सूचनाको शक्ति - The Power Of Information

        

स्वीकृति नलिएर प्रकाशन गरेका पात्रो तथा भित्तेपात्रो जफत

नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को २० पुस ०७७ को बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समितिको स्वीकृति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक पर्न जाने भएकाले त्यसो नगर्न समितिले अनुरोध गरेको हो । समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो तथा भित्तेपात्रोका विषयमा बजार अनुगमन भइरहेको पनि समितिले जनाएको छ ।

समाजमा भ्रम फैल्याउने उद्देश्यले प्रकाशन हुने समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रोलाई बजार अनुगमनका क्रममा जफत गरी प्रकाशकलाई कानूनअनुसार कारबाही गरिने पनि समितिको विज्ञप्तिमा उल्लेख छ ।

यससम्बन्धी थप जानकारी आवश्यक परे नारायणहिटीस्थित समितिको कार्यालय वा सम्पर्क नम्बर ९८४१६८८८८९ मा सम्पर्क गर्न सकिने कार्यकारी निर्देशक ढुङ्गेलले बताए । समितिको गठन आदेश जारी भएपछि यस वर्ष पहिलो पटक बजार अनुगमन गरेरै पात्रो र भित्तेपात्रोलाई नियमन गर्न लागिएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार ११:४६