सूचनाको शक्ति - The Power Of Information

        

अपराध

प्रहरी मुठभेडमा गाँजा तस्कर मारिए, बाह्रबोर बन्दुकसहित तीन जना पक्राउ

बाँके । बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । प्रहरीको गोली लागेर एक जना गाजा तस्कर मारिएका छन् । नाम नखुलेका एक जना तस्कर मारिएको र उनको समूह नेपालबाट भारततर्फ गाजा लगिरहेको अवस्थामा मुठभेड भएको प्रहरीले जनाएको छ । बुधबार राति घटना भएको हो ।

७/८ जनाको तस्कर समूहले प्रहरीमाथि एक राउन्ड गोली प्रहार गरेको थियो । प्रतिरक्षामा गोली चलाउदा भारतीय नागरिकको कम्मरमा गोली लागेको प्रहरीले जनाएको छ । घाइते भई उपचारका लागि कलैया अस्पताल ल्याएकामा उनको राति १ बजेर ३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

प्रहरीको जवाफी फायरपछि तस्करले गाजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता थापाले बताए । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेको थापाले जानकारी दिए ।

यसैबीच, कैलालीको कैलारी गाउँपालिकाबाट हतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलारी गाउँपालिका–३ का ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरी रहेका छन् ।

सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कठायत नेतृत्वको गस्ती टोलीले आज बिहान साढे ४ बजेतिर कैलारी गाउँपालिका–५ छोटीपलियाबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक थान बाह्रबोर बन्दुक र बन्दुकमा प्रयोग हुने पाँच थान टोटा/कार्टिज र तीन थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी बलको ३४ नम्बर गणले जनाएको छ ।

से २ प ८९२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा हतियारसहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार ११:३९