सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन–२०७९

चुनावी प्रचारमा ‘गाउँका महिला’

बाँके । स्थानीय तह निर्वाचनको मिति घोषणापछि राजनीतिक दलहरू चुनावी तयारी र जोडघटाउमा व्यस्त हुन थालेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र चुनावी रणनीति बनाउन लागेका हुन् ।

अघिल्लो निर्वाचनको परिणाम विश्लेषण गर्दै जितेका स्थानमा विरासत जोगाउने, अरूका किल्ला भत्काउने र नयाँ ठाउँमा किल्ला गाड्ने गरी दलहरू अघि बढेका छन् । बाँकेको नेपालगन्ज सहर आर्थिक र राजनीतिक केन्द्र थियो ।

यहाँबाट सुरु हुने राजनीतिक गतिविधिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै जिल्ला प्रभावित तुल्याउँथ्यो । अहिले समय फेरिएको छ । नेपालगन्ज सहरका १ लाख ६६ हजार २५८ बासिन्दालाई राजनीतिक दौडमा गाउँले उछिनेको छ ।

सरकारले स्थानीय तहको निर्वाचन घोषण गरेपछि ग्रामीण बस्तीका बासिन्दा उत्साहित हुँदै चुनावी अभियानमा जुटेका छन् । बाँकेको गुरुवा गाउँका महिला निर्वाचनको लहरलाई घरघरै पुर्याउन लागि परेका छन् ।

गाउँमा भोट माग्ने क्रम तीव्र छ । ‘गाउँका जनतालाई भेला गर्दैछौं । टोल–मोहल्लाका महिला र पुरुष जम्मा भएर छलफल गर्दैछौं,’ स्थानीय समारा रैदासले भनिन्, ‘कसलाई भोट हाल्ने त्यसको पनि छिट्टै टुंगो लगाउँछौं ।’

समराको भनाइले सहरभन्दा ग्रामीण बस्तीलाई चुनावको लहरले छोइसकेको प्रस्ट पार्छ । जानकी गाउँपालिकामा २३ हजार १५० जना महिला छन् । जिल्लामा स्वतःस्फूर्त राजनीतिक दौडमा उत्रने मधेसी महिला कमै देखिन्छन् ।

तर, जानकी गाउँपालिका–५ गुरुवा गाउँले बाँकेका ३ लाख ७ हजार महिलालाई उत्साहित तुल्याउने सन्देश दिएको छ । ‘गाउँमा कुनै पुरुष मैदानमा देखिएका छैनन्,’ स्थानीय रामकुमार यादवले भने, ‘तर, यो चुनावमा राजनीतिक पार्टीले उम्मेवार नदिँदै एक जना महिलाले आफ्नो प्रचार सुरु गरिसकिन् ।’

गुरुवाबाहेक अन्यत्र कुनै उम्मेदवार मैदानमा देखिएका छैनन् । ग्रामीण बस्तीमा निर्वाचनका बारेमा भइरहेका धेरैजसो छलफल र विचारविमर्श भ्रष्टाचारमुक्त स्थानीय सरकार कसरी बनाउने भन्नेमै केन्द्रित हुने गरेको पाइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार १४:२७