बाँके । गएको माघ २२ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–४ की लीला विष्ट राप्तीपीडित सामुदायिक वनमा घाँसदाउराका लागि गइन् । सो क्रममा नरभक्षी बाघको निसानामा परेपछि घर फर्किनन् ।
सोही घटनाको दुई दिनपछि राप्तीसोनारी–६ की चाँदनी थारू पनि घाँस दाउरा गर्ने क्रममा सोही नरभक्षी बाघको आक्रमणमा परी कहिल्यै घर नफर्किने गरी बिदा भइन् । त्यस्तै, केही समयअघि स्थानीय दुर्गा थारु सोही बाघको आक्रमणबाट घाइते भएकी थिइन् ।
उनी सामान्य उपचारपछि घर फर्किइन् । यही फागुन पहिलो सातामात्रै नरभक्षी बाघको आक्रमणबाट स्थानीय धनबहादुर चलाउनेको ज्यान गएको छ । त्यसपछि बाघको आक्रमणबाट वकिल गद्दी घाइते भए ।
हाल उनी नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत छन् । वन डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी गणेशबहादुर खड्काले घाइते गद्दीको उपचार भइरहेको जानकारी दिए । ‘अस्पताल भर्ना भएको १५ दिनजति भयो,’ उनले भने ।
सूचना अधिकारी खड्काका अनुसार उनको स्वास्थ्यमा सुधार आउँदैछ । लामो समय उपचार गराउनुपर्छ होला । पटक–पटक मानिसलाई आक्रमण गर्दै ज्यान लिने नरभक्षी बाघलाई बुधबार वन डिभिजन कार्यालय बाँकेले नियन्त्रणमा लियो ।
राप्तीसोनारी गाउँपालिका–६ राप्तीपीडित सामुदायिक वनबाट नियन्त्रणपछि बाघलाई वन प्रशासनले बाँके राष्ट्रिय निकुञ्जमा बुझाएको थियो । तर, बाँके राष्ट्रिय निकुञ्जलाई पनि नियन्त्रणमा लिन असहज हुने भएपछि चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार अब नरभक्षी बाघ चितवन राष्ट्रिय निकुञ्जमै रहनेछ । बाघलाई नियन्त्रणमा लिन वन प्रशासनले लामो समयदेखि अनेक जुक्ति लगाउँदै आएको पनि सूचना अधिकारी खड्काले बताए ।
सूचना अधिकारी खड्काका अनुसार अहिलेसम्म बाघको आक्रमणबाट पाँच जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । बाघ नियन्त्रणमा आए पनि राप्तीसोनारीका ग्रामीण बस्तीहरु अझै त्रासमा छन् ।
बाघ नियन्त्रणका लागि वन डिभिजन कार्यालयले २६ गतेदेखि आहारा प्रजाति (डार्ट) राखी सामुदायिक वनका कर्मचारी, भेटेनरी डाक्टर, नेपाल प्रहरी र नेपाली सेना परिचालित थिए । आक्रामक बाघलाई त्यसै समात्न सम्भव थिएन ।
सूचना अधिकारी खड्का भन्छन्, ‘बाघको खाना आहरा प्रजाति राखियो । बाघ आहारा प्रजातिको ठाउँमा घुम्छ । बाघलाई आहारा प्रजातिलाई मारेर खान समय लाग्छ । बाघले डार्ट हानेपछि मार्न र खान समय लाग्छ । त्यसपछि बेहोस हुन थालेपछि समातिन्छ ।’
खड्काले घलाई नियन्त्रणका लागि यसअघि दुई पटक आहारा प्रजाति (डार्ट) राखिए पनि बाघले डार्ट नहानेको बताए । ‘मंगलबार राति चार बजेतिर बाघले डार्ट हानेछ । डार्ट राखेको क्षेत्रमा हामीले स्कान क्यामेरा राखेका थियौँ’ उनले भने ।
बाघले डार्ट हानेपछि क्यामेराले हामीलाई फोटो खिचेर पठाउँथ्यो । त्यसका आधारमा हामी त्यहाँ पुग्यौँ,’ उनले भने । बाघले प्रजाति आहारा (डार्ट) खान थालेपछि वन प्रशासनको टोलीले रुखमाथि चढेर डार्टिङ हानेको थियो ।
‘हामी रुख चढ्यौँ । गनबाट बाघलाई लट्ठ्याउने डोज सुई हान्यौँ । त्यसको केहीबेरमा बाघ लठ्ठिएर ढल्यो । त्यसपछि बाघलाई स्टेचर वा इन्क्लुजर (बाघ राख्ने खोर)मा राखेर नेपाली सेना, वन प्रशासन, नेपाल प्रहरी, उपभोक्ताको समूहलगायतको टोलीले बाँके राष्ट्रिय निकुञ्जमा बुझायो,’ उनले भने ।
बाँके निकुञ्जका अनुसार आक्रामक बाघ व्यवस्थापनका लागि होल्डिङ छ । उक्त होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको निकुञ्जका प्रमुख श्यामकुमार शाहले बताए । ‘यहाँ अव्यवस्थित हुने भएकाले गएराति नै चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको छ । उनले भने ।
चितवनमा व्यवस्थित तरिकाले बाघलाई राखिनेछ,’ उनले भने । आक्रामक बाघलाई नियन्त्रणमा लिएर व्यवस्थापन गरेकाले स्थानीयलाई घाँस दाउरा गर्न सजिलो हुने खड््काले जानकारी दिए ।
खड्काले बाघ आक्रामण पटक–पटक दोहोरिँदा पनि स्थानीय सचेत नरहेको उनको भनाइ छ । मान्छेहरुको हेलचेक्राइका कारण पटक–पटक घटना घटेको उनले बताए । एउटा घटनापछि अर्को घटना हुन नदिन स्थानीय नै सचेत हुनुपर्ने उनले बताए ।
‘हामीले जनचेतनाका काम गर्दै आए पनि घटना रोकिएनन्,’ उनले भने, ‘सुरुमा बाघको आनीबानी हेरौँ । त्यसपछि निदान गर्ने कुरा हो । अहिले तत्काल निकुञ्जकोे कसरामा राखिनेछ,’ उनले भने ।
।