सूचनाको शक्ति - The Power Of Information

        

देवता खोज्दै पिथौरागढबाट बैतडी

‘गोल्ज्यु यात्रा’मा निस्किएको भारतीय यात्री दल

महेन्द्रनगर । सीमावर्ती पिथौरागढका केही भक्तजनहरु एक महिने धार्मिक यात्रामा निस्किदै छन् गोल्ज्यु देवताको दर्शन गर्न । आफ्नो क्षेत्रका गोल्ज्यु मन्दिरहरुमा त पुग्ने नै छन्, यात्राका दौरान बैतडीका गोल्ज्यु मन्दिरहरु पनि खोज्ने छन् । यो यात्राले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध बलियो बन्ने उनीहरुको भनाई छ ।

‘भारतमा गोल्ज्यु/गोलु नामले प्रशिद्धी कमाएको देउतालाई बैतडीमा फरक शव्दले प्रयोग गरिन्छ । गोल्ज्यु शिव भगवानकै रुप हो । काली वारिको ग्वाल्लेक केदार पनि गोल्ज्यु नै हो,’ सुदूरपश्चिमको संस्कृतिका जानकारसमेत रहेका पत्रकार डीआर पन्त भन्छन् । पिथौरागढको बोना गाउँबाट धार्मिक यात्रा सुरू हुने छ ।

२५ वटा स्थानहरुमा पुगेर एक महिनामा यात्रा समापन गरिने छ । पिथौरागढबाट झुलाघाट हुँदै भारतीय यात्री बैतडी सदरमुकाम पुग्ने छन् । बैतडीबाट महेन्द्रनगर फर्केर फेरी उत्तराखण्डकै चम्पावत, अल्मोडा, पौडी टिहरी, हरिद्वार, उधमसिंह नगर हुदै यात्रा हल्द्वानीमा गएर टुंगिने छ ।

घोडाखालस्थित गोल्ज्यु मन्दिरमा यात्राको समापन हुने कार्यक्रम तय गरिएको छ । उत्तराखण्ड र नेपालको सांस्कृतिक समबन्धहरुलाई मजबुत बनाउन र ग्रामिण शिक्षा, स्वास्थ्य, बेरोजगारीको समस्या अध्ययन गर्न ‘अपनी धरोहर संस्था’ ले गोल्ज्यु यात्रा गर्ने भएको हो ।

दुई अप्रिलको पहिलो नवरात्रका दिन पिथौरागढको मुनस्यारी क्षेत्रको बोना गाउँबाट यात्रा सुरु गर्ने कार्यक्रम छ । एक महिनामा यात्रा उत्तराखण्ड र नेपालका केही स्थानहरु छिचोल्ने छ । उत्तराखण्डको संस्कृति संरक्षण र सम्वद्र्धनका लागि प्रबुद्ध व्यक्तिहरुले ‘अपनी धरोहर’ संस्था गठन गरेका छन् ।

प्रस्तावित गोल्ज्यु यात्रालाई लिएर पदाधिकारीहरुले हल्द्वानीको आवंलेश्वर महादेव मन्दिरमा हालै बैठक गरे । सचिव विजय भट्टले बोना गाउँबाट यात्रा बैतडी पुग्ने जानकारी दिए । यात्राका क्रममा विभिन्न ठाउँहरुमा प्रबुद्ध व्यक्तिहरुसँग भेटेर भौगोलिक स्थिति र जन समस्याहरुका बारेमा चर्चा परिचर्चा गरिने सचिव भट्टले बताए ।

यात्राको जिल्ला संयोजकमा श्याम सुन्दर रौतेला, नगर यात्रा संयोजकमा प्रमोद भट्ट, मनोज जोशी, सुनीता जोशी, धीरज त्रिपाठी, रविशंकर जोशी, संजय गुप्ता, आवेश गर्ग, गोपाल बिष्ट, निश्चल अग्रवाललगायत रहेको संस्थाका सचिव भट्टले बताएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार १३:४८