सूचनाको शक्ति - The Power Of Information

        

एमसीसीको विपक्षमा मतदान गर्दै जनमोर्चा

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चा (राजमो)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष समेत रहेकी सांसद दुर्गा पौडेलले आफू एमसीसीको विपक्षमा मतदान गर्ने निर्णयमा अडिग रहेको बताइन् । ‘हामी पूर्वअडानमा कायम छौँ । एमसीसीको विपक्षमा मतदान गर्छौँ,’ उनले भनिन् ।

एमसीसीको विपक्षमा मतदान गर्दा गठबन्धनबाट बाहिरिनु परे पनि तयार रहेको उनको भनाइ छ । पाँच दलीय गठबन्धनको बैठक भनिए पनि आज बिहान बालुवाटारमा बसेको बैठकमा जनमोर्चाका कोही पनि सहभागी थिएनन् ।

‘उहाँहरूले केही भन्नुभएको छैन । एमसीसीको विपक्षमा मतदान गर्दा गठबन्धनबाट बाहिरिनुपर्छ भने तयार छौँ,’ सांसद पौडेलले भनिन् । प्रतिनिधिसभामा राजमोबाट पौडेल मात्रै सांसद छिन् ।

उक्त पार्टीले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न नहुने अडान राख्दै आएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बिहान बसेको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार १३:५०