सूचनाको शक्ति - The Power Of Information

        

एमसीसी प्रकरण

अन्ततः एमसीसी अनुमोदन गर्ने निष्कर्षमा सत्ता गठबन्धन

एमसीसीलाई हतियार बनाएर गठबन्धन तोड्ने एमालेको प्रयास असफल

काठमाडौं । अन्ततः सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गर्न सहमत भएका छन् । तर त्यसको औपचारिक निर्णय भने आज आइतबार प्रतिनिधिसभाको बैठकअघि गर्ने भएका छन् ।

संसदमा टेबल एमसीसीमा छलफल थाल्न अर्थात् अनुमोदन प्रक्रिया अघि बढाउन आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यसअघि गत बिहीबार र शुक्रबार दुवै दिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सत्ता गठबन्धनमा सहमति हुन नसकेकै कारण स्थगन गरिएका थिए ।

त्यसपछि सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोडेर भए पनि एमसीसी संसदबाट पारित गराएरै छाड्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता गर्न थालेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो अडानमा लचकता अपनाएका हुन् ।

शनिबार जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा पेरिसडाँडामा आयोजित सभामा पनि प्रचण्डले एमसीसीकै कारण गठबन्धनै टुट्ने र फेरि प्रतिगनकारी शक्ति अगाडि आउने खतरा देखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए । साथै एमसीसीको समस्या पनि समाधान हुने र प्रतिगमनविरुद्धको संघर्षबाट जन्मेको गठबन्धन पनि जोगिने उपायको खोजी भइरहेको जानकारी पनि दिएका थिए ।

यसै क्रममा यसअघि संशोधन र परिमार्जनबिना एमसीसी अगाडि नबढ्ने अडान लिइरहेका माओवादी केन्द्र र एकीकृत समाजवादी व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्न सहमत भएका हुन् । यस विषयमा पार्टीगत निर्णय गर्न दुवै दलले आज बैठक राख्दै छन् । माओवादी केन्द्रका एक नेताका अनुसार एमसिसीबारे औपचारिक निर्णय गर्न आज बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पूर्वस्थायी कमिटीका सदस्यहरूको बैठक बस्दैछ ।

यसैगरी एकीकृत समाजवादीले पनि बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएको छ । शनिबार एमालेसँग वार्ता गर्न यसका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका नेपाली कांग्रेसका एक नेताले सत्ता गठबन्धनभित्रै एमसीसी अनुमोदनको सहमति बनेको पुष्टि गरेका छन् । ती नेताले भने, ‘बालकोटमा एमालेसँग सहमति खोजिरहेका बेला सत्ता गठबन्धनकै दल सहमत भएको खबर आयो, त्यसपछि हामी बालकोटबाट फर्कियौं ।’

सत्तारुढ नेकपा माओवादी केन्द्रका एक नेताले पनि गठबन्धन जोगाउन एमसीसी अनुमोदनमा सहमति जुटाइएको पुष्टि गरे । उनले भने, ‘मध्यमार्गी बाटो खोज्ने कुरा भइरहेको थियो । संकल्प प्रस्तावजस्तो पास गर्ने कुरा भइरहेको थियो, गठबन्धन जोगाउन मध्यमार्गी बाटो अपनाएर एमसीसी पास गर्ने निष्कर्षमा पार्टी पुगेको छ ।’ योसँगै एमसीसीलाई हतियार बनाएर गठबन्धन तोड्ने एमालेको प्रयास असफल भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार ०८:५३