सूचनाको शक्ति - The Power Of Information

        

काँग्रेस बाँकेको अधिवेशन : गौडेल समूहको सदस्य पदका उम्मेदवाहरुको घोषणा

 बाँके । आगामी फागुन १५ गते हुने नेपाली काँग्रेस बाँकेको जिल्ला अधिवेशनका लागि सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सदस्य पदका उम्मेदवारहको पनि घोषणा गरेको छ । पार्टी कार्यालय नेपालगन्जमा आज (सोमबार) आयोजित एक कार्यक्रमकाबीच सदस्यका उम्मेदवारहरुको घोषणा गरिएको हो ।

गौडेल समूहका सचिवालय संयोजक एवम् लुम्बिनी प्रदेश कमिटी सदस्य टेक नारायण भुषालले उम्मेदवारहरुको नाम घोषणा गरेका थिए । पदाधिकारी उम्मेदवारहरुको घोषणा भने यसअघि पुष १९ गते नै गरिएको थियो ।

उपसभापतिमा गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिवमा रेणु सिंह ठाकुर र विश्वराज लम्साल उम्मेदवार छन् ।

नेपालगन्ज उपमहानगरपालिकाबाट खुला सदस्य पदमा यज्ञबहादुर बस्नेत, पदमबहादुर जिसी र जिलेदार भाट उम्मेदवार बन्ने भएका छन् । कोहलपुर नगरपालिकाबाट खुलातर्फ ऋषि सापकोटा, दिवशचन्द्र न्यौपाने र महिलातर्फ गीता प्याकुरेल तथा राप्तीसोनारी गाउँपालिकाबाट खुलातर्फ टिकाराम बस्नेत र महिला कोटामा तिला कार्की उम्मेदवार बन्ने भएका छन् ।

नरैनापुर गाउँपालिकाबाट खुलातर्फ महबुब अलि शेष र महिलातर्फ विमलादेवी तमौली, खजुराबाट खुलातर्फ पारसनाथ योगी, जानकीबाट खुलातर्फ रामचन्द्र गुप्ता र महिलातर्फ सुनिता कुमारी आले तथा बैजनाथबाट खुलातर्फ डिलबहादुर बुढा र महिलातर्फ कोपिला शर्मा उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै आरक्षणतर्फ खस–आर्यबाट मोहन प्रसाद शर्मा (चापागाई) र मोहन शर्मा, आदिवासीतर्फ सुरेश श्रेष्ठ, मधेशीबाट देउकल यादव र लक्ष्मीकुमारी यादव, दलिततर्फ धर्म सुनार, थारुतर्फ रामबहादुर थारु र ललितादेवी थारु तथा मुस्लिमतर्फ सकरुन बेगम र जलिल ढपाली उम्मेदवार हुने भएका छन् । बाँकी केही सदस्य पदका उम्मेदवारहरुको टुंगो एक दुई दिनमै लाग्ने भुसालले बताए ।

पार्टी सभापति किरण कोइरालाको प्रमुख आतिथ्यतामा भएको घोषणा कार्यक्रममा सभापति कोइराला, सचिव तप्त पौडेल, लुम्बिनी प्रदेश कमिटी सदस्य अञ्जना पाण्डे, क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति पोषण केसी, नेता हुर्मत न्यौपाने, महाधिवेशन प्रतिनिधि कृष्ण विक रसाइली, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर, सभापति पदका उम्मेदवार गौडेल र महाधिवेशन प्रतिनिधि एवम् गौडेल समूहका प्रचारप्रसार संयोजक पूर्णप्रसाद आचार्यले बोलेका थिए ।

बक्ताहरुले गौडेल समूह सशक्त र जुझारु भएको भन्दै भारी मतका साथ विजयी बनाउन क्षेत्रीय प्रतिनिधिहरुलाई अपिल गरेका छन् । बाँके काँग्रेसलाई गतिशील र चलायमान बनाउन गौडेल समूहको विकल्प नसोच्न मतदातालाई उनीहरुले आग्रह गरेका छन् । पार्टीको तल्लो तहसम्म यसप्रकारको धारणा रहेकाले गौडेल समूह हाबी रहेको वक्ताहरुको भनाई छ ।

पार्टीमा आशाको नयाँ सञ्चार गर्न गौडेल समूह सक्षम रहेको नेताहरुले बताए । पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको लिगेसीसंग जोडिएको गौडेल समूह बाँकेका आम कांग्रेसजनको भावना प्रतिविम्बित गर्ने सशक्त विचार समूह रहेको उनीहरुको भनाई छ ।

आगामी निर्वाचनहरुमा जिल्लामा काँग्रेसलाई एक नम्बरको पार्टी बनाउन गौडेल समूहलाई जिताउनुपर्नेमा नेताहरुको जोड छ । कार्यक्रमको सञ्चालन बाँके क्षेत्र नम्बर–१ का क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १७:५०