सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीका नाममा लुटपाट गर्ने आठ जना पक्राउ

काठमाडौं । हामी प्रहरी हौं भन्दै लुटपाट गर्ने समूहका आठ जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका–५ जुम्लाका देविप्रसाद धिताल, धुनेबेसी–३ धादिङका शंकर रेग्मी, महाकाली–२ डडेल्धुराका हिक्मत महरा र शुक्लाफाँटा–४ कञ्चनपुरका सुवाष रतोकी छन् ।

त्यस्तै शुक्लाफाँटा–२ कञ्चनपुरका मिलन बोहरा, याङ्गक–८ पाँचथरका भविन्द्र बेगा, नौमुले–५ सल्लेरी, दैलेखका योगेन्द्रबहादुर चन्द र गौमुखी–६ प्युठानका कमल सुनार पनि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार गत फागुन १२ गते साँझ उनीहरूले काठमाडौं महानगरपालिका–१६ स्थित राजेन्द्र साँकीको फार्मेसीमा लुटपाट गरेका थिए ।

उनीहरूले अबैध औषधि बिक्री गरेको भन्दै फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएर ६५ हजार रूपैयाँ लुटपाट गरेका थिए । उनीहरूको साथबाट ११ थान मोबाइल, ५ थान एटीएम, दुईथान चेक र एकथान घडी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १४:४१