काठमाडौं । ‘विवाह गर्ने उमेरकी एउटी छोरी आफ्नो सपना छाडेर समाज विकासको सपनासँग जोडिनु अरु छोरीहरुका लागि हिम्मत हो । कुनै दलको झण्डा नबोकी स्वतन्त्ररुपमा मेयरमा उठेकी छु,’ मंगलबार साँझ काठमाडौँको राइजिङ मलमा भेटिएकी ३० वर्षीया नितु खड्काले भनिन्, ‘युवाले चाहे परिवर्तन सम्भव छ ।’ अस्पतालमा बिरामीको सेवा गर्दै गर्दा नितुले देखेकी छन् आम मानिसका पीडा ।
उनको गाउँमा उनकी आमाले कथाजसरी सुनाएको पानीको दुःख आज पनि उस्तै छ । उनलाई बाग्लुङ नगरपालिकाको मेयर बनेर नगरलाई स्मार्ट सिटी बनाउनु छैन । भन्छिन्, ‘कम्तीमा आमाहरुले पानीका लागि एक बिहान खर्लप्पै छुट्याउनु नपरोस् । गाउँसम्म पुग्ने मोटर बाटो होस् । आफ्नै ठाउँमा नागरिकले स्वास्थ्य उपचार पाउन सकून् ।’ आफ्नो ठाउँको विकासका लागि आफैँ नतातेसम्म नहुने उनको अनुभव छ ।
‘म स्वतन्त्र रुपमा जाँदा अलि बढी विकास गर्न सक्छु । त्यहाँ राजनीतिकरण हुँदैन् । कुनै राजनीतिक पार्टीलाई समातेपछि त्यहाँ आफ्नै एजेन्डा हुने रहेछन् । अलग्गै प्रोसेस हुने रहेछ,’ उनी भन्छिन्, ‘ती सबै कुरा मिलाउँदा मिलाउँदै विकासको काम पछि पर्ने रहेछ । त्यसैले पनि राजनीतिक पार्टीबाट चुनिएका र सम्भावना भएकाहरु पनि असफल भएका छन् ।’ एकीकृत समाजवादी छाडेर उनी स्वतन्त्र उम्मेदवार बन्न लागेकी हुन् ।
स्वतन्त्र रुपमा उम्मेदवार भएर जित हासिल गर्नु निकै चुनौतीपूर्ण हुने उनले बुझेकी छन् । तर, अहिलेका जनता यो अथवा त्यो पार्टीबाट दिक्दार भैसकेको अनुभूति गरेकै कारण आफू स्वतन्त्र रुपमा उठ्न लागेको उनको तर्क छ । भन्छिन्, ‘जनतालाई कुनै पार्टी ठूलो बनाउनु छैन । उनीहरुलाई विकास चाहिएको छ । त्यसैले काम गर्न चाहने युवालाई मतदान गर्ने कुरामा म विश्वस्त छु ।’ अस्पतालमा बिरामीको सेवामा तल्लीन नितुले समाज सेवाको लागि राजनीतिक नेतृत्व लिन चाहेको बताएकी छिन् ।
उनको नर्स बन्ने सपना भने आफैँ बिरामी भएपछि बनेको थियो । त्यसबेला उनी अध्ययनका लागि युरोप जाने तयारी गरिरहेकी थिइन् । त्यहिबेला उनलाई एपेन्डिसाइटिस भएपछि काठमाडौंको एभरेस्ट अस्पतालमा भर्ना भइन् । साथमा थिए उनका बुबा । छोरीको सेवामा खटिएका नर्सलाई देखेर प्रभावित भएका नितुका बुबाले अस्पतालमै भने, ‘मेरी छोरी पनि तपाईंजस्तै नर्स बनेको हेर्न मन छ ।’ बुबाको त्यही बचनले उनको मन नर्सिङतिर मोडियो ।
बाग्लुङ नगरपालिकाको रामरेखा गाउँमा जन्मिएकी नितुका बुबा कृष्णबहादुर खड्का अवकाश प्राप्त लाहुरे हुन् । उनकी आमा रजमतीको जीवन घरेलु कामकाजमा बितिरहेको छ । कृष्णबहादुर र रजमतीका तीन छोराछोरीमध्ये नितु जेठी छोरी हुन् । नितुले मेयरमा उठ्ने घोषणा गरेसँगै न्युजिल्यान्डको एक नगरपालिकाका मेयरले विकास मोडल बनाउन सहयोग गर्ने बताएका छन् । नितु आफैँले भने निर्वाचनका लागि ठोस योजना बनाइसकेकी छैनन् ।
‘म अहिले नै योजना सुनाउन सक्दिनँ । किनभने भाषण गरेजस्तो सजिलो काम गर्न हुँदैन,’ उनी भन्छिन् । उनले गर्ने कामका विषयमा योजना तयार गर्न उनले एउटा टोली बनाएकी छन् । आफ्नो नगरका १४ वटा वडामा जाने र त्यहाँको आवश्कता जनमानसबाटै बुझेर काम गर्ने योजनामा छिन् । सन् २०१५ मा पीसीएल नर्सिङ उतीर्ण गरेकी नितुले एक वर्ष डायालिसिस सेन्टरमा काम गरिन् । त्यहाँ काम गर्दा मिर्गौला फेल भएर डायालिसिस गराइरहेकाहरुको पीडा देखेर उनी कयौँ पटक लुकेर रोएकी छिन् ।
उनले होप इन्टरनेसल कलेजबाट बीएन गरेकी छिन् । नितुले वेलनेस टिममा आवद्ध भएर स्वास्थ्य जनचेतनाका काम पनि गरेकी छिन् । कोरोना कालमा गाउँमा स्वयंसेवामा खटिएकी नितुले बाग्लुङ नगरपालिकाका सबै वडाका समस्या नजिकबाट नियाल्ने अवसर पाइन् । त्यसपछि उनलाई लाग्यो, अब परिवर्तन गर्नुपर्छ । भन्छिन्, ‘मेरो हजुरबुबाको पालामा सुरु भएको गलकोट जाने सडक अझै बनिसकेको छैन । परिवर्तनका लागि स्थानीयस्तरमै नेतृत्व लिनु पर्छ । त्यही परिवर्तनका लागि म नेतृत्व लिन तयार भएकी हुँ ।’
।