काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्च कर्पोरेसन (एमसीसी) सम्झौता ठूला विरोधीहरुकै समर्थनमा संसदबाट अनुमोदित भएको छ । एमसीसी अनुमोदनपछि नेपालमा ठूलठूला विदेशी सहयोगलाई राजनीतिक स्वार्थका लागि अस्वीकार गर्ने गलत प्रवृत्ति कमजोर भएको राजनीतिक विश्लेषकको टिप्पणी छ ।
अरुण तेस्रो जलविद्युत् परियोजनाबाट हुर्किएको विदेशी सहयोग अस्वीकार गरेर आफूलाई राष्ट्रवादी बनाउने गलत राजनीतिक प्रवत्ति एमसीसी अनुमोदनसँगै कमजोर भएको उनीहरुको टिप्पणी छ । एमसीसी सम्झौता कार्यान्वयनका लागि सबैभन्दा ठूलो विरोधी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)कै समर्थनमा एमसीसी अनुमोदित भएको छ ।
प्रतिपक्षमा रहेको नेकपा एमालेले सम्झौता अनुमोदनका पक्षमा नउभिए पनि त्यसको कार्यान्वयनका पक्षमा आफूलाई उभ्याएको छ । एमसीसी सम्झौता अनुमोदनपछि मंगलबार पत्रकार सम्मेलन नै गरेर एमालेले संसदबाट पारित भएको एमसीसीलाई थप गिजोल्नु र अन्योल थप्नु नहुने बताएको छ ।
एमालेले विज्ञप्ति नै जारी गरेर भनेको छ, ‘पारित भइसकेको परियोजनाबारे राष्ट्रको जनमतलाई विभाजित गर्नु उपयुक्त हुँदैन ।’ एमालेको वक्तव्यसँगै नेपालमा एमसीसी कार्यान्वयनका विरुद्धमा कुनै पनि ठूला दल छैनन् भन्ने देखिएको छ ।
तर, अझै पनि पक्षमै उभिएका दलमा एमसीसी पारित हुनुअघि लिएको नीतिको पराकम्प जान छोडेको छैन । १२ बुँदे व्याख्यात्मक घोषणा पछि एमसीसी कार्यान्वयनका पक्षमा आएको माओवादी केन्द्रभित्र अझै पनि एमसीसीका कारण हलचल जारी छ ।
एमसीसी कार्यान्वयनका विपक्षमा उभिएर सम्झौतामा उल्लेख नै नभएका विषय प्रचार गरेर जनमत निर्माण गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पपकमल दाहालले एमसीसी पारित भएपछि आफू विपक्षमा रहनुको र अहिले पक्षमा रहनुको औचित्य पुष्टि गर्ने प्रयास गर्दै आफूलाई कार्यान्वयनका पक्षमा उभ्याएका छन् ।
तर, उनको पार्टीका कतिपय नेताहरु अहिले पनि एमसीसीलाई राष्ट्रघाती भन्न छोडेका छैनन् । यसले नेकपा माओवादी केन्द्र एक रहनेमै प्रश्न उठाउन थालेको छ । नेकपा एकता केन्द्र मसाल र त्यसको खुला मोर्चा जनमोर्चा नेपाल लिएर ६५ सालमा तत्कालीन नेकपा माओवादीमा मिलाएर एकीकृत नेकपा माओवादी बनाएका नारायणकाजी श्रेष्ठ अहिले अध्यक्ष दाहालका लागि चुनौती बनिरहेका छन् ।
उनले संसदबाट अनुमोदन भइसकेका एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै राष्ट्रवादी नेपालीलाई त्यो स्वीकार्य नहुने बताइरहेका छन् । उनको अभिव्यक्तिलाई अध्यक्ष दाहालले टिप्पणी गर्दै एमसीसीको विपक्षमा बोल्दैमा जनमत ह्वारह्वार्ति आउँछ भन्ने भ्रमबाट बाहिर निस्कन सचेत गराएका थिए ।
दाहालले श्रेष्ठलाई महाकाली सन्धिका विपक्षमा जनमत निर्माण गर्छु भनेर एमाले फुटाएका वामदेव गौतमको हालतबारे याद गर्न पनि ध्यानाकर्षण गराएका छन् । अध्यक्ष दाहालले बामदेवको हालतबारे ध्यानकर्षण गराएको विषयलाई श्रेष्ठले भने ‘पार्टी छोड’ भनेको अर्थमा लिएका छन् ।
अहिले दाहाल र श्रेष्ठको संवाद टुटेको छैन । तर, श्रेष्ठले अध्यक्ष दाहालाई नै सार्वजनिक रुपमा पार्टी छोड भनेका कारण जटिलता आएको बताएका छन् । ‘हामीले पार्टी छाड्ने कुरा त गरेका थिएनौं । तपाईंले सार्वजनिक रुपमै पार्टी छोड भनेका कारण अप्ठ्यारो पर्यो,’ श्रेष्ठले दाहालसँगका भेटबारे भने,‘सोच्न बाध्य बनायो । तर, निर्णय गरेका छैनौँ ।’
श्रेष्ठको यो भनाईले माओवादी फेरि फूट नजिक पुगेको संकेत गरेको छ । यही बेलामा श्रेष्ठले नेकपा माओवादीका नेता विप्लवसँग गरेको भेटवार्ताले यसलाई थप सशंकित बनाएको छ । एमालेमै रहेका केही पूर्वमाओवादी नेताहरुलाई पनि समेटेर नयाँ पार्टी बनाउने अभियान सुरु गर्न लागेको उनीहरु निकट नेताहरुले बताएका छन् ।
विश्लेषक झलक सुवेदी एमसीसीका विषयमा माओवादी केन्द्रको विचार नै नक्कली भएको भन्दै कतिपय नेताहरु अहिले पनि त्यही नक्कली विचारमै अडिग रहेकाले उनीहरुमा फूट आए आश्चर्य मान्नु नपर्ने बताउँछन् ।
‘सत्तामा रहेको पार्टीले कूटनीतिक विषय उठान गर्दा संवेदनशील हुनुपर्ने हो तर, माओवादीका कतिपय नेताहरु अहिले पनि विगतमा लिएको नक्कली विचारकै पक्षमा अडिग देखिन्छन्, यसकारण माओवादी यही विषयले फूट्यो भने आस्चार्य मान्नुपर्दैन,’ सुवेदीले भने, ‘यदि यही कारण पार्टी फूट्छ भने त्यो अर्को हास्यास्पद विषय हो ।’
उनले विचारको राजनीति गर्छु भन्नेले एउटा परियोजनाका पक्षमा विपक्षमा उभिएर फूटसम्मका निर्णय गर्नु दुनियाकै लागि हास्यास्पद विषय हुने बताए । सुवेदी त माओवादीभित्र एमसीसीबाट भन्दा सत्ता राजनीतिले असन्तुष्टि देखिएको भन्दै नारायणकाजी सहितको असन्तुष्टि त्यसको पनि परिणाम भएको बताउँछन् ।
विश्लेषक डा. विष्णु दाहाल भने नेपालमा उग्रपन्थी विचार बोक्ने दल नभएको अवस्थामा त्यसको ठाउँ लिन माओवादी फेरि फूट्न सक्ने बताउँछन् । ‘एमसीसी जस्ता परियोजना लागु हुन नदिने, लोकतान्तिक शक्तिविरुद्ध षडयन्त्रका जासुसको आरोपबाट बदनामको प्रयत्न गर्ने र देश विकासको सट्टा आफ्नो अस्तित्व रक्षा गरिरहने विचार एमसीसीमा पुगेर कमजोर भएको छ,’ दाहालले भने ।
उनले त्यो विचारको भ्याकुममा नारायणकाजी श्रेष्ठसहितका कम्युनिष्ट नेताहरुले आफूलाई सुरक्षित देखिरहेका हुनसक्ने बताए । उनले झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठ, नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरुको मोर्चाबन्दीमार्फत चुनावी गठनबन्धन गरेर फरक माहोल बनाउन प्रयत्न हुनसक्ने बताए ।
‘अझै पनि एमसीसीविरुद्धको जनमत क्यास गर्न सके त्यसले राम्रै परिणाम दिन्छ भन्ने एउटा समूह छ,’ विश्लेषक दाहालले भने, ‘त्यो समूह एक भएर चुनावमा जान आफ्नो पार्टी छोड्ने नेताहरु देखा पर्न सक्छन् र एमसीसी पक्षधरलाई राष्ट्रघाती करार गर्दै आफ्ना पक्षमा मत माग्ने प्रयास गर्न सक्छन् ।’ उनले त्यस्तो विश्वास भएका नेताहरुले पार्टी छोड्ने आँट निकाल्न सक्ने उनको बुझाई छ ।
विश्लेषक अरुण सुवेदी अन्तर्राष्ट्रिय परिस्थिति नबुझ्ने परंपरागत सोच भएकाहरुबाट माओवादी चोइटिन सक्ने बताउँछन् । ‘अन्तर्राष्ट्रिय परिस्थिति नबुझ्ने र वास्तविकतासँग आफूलाई अनुकूलन गर्न नसक्ने केही परंपरागत कथित कम्युनिष्टका कारण माओवादी चोइटिन सक्छ तर, भर्टिकल विभाजन भने आउँदैन,’ सुवेदीले भने, ‘त्यसले जनमतमा खास अर्थ राख्दै्रन ।’
उनले नेपालमा कम्युनिष्ट पार्टीहरु चिलनका प्रतिक बनिरहेको भन्दै उनीहरुले कहिले के गर्छन् भनेर भन्नै नसकिने बताए । ‘राजा सार्वभौसत्ता सम्पन्न हुनुपर्छ भन्ने र उत्तर कोरियाको किम परिवारको जन्मोत्सव मनाउनेहरु एमसीसीका विरुद्धमा एकैठाउँ छन्,’ सुवेदीले भने ।
उनले त्यस्तो कुहिएको सोच राख्नेहरु अहिले छुट्टाछुट्टै रहेको बताए । उनले भने, ‘यिनीहरुको कुनै औचित्व छैन । त्यस्तै औचित्यहीन नयाँ एउटा समूह निर्माण होला अरु केही पनि हुँदैन ।’ उनले ‘लाल मनोरोग’ले विकासलाई प्रभावित गरिरहेको भन्दै त्यसकाविरुद्ध बलियो राजनीतिक एकता आवश्यक भएको बताए ।
।