको मूल्य ह्वातै बढेको छ । गत साताबाट सुरु भएको रसिया र युक्रेनको युद्धसँगै नेपालमा अभाव हुने हल्ला चलाएरै मूल्य बढाइएको उपभोक्ता बताउँछन् ।

नेपालले युक्रेन, रसिया र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख ६१ हजारको कच्चा तेल आयात भएको छ ।

यस्तै रसियाबाट २ अर्ब ५८ करोड ७५ लाख ३६ हजार र अर्जेन्टिनाबाट २६ करोड ५१ लाख ८० हजार रुपैयाँ बराबरको आयात भएको छ । रसिया युक्रेन युद्धसँगै अब बजारमा खाने तेलको मूल्य बढ्ने भन्ने र अभाव हुने भन्दै व्यापारीहरुले बजारमा कृत्रिम अभाव सिर्जना गराएको उपभोक्ताको आरोप छ ।

सन्फ्लावरसँगै सोयाबिन तेलको समेत मूल्य बढेको व्यापारीहरु बताउँछन् । नेपालमा सन्फ्लावर तेल युद्ध चलिरहेको रसिया र युक्रेनबाटै आयात हुने भए पनि सोयाविन तेल भने दक्षिण अमेरिकी राष्ट्रहरुबाट बढी आयात हुने गरेको छ ।

भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको ७ महिनामा ३९ अर्ब ६६ करोड ५९ लाख ५६ हजारको तेल आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै अर्जेन्टिनाबाट २७ अर्ब ४४ करोड ८० लाख ८ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

त्यस्तै ब्राजिलबाट ६ अर्बभन्दा बढी र ५ अर्ब भन्दा बढीको पाराग्वेबाट आयात भएको छ । यस्तै युक्रनेबाट ७९ करोडको र इजिप्ट तथा उरुग्वेबाट पनि समान्य आयात भएको छ । यसले सन्फ्लावर तेलको आयात प्रभावित हुने अवस्था देखिए पनि सोयाविन तेलको आयातमा भने खासै प्रभाव पर्ने अवस्था देखिँदैन ।

तर, नेपालमा भने अहिले सन्फ्लावर र सोयाविन दुवै तेलको मूल्य उच्च रुपमा बढेको छ । ‘ठूला व्यापारीले दैनिक तेलको मूल्य बढाइरहेका छन् । रसिया र युक्रेन युद्धले गर्दा मूल्य बढेर आएकोले बढेको उनीहरुको भनाई छ,’ काठमाडौंमा किराना पसल सञ्चालन गरिरहेका एक व्यापारीले भने ।

तेलसँगै मस्यौराको मूल्यसमेत उच्च वृद्धि भएको ती व्यापारीले बताए । उनले भने, ‘एउटा मूल्य प्रिन्ट भएको हुन्छ, त्यो भन्दा बढी तिरेर सामान्य ल्याउनुपर्ने अवस्था छ, अब आउने सामानको मूल्य बढे पनि स्टक सामानको मूल्य बढेको छैन होला नि भन्यो भने सामान नलैजाने भए नलैजानुस् भन्ने जवाफ आउँछ ।’

उद्योगीहरु पनि रसिया युक्रेन युद्धले तेलको मूल्य अन्तर्राष्ट्रियरुपमा नै प्रभावित भएको बताउँछन् । सबैभन्दा धेरै सन्फ्लावर निर्यातकर्ता युक्रेन र रसिया युद्धमा रहँदा त्यसको प्रभावले सोयाविन तलको मूल्यमा पनि परेको श्री राम रिफाइन आयलका सञ्चालक प्रदिप मुरारका बताउँछन् ।

‘रसिया र युक्रेन विश्वमा सन्फ्लावर तेलको ८० प्रतिशत निर्यात हिस्सा रहेको देश हो, यी दुइ देशबीच युद्ध सुरु हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्यो,’ मुरारकाले भने, ‘जसले गर्दा केही मूल्य बढेको हो, तर बजारमा अहिले भनेकोजस्तो पेनिक अवस्था भने हुनु नपर्ने हो, त्यस्तो अभावको अवस्था छैन ।’

दुई साता अगाडि दुई हजारदेखि २२ सय रुपैयाँ रहेको प्रतिकार्टुन तेलको मूल्य अहिले २५ देखि २७ सय रुपैयाँसम्म पुगेको खुद्रा व्यापारी बताउँछन् । तर उद्योगी मुरारका भने त्यति धेरै मूल्य नबढेको दाबी गर्छन् । ‘त्यति धेरै बढेको अवस्था छैन, त्यति बढाउँछ भने त्यो बदमासी हो तर केही न केही प्रभाव त पर्ने नै भयो,’ उनले भने ।

उनले मार्केटमा नयाँ समान आएपछि मूल्य बढ्छ तर एकाएक त्यति मूल्य बढ्न नपर्ने हो, अहिले बजारमा पुरानै समान रहेको बताए । सामानको मूल्य बढ्छ भनेपछि व्यापारीले केही‘प्ले’ गर्ने अवस्था रहे पनि जुन रुपमा मूल्य बढाइएको चर्चा छ त्यस्तो हुन नहुने उनको तर्क रहेको छ ।

उद्योगीहरुले नै बजारमा खाने तेलको मूल्यमा कालो बजारी भएको बताउँछन् । सन्फ्लावर तेलको मुल्यमा वृद्धि स्वाभाविक देखिए पनि सोयाविन तेलमा भने मूल्य बढ्नुपर्ने कारण नदेखिने उनीहरुको तर्क छ । अहिले नयाँ सिपमेन्ट गरेर कच्चा पदार्थ आयात गर्ने अवस्था नरहेको उद्योगी मुरारका बताउँछन् ।

अब नयाँ सामान ल्याउन मूल्य बढ्ने भएकोले अहिले केही मूल्य बढाएर बचेर नयाँ सामानमा नाफा नराखी बेच्नुपर्ने अवस्था रहेको उनको तर्क छ । ‘दुई हजार डलरमा तेल कसले मगाउँछ, यदि मगाएन भने झनै अभाव हुन्छ, २० हजार डलरमा सोयाविन मगाउँदा ३ हजार कार्टुनमा बेच्नुपर्ने अवस्था आउँछ,’ उद्योगी मुरारका भन्छन् ।

‘भोलि भएर मूल्य घट्ने हो अथवा नबिक्ने हो कि थाहा छैन, अहिले नकिन्ने हो भने समयमा आपूर्ति हुँदैन । यो रिस्क पनि उद्योगीको ठूलो छ । त्यसैले अहिले २० रुपैयाँ बढी लिएर भोलि २० रुपैयाँ घाटा खाएर बजारमा एभरेज गरेर बेच्नुपर्छ भन्ने लाग्छ ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने उद्योगीसँग छलफल गर्दा मूल्य वृद्धि नभएको जानकारी उद्योगीले गराएको बताएको छ । विभागले पनि अनुगमान गरिरहेको र तेलको मूल्य बढाएर बेच्ने व्यापारीलाई कारवाही गर्ने विभागका प्रवक्ता हरि पंगेनीले बताए ।

‘उद्योगीलाई हामीले मौखिक निर्देशन दिएका छौं, उहाँहरुले मूल्य नबढाएको बताउनुभएको छ । डिलर, होलसेल वा खुद्रा बिक्रेता कसैले हल्लाको भरमा बढाएको छ भने बजार अनुगमन गरिरहेका छौं कारबाही हुन्छ,’ प्रवक्ता पंगेनीले भने । नेपाली उद्योगीले पाल्म, सोयाविन र सन्फ्वार तेल नेपालमा प्रशोधन गरेर आयातको ठुलो हिस्सा भारत निर्यात गर्ने गर्दछन् ।

तर, विश्वव्यापी रुपमा कच्चा तेलको मूल्य बढेसँगै त्यो तेल भारतीय बजारमा निर्यात गर्दा पनि नेपाली बजारमा थप अभावको अवस्था आएको कतिपयको बुझाई छ । यसैबीच राष्ट्रिय उपभोक्ता मञ्चले खानेतेलको मूल्यमा प्रतिलिटर ६० रुपैयाँसम्म वृद्धि भएको भन्दै आवश्यक कारवाहीको माग गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १५:४६