बाँके । बाँके प्रहरीले १५० ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । एकाविहानै बर्दिया बढैयाताल गाउँपालिका–१ शान्तिपुरका २४ बर्षिय प्रविण बिसीलाई पक्राउ गरेको हो ।
बिसीलाई नेपालगन्ज उपमहानरपालिका–१६, चौलिका चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा बिसीले लगाएको ज्याकेटको खल्तीमा लुकाईछिपाई राखिएको अवस्थामा १५० ग्राम लागुऔषध ब्राउनसुगर र साथबाट तीन हजार भारतीय रुपैयाँ बरामद भएको जनाइएको छ ।
पक्राउ परेका बिसी विगत एक वर्षदेखि लागुऔषध सेवनसँगै कारोवारमा संलग्न रहेको पनि प्रहरीले जनाएको छ । उक्त लागुऔषध रुपैडिहाका एक जना कारोबारीसँग ४ लाख रुपैयाँमा खरीद गरेर ल्याएको खुलेको छ ।
बिसीले खरीद गरेर ल्याएको लागुऔषध सडक मार्ग प्रयोग गरी काठमाडौं लैजाने उद्देश्यले रहेको पनि खुलेको छ । कारोबारमा अन्य व्यक्ति पनि संलग्न रहेको बुझिएकाले खाजतलास जारी रहेको पनि प्रहरीले जनाएको छ ।
पक्राउ परेसँगै बिसीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए । उनका अनुसार लागूऔषध नियन्त्रण ऐन २०३३ को परिछेद १४ को उपदफा १ को ६(३) बमोजिम १५ वर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना रहेको छ ।
।