सूचनाको शक्ति - The Power Of Information

        

समाचार

देशभर ५३ हजार शिक्षकको दरबन्दी अभाव

काठमाडौं । हाल देशभर ५३ हजार १५८ शिक्षकको दरबन्दी अभाव छ । माध्यामिक तहमा २४ हजार ८३५, निम्न माध्यामिक तहमा २४ हजार ४१ र प्राथमिक तहमा ३ हजार ९२२ पदमा शिक्षक दरबन्दी अभाव रहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांक छ ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष महाश्रम शर्माको संयोजकत्वमा गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले सामुदायिक विद्यालयमा कुल ५७ हजार ५६ शिक्षक दरबन्दी कम भएको प्रतिवेदन बुझाएको थियो । यसमा केही दरबन्दी मिलान भएका छन् ।

गत मंसिर २९ गते आयोगले रिक्त दरबन्दीमा विज्ञापन गरेको छ । तर अहिले पनि ५० हजारभन्दा बढी शिक्षक अभाव छ । जसको व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने देखिन्छ । केन्द्रको तथ्यांकअनुसार अहिले सामुदायिक र संस्थागत गरी देशभर कुल ३५ हजार ५२० विद्यालय छन् ।

सामुदायिक विद्यालयको संख्या २८ हजार ८३३ छ । यी सामुदायिक विद्यालयमा ५७ लाख १३ हजार ७९० जना विद्यार्थी अध्ययनरत छन् । यी विद्यार्थीलाई अध्यापन गराउने स्थायी र राहत शिक्षकको संख्या १ लाख ५३ हजार ५३८ छ । यो संख्या पर्याप्त नभएको कार्यदलका संयोजक शर्मा बताउँछन् ।

‘विद्यार्थीको संख्या बढ्दै गएपछि शिक्षकको दरबन्दी पनि थप गर्नुपर्छ । विषयगत शिक्षक दरबन्दी छैन । प्राथमिक शिक्षकको मात्र दरबन्दी छ । निमावि र माविमा शिक्षकको दरबन्दी न्यून छ । दरबन्दी अभाव हुँदा शिक्षण सिकाइमा प्रभाव परेको छ,’ उनी भन्छन् । कार्यदलले एउटा कक्षा कोठामा हिमाली क्षेत्रमा ४० जना, पहाडी क्षेत्रमा ४५ र तराईमा ५० जना विद्यार्थी राख्न सकिने सुझाव दिएको थियो ।

तर यसमा पनि पुनर्विचार गर्नुपर्ने अवस्थामा दरबन्दी नै थप हुन नसक्नुले राज्यको सार्वजनिक शिक्षाप्रतिको दृष्टिकोण नै दूरगामी हुन नसकेको संयोजक शर्माको भनाइ छ । ‘धेरै वर्षसम्म माथिल्लो तहमा शिक्षक थप्ने काम भएको छैन,’ उनले भने, ‘माध्यामिक तहको शिक्षक आवश्यकता बुझेर थप्नुपर्छ ।’

तीन विषयका शिक्षक अभाव धेरै

मावि र निमावि तहमा विषयगत शिक्षक नै नभएका विद्यालयको संख्या पनि मुलुकमा कम छैन । ६ हजार ५०१ माध्यामिक विद्यालयमध्ये ७१ वटामा मात्रै गणित, विज्ञान र अंग्रेजी तीनै विषयका शिक्षक छन् । ९ हजार ८५९ निम्न माध्यामिक विद्यालयमध्ये ३३३ वटामा मात्र यी तीनैवटा विषयका शिक्षक कार्यरत छन् ।

मावि र निमावि तहमा समान तह र दरबन्दीमा कार्यरत विज्ञान, गणित र अंग्रजी शिक्षकको संख्या ज्यादै न्यून छ । देशभर सबैभन्दा बढी विज्ञान विषयका शिक्षकको अभाव देखिन्छ । ५ हजार २९१ मावि र ८ हजार ४४४ निमाविमा विज्ञान शिक्षक छैनन् । विज्ञानपछि गणित शिक्षकको कमी छ । ४ हजार ८९९ मावि र ७ हजार ७९८ निमाविमा गणित विषयको शिक्षक दरबन्दी छैन ।

यसैगरी २ हजार ३५४ मावि र ३ हजार ४३६ निमाविमा मात्र अंग्रेजी विषयका शिक्षक छन् । यस्तै गत मंसिर २९ गते खुलाइएको माध्यामिक शिक्षकको विज्ञापनमा अंग्रेजीमा ३१२, गणितमा २८९ पदका लागि आवेदन मागिएको छ । यस्तै विज्ञानमा ४३५, सामाजिक अध्ययनमा २०१ र अर्थशास्त्रमा १० जनाका लागि विज्ञापन गरिएको छ ।

कार्यदलले प्रारम्भिक बाल विकासमा कार्यरत सहयोगी कार्यकर्तालाइ प्राथमिक तहको शिक्षक दरबन्दीमा कायम गर्न, राहत शिक्षकलाई पनि स्थायीको प्रक्रियामा लगेर व्यवस्थापन गर्न साथै तल्लो तहमा भएको दरबन्दीलाई मिलान गरेर उपल्लो तहमा थप गर्न सकिने सुझाव दिएको थियो ।

अहिले ३० हजार ४४८ कार्यकर्ता रहेको बालविकासमा २९ हजार १८५ भए पुग्ने र अत्यन्त न्यून विद्यार्थी भएका विद्यालयलाई समायोजन गर्न प्रस्ताव गरेको थियो । यता केही जिल्लामा शिक्षक दरबन्दीको अनुपातमा विद्यार्थी संख्या न्यून रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको भनाइ छ । ‘केही जिल्लामा शिक्षक दरबन्दी अति न्यून छ,’ उनले भने ।

कर्णालीमा एक शिक्षकले पढाउँछन् ७० जना विद्यार्थी

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक दीपा हमालका अनुसार कर्णालीमा २ हजार ५८५ सामुदायिक विद्यालय छन् । शिक्षक दरबन्दी २५ हजार ७०० बढी छ । शिक्षा नियमावली अनुसार एक जना शिक्षकले ४५ विद्यार्थी पढाउनुपर्ने होे । तर, शिक्षक अभावका कारण आधारतभूत तहमा एक शिक्षकले ७० जनासम्म विद्यार्थी पढाउनुपर्ने बाध्यता छ ।

त्यस्तै, कक्षा ११ र १२ मा पनि एक जना शिक्षक बराबर ७० भन्दा बढी नै विद्यार्थी हुन्छन् । कर्णालीका दस वटै जिल्लाबाट प्रावि तहमा ८०६, विषयगत गरी निम्न माध्यामिक तहमा १५७ र माध्यामिक तहमा एक हजार ६६ गरी दुई हजार २९ दरबन्दीमा शिक्षक भर्ना गर्न आयोगलाई सिफारिस गरिएको थियो ।

१७ हजारभन्दा बढी शिक्षकका लागि दरखास्त आह्वान

केन्द्रले यसअघि शिक्षक सेवा आयोगलाई पठाएको विवरणअनुसार प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहमा गरी १७ हजारभन्दा बढी शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । प्राथमिक तहका लागि १३ हजार ९३, निम्न माध्यामिक तहका लागि २ हजार ५९७ र माध्यामिक तहका लागि १ हजार ५४७ शिक्षकको विज्ञापन आह्वान गरेको हो । तर, आयोगले गरेको विज्ञापन रिक्त दरबन्दीको तुलनामा निकै कम देखिएको हो ।

यसअघि आयोगले २०७५ असारमा खुलातर्फको विज्ञापन गरेपछि विज्ञापन नहुँदा रिक्त पदमा यति ठूलो संख्यामा विज्ञापन भएको देखिए पनि शिक्षकको अभाव पूर्ति गर्न भने ५० हजारभन्दा बढी शिक्षक आवश्यक पर्ने केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले जानकारी दिए । उनले भने, ‘शिक्षकको विज्ञापन खुले पनि स्थानीय तहलाई शिक्षक व्यवस्थापन गर्न अझै सहज हुने अवस्था छैन । थपिनुपर्ने दरबन्दी थप नहुँदा काटिने दरबन्दीको मात्र व्यवस्थापन गर्न असहज भएको स्थानीय तहले गुनासो गरेका छन् ।’

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार ०६:१५