सूचनाको शक्ति - The Power Of Information

        

सिक्टा सिँचाइको ४५ किलोमिटर नहर मर्मत गरिँदै

बाँके । सिक्टा सिँचाइ आयोजनाको पश्चिमतर्फको ४५ किलोमिटर मूल नहरको सरसफाइ र मर्मत भइरहेको छ ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण पूरा भएर पानीसमेत बगाइएको उक्त मूल नहरको केही ठाउँमा हिलो, माटो र फोहोरले पुरिएको छ र केही ठाउँमा टुटफुट भएको छ ।

त्यसैले सरसफाइ र मर्मत भइरहेको आयोजनाका सूचना अधिकारी डिभिजन इन्जिनियर विशाल यादवले बताए । उनले अगैयास्थित आयोजनाको मुख्य बाँधस्थलबाट पश्चिमतर्फको चार किलोमिटरदेखि १७ किलोमिटरसम्मको मूल नहरको मर्मत गर्नुपर्ने भएको बताए ।

अहिले १३ किलोमिटर नहरको मर्मत भइरहेको उनले बताए । उनले पुष्पाञ्जलि पीएस जेभी निर्माण कम्पनीमार्फतउक्त मर्मत र सरसफाइको काम भइरहेको हो । निर्माण कम्पनीले आगामी जेठ १५ सम्म मर्मत पूरा गरिसक्ने बताइएको छ ।

उक्त १३ किलोमिटर नहरको मर्मतसम्भारसँगै आयोजनाले आफ्नै कार्यालयको स्रोतसाधनबाट १७ किलोमिटरदेखि २० किलोमिटरसम्मको ओभरी पुल क्षेत्रको नहरको सरसफाइ र मर्मत गरिरहेको सूचना अधिकारी यादवले बताए ।

उनले नहर मर्मतको काम वर्षाअघि नै सम्पन्न गरिसक्नुपर्ने भए पनि हाल आयोजनालाई ढुङ्गा र गिट्टीको अभाव हुँदा समस्या भएको बताए । आयोजनाका अनुसार मर्मत गर्नुपर्ने नहरको धेरै भाग बाँके राष्ट्रिय निकुञ्जभित्र पर्छ ।

निकुञ्जको जङ्गल क्षेत्रबाट बग्ने खोलाबाट ढुङ्गा गिट्टी निकाल्न निकुञ्जले नदिएपछि सामग्रीको समस्या भएको हो । केही उपाय अपनाएर पनि नहर मर्मत गरिने यादवले बताए ।

यसअघि नै निर्माण पूरा गरेर पानीसमेत बगाई सञ्चालनमा आएको उक्त ४५ किलोमिटर नहरबाट त्यसवरिपरिका धेरै किसानले सिँचाइ सुविधा पाउन थालेका छन् । सोही कारण गत वर्ष सो क्षेत्रका अधिकांश किसानले समयमै धान रोप्न आकाशको भर पर्नु परेको थिएन ।

हिउँदे बालीका लागि पनि पानीको कुनै समस्या भएको छैन । सिक्टा सिँचाइ आयोजनाको मुख्य बाँधस्थल अगैयादेखि पूर्वी क्षेत्रको ५३ किलोमिटरको पूर्वी शाखा नहरको निर्माण कार्य पनि ६५ प्रतिशत पूरा भइसकेको र थप निर्माणका लागि प्रक्रिया सुरु गरिएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार ०८:३१