सूचनाको शक्ति - The Power Of Information

        

चार दलिय गठबन्धनका शीर्ष नेताहरू बैठकमा

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक अहिले जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएयता सत्ता गठबन्धनका दलबीच पहिलोपटक बैठक बसेको हो ।

बालुवाटार स्रोतका अनुसार एमसीसी प्रतिनिधि सभाबाट पारितपछिको परिस्थिति, आगामी बाटो, स्थानीय निर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेता बैठकमा बसेका हुन् । विभिन्न देशमा राजदूत नियुक्ति पनि बैठकको एजेन्डा रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

यस्तै, गठबन्धन अब कसरी अघि बढ्ने भन्ने विषयमा पनि बैठकमा गहन छलफल हुने बताइएको छ । स्थानीय तह निर्वाचन, महाअभियोग प्रस्ताव, संसद्मा जारी अवरोध लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री गगन थापालगायत सहभागी छन् ।

सुरुवातमा सत्ता गठबन्धनमा पाँच दल रहेकामा राष्ट्रिय जनमोर्चा अलग भइसकेको छ । अहिले गठबन्धनमा चार दल छन् । एमसीसी अनुमोदनमा मतभेदकै कारण सत्तारूढ नेकपा माओवादी केन्द्र फुट्ने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार ११:५२